बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बुवाले रोपेको हाँगाबाट सुरु भएको यात्रा : स्याउ बगैँचामा भविष्य खोजिरहेका उज्ज्वल

मंगलबार, भदौ १६ २०८३
बुवाले रोपेको हाँगाबाट सुरु भएको यात्रा : स्याउ बगैँचामा भविष्य खोजिरहेका उज्ज्वल

उज्ज्वलको सोच स्पष्ट छ- आफ्नै जमिन, आफ्नै श्रम र आफ्नै उत्पादनबाट राम्रो आम्दानी गर्ने।

बाजुरा- उज्ज्वल रावत स्याउ खेतीलाई जीविकोपार्जनको मुख्य आधार बनाउने बाटोमा तल्लिन छन्। बुढीनन्दा नगरपालिका-९ पाण्डुसैनमा रहेको उनको स्याउ बगैँचा अहिले पहिचानसँग जोडिन थालेको छ। समुद्री सतहबाट करिब २ हजार ४०० मिटरको उचाइमा छ, उनको स्याउ बगैँचा।

कुनै बोटमा राताम्मे स्याउका दाना झुन्डिएका छन्, कुनै बोटका फल पाक्ने पर्खाइमा छन्। यही बगैँचाको बीचमा भेटिन्छन्। बाजुराका स्याउ कृषक उज्ज्वल रावत। एक हातले स्याउको हाँगा समाउँदै र अर्को हातले पाक्दै गरेको फल नियालिरहेका उज्ज्वलका लागि स्याउ केवल फल होइन। वर्षौँको मेहनत, धैर्य र भविष्यसँग जोडिएका सपना हुन्।

बुवाले रोपेको हाँगाबाट सुरु भएको यात्रा

उज्ज्वलको स्याउखेतीको कथा भने आजभन्दा झन्डै चार दशक पुरानो हो। विसं २०४४/४५ सालतिर उनका बुवा लालबहादुर रावतले स्याउका हाँगा रोपेर खेती सुरु गरेका थिए।

त्यतिबेला स्याउखेतीलाई व्यावसायिक बनाउने सोच भए पनि त्यसले ठूलो आकार लिन सकेको थिएन। पछि बुवाले सुरु गरेको खेतीलाई व्यावसायिक बनाउने जिम्मा उज्ज्वलले सम्हालेका हुन्। 

खेती सुरु गर्दा उनको मनमा ठूला सपना थिएन। गाउँमा अधिकांश किसानको मुख्य निर्भरता परम्परागत अन्नबालीमै थियो। जमिनमा मकै, गहुँ, जौलगायतका बाली लगाउने चलन थियो। तर, उनको परिवारले बिस्तारै आफ्नो जमिनको सम्भावना फरक ढंगले हेर्न थाले।

बाजुराको हावापानी स्याउका लागि अनुकूल हुनुका साथै बजारसम्मको पहुँच विस्तार हुँदै गएकाले स्याउखेतीलाई व्यावसायिकरूपमा अघि बढाउन सकिने निष्कर्षमा पुगे उनका परिवार। '२०६० सालतिर एक संस्थाले एक हजार बिरुवा वितरण गरेको थियो। त्यसबाट ४ सय बिरुवा गाउँका सबैलाई बाँडियो। बाँकी ६ सय बिरुवा रोपेर स्याउखेती सुरु गरियो', उज्ज्वललाई विगत सम्झना छ।

जुम्लाका एक कृषकले बिरुवा बिक्री गर्न ल्याएका थिए। बिक्री नभएका १ हजार ८ सय बिरुवा सदरमुकाम मार्तडीमै राखिएका थिए। कृषि ज्ञान केन्द्रले उक्त बिरुवा निःशुल्क उपलब्ध गराएपछि आफूहरूले ढुवानी गरेर पाण्डुसैन पुर्‍याएको उनले बताए। 'त्यसपछि २०६५ बाट स्याउखेतीलाई व्यावसायिकरूपमा विस्तार गरियो', उज्ज्वलले भने। 

विदेश जाने योजना रोकेर गाउँमै सम्भावना देखेका उज्ज्वल

सानै उमेरदेखि स्याउखेतीमा आकर्षित उज्ज्वलले केही वर्षअघि भने गाउँ छाडेर विदेश जाने योजना बनाए। विसं २०७८ मा उनी जापान जाने तयारीमा लागे। गाउँमै बसेर जति काम गरे पनि राम्रो आम्दानी नहुने उनको बुझाइ थियो। त्यसैले वैदेशिक रोजगारीमार्फत आर्थिक अवस्था सुधार्ने सपना देखेका थिए। अकस्मात जापान जाने उनको सोच बदलियो।

'विदेश गए पनि फेरि फर्केर आउने गाउँमै हो। यहाँ आएपछि यही खेती गर्नुपर्छ भने मैले किन विदेश जाने भन्ने लाग्यो', उनी भन्छन्। त्यसपछि विदेश जाने योजना रोकेर गाउँमै सम्भावना देखे स्याउखेतीको। 

'बरु विदेशबाट फर्केर आउँदासम्म यही खेतीलाई व्यावसायिक बनाइसक्छु भन्ने सोच आयो। अहिले सामान्य खर्च जुटे पनि भविष्यमा राम्रै आम्दानी हुन्छ भन्ने दृढ इच्छाशक्तिका साथ लागेँ', उज्ज्वलले भने। अहिले उनको त्यो निर्णयको परिणाम बिस्तारै देखिन थालेको छ।

‘सहारा कृषि फार्म’ दर्ता गरेर स्याउखेती गरिरहेका उज्ज्वल एक्ला छैनन्। उनका दाजु पुरबहादुर रावतसहित परिवारका सदस्यले उनलाई सहयोग गरेका छन्। कृषिमा भविष्य नदेखेर गाउँका धेरै युवा वैदेशिक रोजगारी वा अन्य अवसर खोज्दै बाहिर गएका बेला उज्ज्वल भने आफ्नै गाउँको माटोमा सम्भावना खोजिरहेका छन्।

उनको बगैँचा अहिले निजी फार्म मात्र नभएर गाउँका अन्य किसानका लागि व्यावसायिक कृषिबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्न थालेको छ। 

उज्ज्वलको सोच स्पष्ट छ- आफ्नै जमिन, आफ्नै श्रम र आफ्नै उत्पादनबाट राम्रो आम्दानी गर्ने।

६ सय बोट, वार्षिक ७/८ लाख आम्दानी

सहारा कृषि फार्मका व्यवस्थापक उज्ज्वलको बगैँचामा अहिले करिब ६ सय स्याउका बोट छन्। तीन हेक्टर क्षेत्रफलमा स्थानीय जातसँगै रोयल डेलिसेस, रेड डेलिसेस, गोल्डेन डेलिसेस, गाला, फुजीलगायत जातका स्याउखेती गरिएको छ।

उज्ज्वलले स्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक ८ लाख रूपैयाँसम्म आम्दानी गरेका छन्। गतवर्ष उनले १८० क्वीन्टल स्याउ बिक्री गरेका थिए। यस वर्ष उत्पादन बढेको छ। बजारसम्म सबै उत्पादन पुर्‍याउन सके करिब ३०० क्वीन्टल स्याउ बिक्री हुने उनको अनुमान छ।

'उत्पादन बढ्दै गएको छ। अब राम्रो बजार खोज्ने, गुणस्तरीय उत्पादन गर्ने र आफ्नै ब्रान्ड बनाएर बजारमा लैजाने योजना छ', उनले भने। पर्याप्त लगानी, नियमित मेहनत र बजार व्यवस्थापन गर्न सके गाउँमै बसेर परिवारको सपना पूरा गर्न विदेशका मरभूमि धाउन नपर्ने उदाहरण हुन्, उज्ज्वल।

बगैँचामा फल पाकेका हेर्दा उज्ज्वलको अनुहारमा देखिने खुशीमा वर्षौँको संघर्षको कथा पढ्न सकिन्छ। परम्परागत खेतीबाट हुने आम्दानी सीमित हुने अवस्थामा व्यावसायिक खेतीले परिवारको आयआर्जनमा ठूलो योगदान पुर्‍याउन सक्ने उनको विश्वास छ।

अब उज्ज्वलको सपना बगैँचाभन्दा बाहिर

कुनै समय विदेश जाने तयारीमा रहेका उज्ज्वल अहिले आफ्नै बगैँचामा भविष्य खोजिरहेका छन्। जापान जाने सपना रोकिएपछि उनले बाजुराको माटोमै सम्भावना देखे। त्यही सम्भावनालाई मेहनत, लगानी र धैर्यले विस्तार गर्दै लगे। आज उनका हजारौँ स्याउका बोटमा फल लाग्दा त्यो एउटा किसानको उत्पादन मात्र रहेन। मेहनतले सम्भावनालाई परिणाममा बदल्न सक्छ ! भन्ने उदाहरण पनि बनेको छ।

अको सपना अब आफ्नै बगैँचामा सीमित छैन। उनी चाहन्छन् कि बाजुराको स्याउले देशका ठूला बजारमा पहिचान बनाओस्, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाऊन् र गाउँमै बसेर भविष्य देख्न सकून्। 

उत्पादन बढ्यो, तर बजारसम्म पुर्‍याउने बाटो छैन

उज्ज्वलको बगैँचामा उत्पादन बढ्दै गएको छ। तर उत्पादन बढेसँगै उनको चिन्ता पनि थपिएको छ। कसरी बजारसम्म स्याउ पुर्‍याउने? पाण्डुसैनमा उत्पादित स्याउको मुख्य बजार सदरमुकाम मार्तडीसँगै धनगढी, नेपालगञ्ज, काठमाडौँलगायतका सहर हुन्। तर बजारसम्म स्याउ पुर्‍याउन हरेक वर्ष यातायातको समस्या बाधक बन्छ। 

पाण्डुसैनबाट सदरमुकाम मार्तडी जोड्ने मार्तडी-कोल्टी सडक वर्षायाममा अवरुद्ध हुने गर्छ। दुर्भाग्यवश, यही समय स्याउ पाक्ने मुख्य सिजन पनि हो। सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा गाडीबाट र कतिपय ठाउँमा पिठ्युँमै बोकेर दाना सदरमुकामसम्म पुर्‍याउनुपर्ने बाध्यता छ। 

'स्याउको बजार राम्रै छ। तर अहिले वर्षाका कारण सडक अवरुद्ध छ। सडक खुल्ने भनेको असोज मसान्ततिर मात्रै हो। त्यति बेलासम्म आधाभन्दा बढी दाना झरेर चरा र अरिङ्गालले खाइसकेका हुन्छन्', उज्ज्वल भन्छन्। उनका अनुसार बजारसम्म करिब ४० प्रतिशत मात्रै दाना पुर्‍याउन सकिएको छ। 'करिब ६० प्रतिशत दाना बारीमै खेर जान्छ', उनले भने।

उत्पादन बढ्दै गए पनि भण्डारणको सुविधा नहुँदा किसान थप समस्यामा छन्। सडक बन्द भएका बेला स्याउ सुरक्षित राख्न सके मर्का पर्दैन। 

बाजुरावासीका लागि पाण्डुसैनमा चिस्यानयुक्त भण्डारण अर्थात कोल्ड स्टोरको निर्माण हुन सके वरदान हुने थियो। 

'अहिले बाटो सुचारु नभए पनि एउटा कोल्ड स्टोर भएको भए स्याउ त्यहीँ राख्न सकिन्थ्यो। त्यो पनि छैन। त्यसैले दाना बारीमै झरेर कुहिने अवस्था आउँछ', उज्ज्वलले भने। बाजुरामा स्याउ उत्पादन बढ्दै गएसँगै उचित मूल्य, भण्डारण, प्याकेजिङ र ढुवानीको व्यवस्था किसानका लागि प्रमुख चुनौती बन्दै गएको छ।

‘बाजुराको स्याउले सिङ्गो सुदूरपश्चिम धान्न सक्छ’

बाजुराको स्याउमा रहेको सम्भावनालाई प्रदेशस्तरमै ठूलो सम्भावनाका रूपमा हेरिएको छ। सुदूरपश्चिम प्रदेशसभा सदस्य नरेश शाहीले बाजुराको स्याउले सिङ्गो सुदूरपश्चिमको माग धान्न सक्ने बताएका छन्।

पाण्डुसैनस्थित सहारा स्याउ बगैँचाको अवलोकन गर्दै उनले बाजुराको स्याउलाई व्यवस्थित बजार र प्रवर्द्धन गर्न सके ठूलो आर्थिक सम्भावना रहेको बताए। 'सुदूरपश्चिमका लागि बाजुराको स्याउले धान्ने खालको देखियो। 

प्रदेशको कृषि मन्त्रालयको रिपोर्टले स्वामीकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाको स्याउले सिङ्गो सुदूरपश्चिम धान्न सक्छ भनेको छ। त्यसलाई बजार व्यवस्था र प्रवर्द्धन गर्न सक्नुपर्छ', शाहीले भने। उनका अनुसार स्वामीकार्तिक खापर र बुढीनन्दासँगै जगन्नाथ, हिमालीलगायतका पालिकाका लेकाली क्षेत्रमा पनि स्याउको प्रचुर सम्भावना छ।

'अहिले मुख्य चुनौती यातायातको हो। यसको दीर्घकालीन समाधानका लागि हामी लागिरहेका छौँ', उनले भने।

बाजुरामा स्याउको ‘हब’ बनाउन सकिने सम्भावना रहेको शाहीको भनाइ छ। 'हामीले नयाँ कुनै अनुसन्धान गर्नुपर्ने वा नयाँ सम्भावना खोज्नुपर्ने अवस्था छैन। सम्भावना यहीँ देखिएको छ', उनले भने।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पनि बाजुरामा स्याउखेतीको ठूलो सम्भावना रहेको बताए। उनका अनुसार उत्पादन बढ्दै गए पनि सडक पूर्वाधारको अभावले किसानले समस्या भोगिरहेका छन्। मार्तडी-कोल्टी सडकअन्तर्गत बाउली र रजातोली खोलामा पुल नहुँदा वर्षायाममा सडक अवरुद्ध हुने गरेको उनले बताए।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बुढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न स्थानका करिब ३७५ हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदै आएको छ। 

जिल्लामा गत वर्ष एक हजार २२ मेट्रिकटन स्याउ उत्पादन भएको थियो। यस वर्ष स्याउ ढुवानीका लागि अनुदान कार्यक्रम राखिएको भए पनि स्याउ पाक्दासम्म प्रदेश सरकारको बजेट पारित नहुँदा समस्या भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, भदौ १६ २०८३१८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend