बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पहिरोले रातापानीका सात घर उच्च जोखिममा, खेतीयोग्य जमिनमा क्षति

शनिबार, भदौ ६ २०८३
पहिरोले रातापानीका सात घर उच्च जोखिममा, खेतीयोग्य जमिनमा क्षति

स्थानीयले पहिरो जोखिम कायमै रहेकाले बस्ती नै सार्नुपर्ने माग गरेका छन्।

बैतडी- बैतडीको सुर्नया गाउँपालिका-८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन्।

'गत साउन २६ गते गएको पहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्‍यायो नै। पहिरो लगातार गइरहेकाले घर पनि जोखिममा परेको छ। पानी पर्न सुरु हुनेबित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ। निरन्तरको पहिरोले त्रसित बनाएको छ,' मीनाले भनिन्।

मीनाको जस्तै पिरले सताउने गरेको रातापानीकै भुवनलाई पनि। 'शौचालय र भान्सा घरमा क्षतिमा पुर्‍याएको छ। पहिरो घरमा कतिखेर पस्ने थाहा छैन,' भुवनले भने, 'डराइ-डराइ बस्नुपरेको छ। पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ।'

गत साउन २६ गते गएको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखिममा परेका छन्। स्थानीय रामसिंह बोहरा, धनुवा बोहरा, मिना बोहरा, गम्भिरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराको परिवार उच्च जोखिममा रहेको छ।

लगातारको पहिरोका कारण गाउँ नै त्रासमा रहेको स्थानीय लालबहादुर बोहराले बताए। पानी परेको समयमा घर छोडेर छिमेकीको घरमा जाने गरेको उनले जानकारी दिए। 

विसं '२०७८ देखि पहिरो जान थालेको हो। त्यसपछि लगातार पहिरो खसिरहेको छ,' उनले भने, 'पटकपटक पहिरोको दीर्घकालीन रोकथामका लागि सम्बन्धित निकायसँगै माग गर्दै आएको भएपनि कुनै सुनुवाइ भएन। अहिले पहिरोको जोखिम बढ्दै गएको छ।'

स्थानीयले पहिरो जोखिम कायमै रहेकाले बस्ती नै सार्नुपर्ने माग गरेका छन्। 'घरमाथिको सबै जमिन चर्किएको छ। खानेपानीको पनि समस्या छ। बालबालिकालाई विद्यालय जान बाटो छैन,' पहिरोको जोखिममा रहेका कृष्ण बोहराले भने, 'दीर्घकालीन समस्याको समाधानका लागि बस्ती नै सार्न सके राम्रो हुन्थ्यो।'

४० रोपनी बढी खेतीयोग्य जमिनमा क्षति

स्थानीय गम्भीर बोहराले लगातारको पहिरोका कारण आफ्नोमात्रै करिब १५ रोपनी बढी खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको बताए। 'पहिरोले मकैबाली लगाएको सबै खेतीयोग्य जमिन बगायो। घर पनि जोखिममा छ। अब जाने कहाँ?', बोहराले आँखाबाट आशु झार्दै भने।

बाँकी जमिन पनि चर्किएकाले थप क्षति हुनसक्ने स्थानीयले बताएका छन्। सुर्नया गाउँपालिका-८ वडाध्यक्ष भानबहादुर बोहराले ४० रोपनीभन्दा बढी मकैबाली लगाएको खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको बताए। सो क्षेत्रमा मात्रै ४० रोपनी बढी खेतीयोग्य जमिनमा पहिरोले क्षति पुर्‍याएको उनले जानकारी दिए।

प्रजिअसहितको टोलिद्वारा स्थलगत निरीक्षण

शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ। सो क्षेत्रको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले प्रभावित परिवारलाई अर्काे स्थानमा स्थानान्तरणको आवश्यकता रहेको बताइन्। बस्ती स्थानान्तरणका लागि टेन्ट तथा त्रिपाललगायतका सामग्री जोहो गर्नुपर्ने भएकाले यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताइन्। 

'पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सुचारु भइसकेकाले खानेपानीको समस्या समाधानका लागि निर्देशन दिसकेका छौँ,' प्रजिअ अर्यालले भनिन्।

पहिरोले बाटोसमेत बगाएकाले विद्यार्थीलाई आधा घण्टाको दुरीमा रहेको विद्यालय पुग्न डेढ घण्टा लाग्ने छ। रासस


प्रकाशित : शनिबार, भदौ ६ २०८३१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend