बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

प्रधानमन्त्री उद्धार कोषमा सहयोग गर्दा खाताको विवरण यकिन गर्न राष्ट्र बैंकको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ १५ २०८३
प्रधानमन्त्री उद्धार कोषमा सहयोग गर्दा खाताको विवरण यकिन गर्न राष्ट्र बैंकको आग्रह

पछिल्लो समय विपद्को समयमा सर्वसाधारणबाट संकलन हुने सहयोग रकम लक्षित गरी नक्कली बैंक खाता विवरण तथा अनधिकृत क्यूआर  कोड प्रयोग गरेर रकम ठगी गरिएका घटनाहरू सार्वजनिक भएपछि राष्ट्र बैंकले यो कदम चालेको हो।

काठमाडौं- राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा भइरहेको वित्तीय ठगीधन्दाप्रति सर्वसाधारणलाई सचेत गराएको छ।

पछिल्लो समय विपद्को समयमा सर्वसाधारणबाट संकलन हुने सहयोग रकम लक्षित गरी नक्कली बैंक खाता विवरण तथा अनधिकृत क्यूआर  कोड प्रयोग गरेर रकम ठगी गरिएका घटनाहरू सार्वजनिक भएपछि राष्ट्र बैंकले यो कदम चालेको हो।  

विपद्को यस संवेदनशील घडीमा कोषमा आर्थिक योगदान गर्न चाहने व्यक्तिहरूले रकम हस्तान्तरण गर्नुअघि  मोबाइल बैंकिङ, डिजिटल वालेट, कनेक्ट आईपीएस वा अन्य जुनसुकै माध्यमबाट रकम पठाउँदा प्राप्तकर्ताको खाताको नाम अनिवार्य रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष नै रहेको यकिन गर्नुपर्छ। 

यसका साथै, आफूले पठाउन चाहेको रकम सही छ वा छैन भन्ने कुरा पुनः जाँच गर्नुपर्छ र खाता विवरणका लागि नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिएका सूचनाहरूलाई मात्र आधार मान्नुपर्छ। 

सामाजिक सञ्जाल, इमेल वा विभिन्न म्यासेजिङ एपहरूमा आउने अनधिकृत क्यूआर कोडहरू स्क्यान नगर्न र सधैं आधिकारिक एप्लिकेसनको मात्र प्रयोग गर्न आग्रह गरिएको छ।

सहयोग रकम पठाउन सहयोग गर्ने बहानामा कसैले मागे पनि आफ्नो ओटीपी, पिन वा पासवर्ड जस्ता संवेदनशील व्यक्तिगत विवरणहरू कसैलाई पनि सेयर गर्नु हुँदैन। 

यदि कोही व्यक्ति नक्कली विवरणको जालमा परी ठगीमा परेको महसुस भएमा वा त्यस्तो शंका लागेमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक संस्था, नेपाल प्रहरीको साइबर ब्युरो वा नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईमा सम्पर्क गरी जानकारी गराउनुपर्छ।  


प्रकाशित : सोमबार, भदौ १५ २०८३१६:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend