काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। योसँगै एभरेष्ट बैंक चालु आर्थिक वर्षको लाभांश घोषणा गर्ने २० वाणिज्य बैंकमध्ये पहिलो बैंक बनेको छ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको ४०२औँ बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित नगद लाभांशमा बोनस सेयरमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँ रहेको छ। यही चुक्ता पुँजीका आधारमा ५ प्रतिशत बोनस सेयर वितरण गर्दा ६८ करोड ६० लाख ६८ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ। त्यस्तै, १० प्रतिशत नगद लाभांशका लागि १ अर्ब ३७ करोड २१ लाख ३७ हजार ५९२ रुपैयाँ बराबरको रकम वितरण हुनेछ।
यसअनुसार एभरेष्ट बैंकले प्रस्ताव गरेको कुल लाभांश १५ प्रतिशत हुनेछ। बोनस सेयर र नगद लाभांश गरी कुल २ अर्ब ५ करोड ८२ लाख ५ हजार ९८६ रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ।
बैंकले प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग गर्ने जनाएको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेश गरी पारित भएपछि मात्र लाभांश वितरण हुनेछ।