काठमाडौं- १८औँ संस्करणको नाडा अटो शो २०२६ सकिएको छ। गएको मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अटो शो आइतबार साँझ सकिएको हो।
रसुवा बाढीबीच यो वर्षको नाडा शोमा अवलोकनकर्ताको राम्रै सहभागिता रह्यो। शो सुरु भएको भोलिपल्टै नेपाल चीन सीमामा रहेको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नाडा अटो शोलाई प्रत्यक्ष प्रभाव पर्यो। तर नाडाले विषम परिस्थितिबीच पनि आर्थिक गतिविधिलाई चलायमान बनाइराख्नुपर्ने मान्यता अनुरुप नाडा अटो शोलाई जारी राखेको थियो।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजनामा भएको नाडा अटो शोमा २ सय १५ भन्दा बढी स्टल राखिएका थिए। ५३ भन्दा बढी सवारी ब्रान्डसहित नेपालमै बनेको विद्युतीय स्कुटर यात्री पी टू प्रदर्शनीमा राखिएका थिए। त्यस्तै अटो शोमा बैंक तथा वित्तीय र कम्पोनेन्टहरुको स्टल रहेका थिए।
प्रदर्शनीस्थललाई चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल-मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको थिए। अवलोकनकर्ताले सवारीसाधनसँगै वित्त, बीमा, सर्भिस तथा पार्ट्ससम्बन्धी जानकारी एउटै प्रदर्शनीबाट लिन सक्ने गरी क्षेत्र व्यवस्थापन गरिएको थियो।
नाडा अटो शोले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई मूल्य, वित्तीय सुविधा, बीमा, सर्भिस तथा पार्ट्ससम्बन्धी जानकारीसहित छनोटको पर्याप्त अवसर आम उपभोक्तालाई प्रदान गर्दै आएको छ।
यस वर्षको अटो शोमा ५३ वटा सवारी ब्रान्ड, ७० वटा पार्ट्स तथा सेवा कम्पनी र ११ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको थियो।
गएको मंगलबार बिहान साढे १० बजेदेखि सुरु हुने प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका थिए। अवलोकनकर्ताका सवारीसाधनका लागि नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा पार्किङको व्यवस्था नाडाले गरेको थियो।
रसुवा बाढीकाबीच नाडा अटो शो सन्तोषजनक रहेको प्रदर्शनीमा सहभागी अटोमोबाइल व्यवसायी तथा आयोजक नाडा अटोमोबाइल्स एसोशिएसन आफ नेपालले जनाएको छ।
नाडा अटो शो समापनका क्रममा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विज्ञप्ति जारी गर्दै भनेका छन् -
आज हामी एउटा महत्वपूर्ण यात्राको समापनको क्षणमा उभिएका छौँ। तर यो केवल एउटा प्रदर्शनीको समापन होइन। यो हाम्रो एकता, सहकार्य, विश्वास र कठिन परिस्थितिमा पनि अघि बढ्ने सामूहिक साहसको परिणाम हो। नाडा अटो शो आयोजना भइरहँदा हाम्रो देशले एउटा अत्यन्तै पीडादायी प्राकृतिक विपत्तिको सामना गर्नुप-यो। बुधबारदेखि भोटेकोसीमा आष्ठको विनाशकारी बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिले हामी सबैको मन दुखेको छ। धेरै परिवारले आफ्ना प्रियजन गुमाएका छन् धेरैले आफ्नो घर, व्यवसाय र सम्पत्ति गुमाए।
यस्तो दुःखद् र विषम परिस्थितिमा मनमा उत्साहभन्दा पनि पौडाको अनुभूति बढी छ। तर, जीवन सधैं एकै ठाउँमा रोकिन सक्दैन। विपत्तिले हामीलाई कमजोर बनाउन सक्छ। तर, हाम्रो संकल्पलाई कमजोर बनाउन सक्दैन। यही विश्वासका साथ हामीले अटो शोलाई निरन्तरता दियौं। कठिन परिस्थितिका बाबजुद सबै पक्षले अटो शोप्रति देखाउनुभएको सहयोग, सद्भाव र विश्वासले हामीलाई मजबुद बनाएको छ। सम्पूर्ण प्रदर्शनीकर्ता, अबलोकनकर्ता, मिडिया, प्रायोजक तथा स्पोन्सर, सुरक्षा निकाय, भृकुटीमण्डप प्रदर्शनी केन्द्र लगायतका सबै प्रत्यक्ष वा परोक्षय सहयोग गर्नु हुने सबैमा धन्यवाद दिन चाहन्छु।
म आज एउटा कुरा विशेष रूपमा भन्न चाहन्छु। नाडा अटो शोको सफलता केवल नाडाको सफलता होइन। यो सम्पूर्ण अटोमोबाइल क्षेत्रको सफलता हो। यो व्यवसायी, प्रायोजक, प्रदर्शक, सञ्चारकर्मी, अवलोकनकर्ता र यस क्षेत्रसँग जोडिएका लाखौं नेपालीहरुको साझा सफलता हो। र, आजको यो सफलता विपत्तिको पीडाबीच पनि प्राप्त भएको हो। त्यसैले यस वर्षको नाडा अटो शोले हामीलाई एउटा ठूलो सन्देश दिष्टएको छ। विपत्तिका बीचपनि ब्यबसायीक निरन्तरता दिन सक्नु बलियो अठोठ रहेछ।
यी हुन् उत्कृष्ट स्टल
दुई पाङ्ग्रे सवारीसाधनतर्फ एमएडब्लू राइड्स प्रालिको यामाहा, कमर्सियल चार पाङ्ग्रेतर्फ एनईभी नेपाल प्रालिले बिक्री गर्दै आएको दिगोले उत्कृष्ट स्टल घोषित भए।
त्यसैगरी अटो कम्पोनेन्टतर्फ सिप्रदी अटोपार्टस् प्रालिले राखेको मिलिलेन टायर र बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंकको स्टल उत्कृष्ट घोषित भएको हो। उत्कृष्ट स्टल छनोटका लागि नाडाले सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो।