काठमाडौं- १८औँ संस्करणको 'नाडा अटो शो २०२६' यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। भृकुटीमण्डपको प्रदर्शनीस्थलमा ६ दिनसम्म चल्ने प्रदर्शनीमा साना ठूला गरी दुईसय भन्दा बढी स्टलहरू रहनेछन्।
जसमा २३ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, १३ वटा ब्राण्डका दुईपांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण र अटोमोबाइलसम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन्। यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारीसाधन, ल्युब, ब्याट्री, हेल्मेट एवं अन्य सामाग्रीसमेत रहेका छन्।
दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुको छुट्टाछुट्टै प्रदर्शनी रहने छ। टिकटको अग्रिम बुकिङ खल्ती एपमार्फत गर्न सकिने छ। निश्चित अवधिका लागि ५० प्रतिशत क्यासब्याकको व्यवस्था रहेको छ।
महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा ट्राफिक सूचना डेस्क रहने छ। नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अन्डर ग्राउण्ड पार्किङ तथा सिंहदरबारस्थित नेशनल ट्रेडिङ परिसरमा समेत पार्किङको व्यवस्था रहेको छ। प्रदर्शनीस्थल ह्वीलचेयरमैत्री रहेको छ भने आपतकालीन स्वास्थ्य टोलीको समेत व्यवस्था रहेको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजना हुन लागेको नाडा अटो शोमा लगभग दुई लाख आगन्तुकहरुले अवलोकन गर्ने विश्वास लिइएको छ। यसको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स् रहेको छ।
नाडाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शोको १८औँ संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने बताइएको छ। यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ।