बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

दुई लाख लगानीको किवीबाट वार्षिक तीन लाख आम्दानी, वडाध्यक्ष राईको फस्टाउँदो खेती

सोमबार, भदौ १ २०८३
दुई लाख लगानीको किवीबाट वार्षिक तीन लाख आम्दानी, वडाध्यक्ष राईको फस्टाउँदो खेती

किवीको मुख्य सिजन असोजदेखि मङ्सिरसम्म हो। सिजनमा स्थानीय व्यापारीमार्फत प्रतिकेजी १०० देखि १२० रूपैयाँसम्म बगानबाटै फल बिक्री हुने गरेको छ।

इलाम- वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन्। उनी सन्दकपुर गाउँपालिका-२ का वडा अध्यक्ष हुन्। वडा कार्यालयबाट दिने सेवाको समय (१०/५) सकिएपछि उनी किवी (फलफूल) खेतीमा रमाउन थालेसँगै गाँउमा उदाहरणीय कृषक बनेका हुन्। 

१५ रोपनी क्षेत्रफलमा व्यावसायिक किवीखेती गर्दै आएका अध्यक्ष राईले २०७७ सालमा ‘पौरखी कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी व्यावसायिक किवीखेती गरेका हुन्।

उनको किवी बगानमा ‘ग्रीन’ र ‘गोल्डेन’ गरी  दुई प्रजातिका १५५ वटा बोट छन्। किवीको लहरा चढाउन ३१० वटा पक्की पिल्लर र फलामको तार प्रयोग गरी मचान बनाएका छन्।

अध्यक्ष राईले दुई लाख रूपैयाँको लगानीमा किवीखेती सुरु गरेका हुन्। नेताले काम गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी हाल वार्षिक तीन लाख रूपैयाँ आम्दानी गर्छन्। 'जनताको काम गरेर बचेको समय किवीखेतीमा बिताउँदै आएको छु, मेहनतअनुसार आम्दानीसमेत राम्रै हुँदोरहेछ', वडाध्यक्ष राईले भने, 'वार्षिकरुपमा तीन लाख रूपैयाँ आम्दानी गरिरहेको छु। यसले मलाई घरव्यवहार चलाउन सहजरुपमा पुगिरहेको छ।'

किवीको मुख्य सिजन असोजदेखि मङ्सिरसम्म हो। सिजनमा स्थानीय व्यापारीमार्फत प्रतिकेजी १०० देखि १२० रूपैयाँसम्म बगानबाटै फल बिक्री हुने गरेको छ।

राईले आलु र मकै खेतीको सट्टामा किवी खेती सुरु गरेका हुन्। 'यहाँ पहिलेदेखि आलु र मकैखेती गरिन्थ्यो, त्यसैले वर्षदिन खान पुग्दैनथ्यो', विगत सम्झँदै उनले भने, 'किवीबाट राम्रो आम्दानी हुन्छ भन्ने सुनेपछि यो खेती सुरु गरको हुँ।' पुस्तौँदेखि मकै र आलुको खेती गर्दै आएका किसानले अहिले किवीबाट राम्रो फाइदा लिएको उनी बताउँछन्।

राम्रो आन्दानी हुने भएकाले युवाहरुलाई विदेश जानभन्दा गाउँघरमै किवीखेतीमा लाग्न उनको सुझाव छ। 'युवाहरु दिनदिनै विदेशिने क्रम बढेकाले गाउँघरका जग्गाजमिनहरु बाझिन थालेका छन्', उनले भने, 'बाँझो जग्गाजमिनको सदुपयोग गरी कृषि व्यवसायमा सञ्चालन गरी गाउँमै स्वरोजगार बन्न सकिन्छ।'

राईले यो वर्षदेखि अलैँची खेतीसमेत सुरु गरेका छन्। उनले यसवर्ष सात हजार अलैँचीको बिरुवा रोपेका छन्। राई २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

राई निर्वाचिन नहुँदै उनको फार्मलाई इलाममा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०७८/०७९ मा एक लाख ५० हजार रूपैयाँ अनुदान दिएको थियो।

परियोजनाको एक लाख ५० हजार रूपैयाँ र फार्मको एक लाख ५० हजार रूपैयाँ गरी तीन लाख रूपैयाँको कार्यक्रमबाट किवीखेतीका लागि राहत मिलेको राईले बताए।

किवी एक लहरा प्रजातिको बहुवर्षे बाली हो। किवी १२०० देखि २४०० मिटरको उचाइसम्म लगाउन सकिन्छ। गर्मीको समयमा ३५ डिग्री सेल्सियसभन्दा तापक्रम बढी नभएको शरद (असोज, कात्तिक) र वसन्त (चैत, बैशाख) मा बाक्लो तुसारो नपर्ने वातावारणमा किवी फस्टाउँछ। 

यो फल पोसिलो र औषधिय गुण भएकाले यसलाई ‘फलहरुको राजा’ भनिन्छ। किवी नियमित खानाले पाचन प्रणाली र मधुमेह नियन्त्रण हुने विश्वास छ। किवीबाट जुस, जाम, वाइन, जेल्ली, आइसक्रिम र अन्य परिकार बनाउन सकिन्छ।

इलामको सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका, माङसेबुङ गाउँपालिका, देउमाई नगरपालिकाका माथिल्लो क्षेत्रका किसानले परम्परागत खेती छाडेर व्यावसायिक किवी खेती गर्दै आएका छन्। एकपटक लगाएपछि पुनः पटकपटक दुःख गर्नु नपर्ने, बजारको खासै समस्या नहुने, अन्य खेतीभन्दा राम्रो फाइदा लिन सकिने भएकाले किवी खेतीतर्फ किसानको आकर्षण बढेको हो। रासस


प्रकाशित : सोमबार, भदौ १ २०८३१३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend