काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपद व्यवस्थापन र उद्धार कार्यमा सरकार पूर्णरूपमा असफल भएको टिप्पणी गरेका छन्।
संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। सुरुका दिनमा देखिएको तत्परता क्रमशः कमजोर हुँदै गएको उल्लेख गर्दै उनले उद्धारका प्रयासहरूले अपेक्षित नतिजा निकाल्न नसकेको बताए।
‘मैले संसदको रोस्टमबाटै पनि भनिसकेको छु, उद्धार कार्यमा सरकार सफल छैन । शुरुमा केही तत्परता देखिए पनि पछि यो फितलो हुँदै गयो। समग्रमा उद्धार कार्य मूलभूत रूपमा सफल हुन सकेन। प्रधानमन्त्री सबैको साझा अभिभावक हुनुपर्छ र सबै पक्षबीच सहकार्य तथा सहमतिको वातावरण निर्माण गर्ने मुख्य जिम्मेवारी उहाँकै हुन्छ। तर वर्तमान प्रधानमन्त्रीको कार्यशैलीमा त्यस्तो समन्वयकारी भूमिका देखिएन’ उनले भने।
प्रधानमन्त्रीले संसद्मा प्रस्तुत गरेका कतिपय तथ्यहरू भ्रामक रहेकोसमेत प्रचण्डले बताए। उद्धारमा प्रयोग गरिएका उपकरण, प्राविधिक विज्ञता र सुरङभित्रको वस्तुस्थितिका बारेमा प्रधानमन्त्रीले गलत जानकारी दिएको भन्दै सदनमा समेत सो विषयमा बहस भएको उनले उल्लेख गरे।
प्रधानमन्त्रीको नेतृत्वदायी भूमिकामाथि प्रश्न उठाउँदै प्रचण्डले सरकारले जिम्मेवारीपूर्ण ढंगले काम गर्न नसकेका कारण विपद्को समयमा नागरिकले सास्ती खेप्नुपरेको समेत बताए।
संसदमा आफ्नो सम्बोधनका क्रममा समेत प्रचण्डले सरकारी शैलीको आलोचना गरेका थिए।
विपद्को सुरुवाती दिनमा सरकारले देखाएको तत्परता र पछिल्लो चरणको कार्यशैलीमा विरोधाभास देखिएको उनको भनाइ छ।
फिल्डमा रहेका जनप्रतिनिधि र आम नागरिकको गुनासो उद्धृत गर्दै उनले सरकार उद्धार कार्यमा सफल हुन नसकेको दाबी गरे।