बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

भोटेकोशी बाढी : नेपाल र चीनबीच मौसमी विवरण आदानप्रदानमा सहकार्य गर्ने सहमति

बुधबार, भदौ १० २०८३
भोटेकोशी बाढी : नेपाल र चीनबीच मौसमी विवरण आदानप्रदानमा सहकार्य गर्ने सहमति

विभागका अनुसार छलफलका क्रममा चिनियाँ पक्षबाट तिब्बततर्फको भू-भागमा ठूलो वर्षा नभएको र वर्षाका कारण बाढी आएको भन्ने पर्याप्त आधार नभएको प्रारम्भिक धारणा आएको छ।

काठमाडौं- नेपाल र चीनबीच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढी र प्रभावित क्षेत्रको मौसमी अवस्थाका बारेमा चिनियाँ पक्षसँग भएको छलफलका क्रममा मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ।

नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसमेतको उपस्थितिमा जल तथा मौसम विज्ञान विभाग र चिनियाँ मौसम विज्ञान निकाय (सीएमए) का अधिकारीबीच आज यहाँ भएको भर्चुअल बैठकमा मौसम गतिविधि र पूर्वानुमानका विषयमा सहकार्य गर्ने सहमति भएको विभागले जनाएको छ।

विभागकी महानिर्देशक डा अर्चना श्रेष्ठले भोटेकोशी नदीमा एक्कासि आएको बाढी तथा मौसमी अवस्था र पूर्वानुमानसहित क्षतिका बारेमा छलफल भएको बताउँदै चिनियाँ पक्षले प्रभावित क्षेत्रको मौसमी विवरणका सम्बन्धमा सहकार्य गर्ने सहमति जनाएको स्पष्ट गरिन्।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले नेपाल र चीन दुवैतर्फको प्रभावित क्षेत्रमा भारी वर्षा नभएको जानकारी दिँदै भनिन्, 'हिमताल विस्फोट, पहिरो वा अन्य कुनै कारणले नदी थुनिएर बाढी आएको हुनसक्ने सम्भावना रहे पनि त्यसको आधिकारिक पुष्ट्याइँ नभइसकेकाले दुवैतर्फको संलग्नतामा यस विषयमा थप अध्ययन हुन आवश्यक छ।'

विभागका अनुसार छलफलका क्रममा चिनियाँ पक्षबाट तिब्बततर्फको भू-भागमा ठूलो वर्षा नभएको र वर्षाका कारण बाढी आएको भन्ने पर्याप्त आधार नभएको प्रारम्भिक धारणा आएको छ। चीनतर्फको भू-भागमा मौसमजन्य कुनै जोखिम वा प्रभाव देखिएमा चिनियाँपक्षले नेपाललाई तत्काल जानकारी गराउने सहमति भएको प्रवक्ता पोखरेलले जानकारी दिइन्। रासस


प्रकाशित : बुधबार, भदौ १० २०८३१८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend