काठमाडौं- भोटेकोशीको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटानको काम सुरु गरिएको छ।
बाढीले सडक भासिएपछि अवरुद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्।
नागढुंगा-मुग्लिङ सडक योजना (पश्चिम खण्ड) योजना प्रमुख सजना अधिकारीकाअनुसार हाल २९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटानको काम भइरहेको छ।
सडक मर्मत र पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले उक्त क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र आज बेलुकीसम्म बाटो खुलाउने प्रक्रियासम्बन्धी नक्सांकनसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।
सोसाइटीको प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने र सडक खुलाउने काम औपचारिकरूपमा सुरु गरिने योजना प्रमुख अधिकारीले जानकारी दिइन्। हाल निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक खुलाउनका लागि आवश्यक पूर्वतयारीलाई तीव्रता दिएका छन्।