बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

मरुवा रोगका कारण गोरखामा ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन

सोमबार, भदौ १ २०८३
मरुवा रोगका कारण गोरखामा ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन

कृषि प्रसार अधिकृत विवेक पौडेलका अनुसार गतवर्ष बाली भित्र्याउने बेला पानी परेको र किसानले यसवर्ष सोही धान बीउका रूपमा प्रयोग गरेकाले धानमा मरुवा रोगको संक्रमण बढेको हो।

गोरखा- जिल्लाको प्रमुख खाद्यबाली चैते धानको उत्पादन यसवर्ष ३५ प्रतिशतले घटेको छ। मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले बताए।

गतवर्ष बाली भित्र्याउने बेला पानी परेको उल्लेख गर्दै उनले किसानले यसवर्ष सोही धान बीउका रूपमा प्रयोग गरेकाले धानमा मरुवा रोगको संक्रमण बढेको जानकारी दिए। गुणस्तरीय धानको बीउ प्रयोग गर्दा मरुवा रोगको संक्रमण कम हुने भन्दै उहाँले पानीमा भिजेको बीउ प्रयोग गरिएकाले समस्या देखिएको बताए।

कृषि प्रसार अधिकृत पौडेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर तीन हजार मेट्रिकटन चैते धान उत्पादन भएको थियो। यो वर्ष भने करिब एक हजार ५ सय मेट्रिकटन उत्पादन भएको छ।

'जिल्लाभर ७२५ हेक्टरमा चैते धानखेती भएकामा पाँच हजार रोपनीमा मरुवा रोग लागेर पूर्णरूपमा क्षति भयो, त्यसैले यो वर्ष उत्पादन घटेको हो', उनले भने। मरुवा रोगले चैते धान उत्पादन भएको क्षेत्रमा समेत १५ प्रतिशत क्षति गरेको कृषि प्रसार अधिकृत पौडेलको भनाइ छ। 

चैते धानमा मरुवा रोगको संक्रमण देखिएपछि जिल्लाभर ९८ लाख रूपैयाँबराबरको क्षति भएको जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। कार्यालयले गत आव २०८२/८३ मा ६७ लाख रूपैयाँ खर्च गरी चैते धान प्रवर्द्धन कार्यक्रमसमेत सञ्चालन गरेको उनले जानकारी दिए।

'जिल्लाभर ६७ हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन भएको थियो', प्रमुख तिवारीले भने, 'कार्यक्रम सञ्चालन गरेको क्षेत्रफलमध्ये ३० हेक्टरको धानमा मरुवा रोगले ५० प्रतिशतभन्दा बढी क्षति गरेको छ। बाँकीको २७ हेक्टरबाट ९४ मेट्रिकटन उत्पादन भएको छ।'

उनका अनुसार मरुवा रोगका कारण चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत करिब १६० मेट्रिकटन धान उत्पादन भएको छ। यसका लागि कार्यालयले ८३० मिटर पक्की कुलो निर्माण गरेर सिँचाइ उपलब्ध गराएको थियो।

साथै, किसानहरूलाई उन्नत बीउ, हाते ट्याक्टर, ‘स्प्रेटंकी’, सिँचाइ मोटर, बोरा, त्रिपाल, कुटानीपिसानी उपकरणलगायत सामग्री उपलब्ध गराइएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ। जिल्लाका गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सहिदलखन गाउँपालिका र सिरानचोक गाउँपालिका आसपासका क्षेत्रमा चैते धानखेती हुने गरेको छ। रासस


प्रकाशित : सोमबार, भदौ १ २०८३१७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend