काठमाडौं- उल्लेख्य विदेशी लगानी भित्रिन नसके पनि पछिल्लो समय नेपालमा विदेशी लगानीकर्ताको प्राथमिकतामा परिवर्तन देखिन थालेको छ।
परम्परागत रूपमा उत्पादनमूलक उद्योग, पर्यटनमा केन्द्रित विदेशी लगानी अब सूचना प्रविधि, डिजिटल सेवा, नवीकरणीय ऊर्जा, हरित पूर्वाधार तथा ज्ञानमा आधारित र निर्यातमुखी क्षेत्रमा पनि फैलिन थालेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनले नेपालमा विदेशी लगानीको क्षेत्रगत प्राथमिकता क्रमशः विविध बन्दै गएको देखाएको हो। पछिल्ला वर्षमा सूचना प्रविधि, डिजिटल सेवा, नवीकरणीय ऊर्जा र सीमापार विद्युत् व्यापारमा विदेशी लगानीकर्ताको चासो बढेको प्रतिवेदनले उल्लेख गरेको छ।
यद्यपि लगानीको कुल आकार भने अझै ठूलो भइसकेको छैन तर पछिल्लो समय आएका लगानी तथा स्वीकृत परियोजनाले संकेत देखाएको सर्वेक्षणमा उल्लेख छ। २०८१/८२ मा नेपालमा १२ अर्ब रुपैयाँ सकल प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो। लगानी फिर्ता गएको रकम घटाउँदा खुद वैदेशिक लगानी प्रवाह करिब ७ अर्ब ३० करोड रुपैयाँमा सीमित थियो। तीन दशकको अवधिमा पनि स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक खुद लगानी प्रवाह २९.६ प्रतिशत मात्रै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
लगानीको आकारभन्दा यसको गन्तव्यमा आएको परिवर्तनले नेपालको अर्थतन्त्रका लागि नयाँ सम्भावना देखाउन थालेको छ।
नेपालमा विदेशी लगानीका लागि स्वीकृत परियोजनाको संख्या सबैभन्दा धेरै पर्यटन क्षेत्रमा छ। तर लगानी रकमका हिसाबले उत्पादनमूलक उद्योग सबैभन्दा ठूलो हो। ठूला लगानी प्रतिबद्धतामा भने जलविद्युत् र ऊर्जा क्षेत्रको प्रभुत्व छ।
पर्यटनमा धेरै साना तथा मध्यम परियोजना स्वीकृत भइरहेका छन् भने उत्पादन र ऊर्जामा कम संख्याका तर ठूलो पूँजी आवश्यक पर्ने परियोजना केन्द्रित छन्। नेपालमा स्वीकृत विदेशी लगानी परियोजनामध्ये साना तथा मध्यम उद्योगको संख्या धेरै भए पनि कुल लगानी रकममा ठूला जलविद्युत्, उत्पादन र पूर्वाधार परियोजनाको हिस्सा ठूलो छ।
विदेशी लगानीको पछिल्लो परिवर्तन सूचना प्रविधि र डिजिटल सेवामा देखिन्छ।
नेपालमा सञ्चित कुल विदेशी लगानीमध्ये सूचना तथा सञ्चार क्षेत्रको हिस्सा अहिले ८.२ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रमा विदेशी लगानी ३६.३ प्रतिशतले बढेको थियो भने २०८१/८२ मा पनि ३.७ प्रतिशत वृद्धि भएको थियो।
विदेशी लगानीको प्राथमिकता मात्र होइन, लगानीको वित्तीय संरचनामा पनि परिवर्तन देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालमा रहेको कूल विदेशी लगानी ३ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये चुक्ता पूँजीको हिस्सा ५४.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ५०.७ प्रतिशत थियो। अन्तरकम्पनी ऋणको हिस्सा १२.६ प्रतिशतबाट घटेर ८.९ प्रतिशतमा सीमित भएको छ।
यसले विदेशी लगानी क्रमशः ऋणभन्दा प्रत्यक्ष इक्विटी लगानीतर्फ सर्दै गएको संकेत पनि गर्छ। पुनःलगानी गरिएको आम्दानीको हिस्सा ३६.९ प्रतिशत छ। नेपालमा रहेका विदेशी लगानीकर्ताले कमाएको नाफाको एक हिस्सा फेरि यही व्यवसायमा लगानी गरिरहेका छन्।