काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितहरूलाई बीमा दाबीको भुक्तानी सरल, सहज र द्रुत बनाउन निर्देशन दिएका छन्।
भदौ १० गतेको बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था र भुक्तानी प्रक्रियाबारे बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा सम्पन्न उच्चस्तरीय छलफलका क्रममा उनले बीमा दाबीको भुक्तानीमा अनावश्यक झन्झट नहुने गरी प्रक्रिया अघि बढाउन जोड दिएका हुन्।
बीमा कम्पनीहरूलाई कामका क्रममा कुनै समस्या आएमा वा सरकारले सहजीकरण गर्नुपर्ने अवस्था सिर्जना भएमा सरकार आवश्यक सहयोग गर्न तयार रहेको अर्थमन्त्री वाग्लेले बताएका छन्।
बाढीका कारण जलविद्युत् आयोजना, सार्वजनिक पूर्वाधार र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले बीमा कम्पनीहरूलाई पर्ने समस्या सुल्झाउन र सहजीकरण गर्न सरकार पूर्णरूपमा तयार रहेको स्पष्ट पारेका छन्।
भुक्तानी प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउन बीमा प्राधिकरणले ब्ल्याङ्केट सहमति दिँदै प्रणालीमार्फत स्वचालित रूपमा सर्भेयर खटाउने व्यवस्था मिलाउने भएको छ।
साथै, दाबी भुक्तानीको दैनिक अनुगमन र सहजीकरणका लागि प्राधिकरणमा एक विशेष कार्यदल गठन गर्ने निर्णय भएको छ।
बीमा प्राधिकरणका अध्यक्ष, सञ्चालक, बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू र सर्भेयर संघका पदाधिकारीहरूको उपस्थिति रहेको उक्त बैठकका निर्णयहरूले बाढी प्रभावितहरूलाई तत्काल आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।