बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बाढी प्रभावित क्षेत्रमा सेवा सञ्चालनमा नेपाल टेलिकमको तीव्रता, हेलिकप्टरबाट कर्मचारी खटाएर मर्मतसम्भारको काम

प्रभावित १२० मध्ये ८० स्थानमा सेवा सुचारु

शुक्रबार, भदौ १२ २०८३
बाढी प्रभावित क्षेत्रमा सेवा सञ्चालनमा नेपाल टेलिकमको तीव्रता, हेलिकप्टरबाट कर्मचारी खटाएर मर्मतसम्भारको काम

हालसम्म रसुवा, नुवाकोट, धादिङका बाढी प्रभावित १२० साइटमध्ये ८० साइटमा सेवा सुचारू भइसकेको टेलिकमले जनाएको छ।

काठमाडौं- नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरूको सेवा पुनः सञ्चालनमा तीव्रता दिएको छ।

बिहीबार हेलिकप्टरबाट कर्मचारीहरु परिचालन गरी गोसाइँकुण्ड गाउँपालिका-६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।

शुक्रबार पनि बिहानैदेखि नेपाल टलिकमका प्राविधिकहरु रसुवा, नुवाकोट, धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन हुन बाँकी रहेका स्थानहरुमा सेवा सञ्चालन गर्न तथा सञ्चालनमा आइसकेका टावरहरुलाई थप भरपर्दो बनाउन निरन्तर कार्यक्षेत्रमा खटिइरहेका छन्।

रसुवा जिल्लामा बाढीका कारण बन्द भएको गोसाइँकुण्ड गाउँपालिका-५ मा अवस्थित गोलजुङ टावर (बाहुनडाँडा) सञ्चालनमा ल्याइ स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका-४,५ तथा गोसाइँकुण्ड गाउँपालिका-३, ५ तथा स्याफ्रुबेँसी-टिम्मुरे राजमार्गका केही भागमा सेवा सुचारु भएको टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए।

उनका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका-३ मा रहेको गेर्खु मोबाइल टावर सञ्चालनमा आइ विदुर नगरपालिकाको वडा नं १०, ११ तथा सूर्यगढी गाउँपालिका वडा नं ४ का केही भागमा दूरसञ्चार सेवा सुचारू भएको छ।

साथै, शुक्रबार नै विदुर नगरपालिका-८ मा अवस्थित तुप्चे टावर तथा गोसाइँकुण्ड गाउँपालिका वडा नं २, टिम्मुरे माथिको डाँडामा अवस्थित टेलिकम टावरमा हेलिकप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिकहरु खटाइ सेवा सुचारु गर्ने क्रममा रहेको छ।

बुधबारदेखि नै टेलिकमका प्राविधिक कर्मचारीहरु रसुवा जिल्लाको न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेसनमा अनवरत खटिँदै बाढी प्रभावित स्थानहरुमा अनवरत सेवा सञ्चालन गराइराखेको प्रवक्ता लामिछानेले बताए। हालसम्म रसुवा, नुवाकोट, धादिङका बाढी प्रभावित १२० साइटमध्ये ८० साइटमा सेवा सुचारू भइसकेको जानकारी दिए।


प्रकाशित : शुक्रबार, भदौ १२ २०८३१६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend