काठमाडौं- सूचीकृत वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८२/०८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। विवरणअनुसार लाभांश क्षमता भएका बैंकमध्ये सबैभन्दा अगाडि एभरेस्ट बैंक देखिएको छ।
एभरेस्ट बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाका आधारमा ३८.३२ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता बनाएको छ।
त्यसपछि सिद्धार्थ बैंकको २६.१५ प्रतिशत र सानिमा बैंकको २०.६५ प्रतिशत लाभांश क्षमता रहेको छ। त्यस्तै नबिल बैंकको १९.१० प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९.०८ प्रतिशत लाभांश क्षमता रहेको छ।
त्यसैगरी नेपाल बैंकको १४.८६ प्रतिशत, ग्लोबल आइएमई बैंकको १२.०२ प्रतिशत, नेपाल एसबीआई बैंकको ११.०५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ११.१९ प्रतिशत, एनएमबी बैंकको ८.०२ प्रतिशत, प्राइम कमर्सियल बैंकको ८.९३ प्रतिशत र माछापुच्छ्रे बैंकको ७.९१ प्रतिशत लाभांश क्षमता रहेको तथ्यांकमा देखिन्छ।
राष्ट्रिय वाणिज्य बैंकको ६.५९ प्रतिशत, कृषि विकास बैंकको ६.४२ प्रतिशत र सिटिजन्स बैंकको ३.३९ प्रतिशत लाभांश क्षमता रहेको छ।त्यस्तै कुमारी बैंक, प्रभु बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको लाभांश क्षमता शून्य रहेको छ।
यसअनुसार उपलब्ध तथ्यांकमा सबैभन्दा बढी लाभांश क्षमता एभरेस्ट बैंकको देखिएको छ भने पाँच बैंकको लाभांश क्षमता शून्य रहेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा केही बैंकको वितरणयोग्य नाफामा सुधार देखिएको छ। विशेषगरी सिद्धार्थ र सानिमा बैंकको वित्तीय अवस्थामा सुधार आउँदा उनीहरूको लाभांश क्षमता पनि तुलनात्मक रूपमा बलियो बनेको छ। तर केही बैंकमा भने वितरणयोग्य नाफामाथिको दबाब अझै कायम रहेको छ।
बैंकको खुद नाफा र वितरणयोग्य नाफा एउटै विषय भने होइन। बैंकको नाफामा प्राप्त भइनसकेको आम्दानीलगायतका रकम समावेश हुन सक्ने भए पनि ती सबै रकम तत्काल सेयरधनीलाई वितरण गर्न मिल्ने हुँदैनन्। त्यसैले लगानीकर्ताका लागि बैंकले कमाएको खुद नाफाभन्दा वितरणयोग्य नाफा र त्यसबाट बन्ने लाभांश क्षमता बढी महत्वपूर्ण हुन्छ।
अहिले सार्वजनिक भएको लाभांश क्षमता अन्तिम भने होइन। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अपरिस्कृत भएकाले बाह्य लेखापरीक्षणपछि वितरणयोग्य नाफामा परिवर्तन आउन सक्छ।
कर्जा नोक्सानी व्यवस्थापन (प्रोभिजन), कर तथा अन्य समायोजनका कारण बैंकको वास्तविक वितरणयोग्य नाफा तथा लाभांश क्षमता घट्न वा बढ्न सक्छ।
त्यसैगरी, बैंकसँग लाभांश वितरण गर्ने पर्याप्त क्षमता भए पनि सम्पूर्ण रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने बाध्यता हुँदैन।
बैंकको सञ्चालक समितिले पुँजीको आवश्यकता, नियामकीय व्यवस्था र संस्थाको वित्तीय अवस्थालाई हेरेर उपलब्ध क्षमताभन्दा कम लाभांश प्रस्ताव गर्न सक्नेछन्।
बाह्य लेखापरीक्षण सम्पन्न भएपछि बैंकका सञ्चालक समितिले वास्तविक वित्तीय विवरणका आधारमा लाभांश प्रस्ताव गर्नेछन्। सञ्चालक समितिबाट प्रस्तावित लाभांश सम्बन्धित साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले बोनस सेयर वा नगद लाभांश प्राप्त गर्नेछन् ।
यसरी हेर्दा, चालु लाभांश सिजनमा वाणिज्य बैंकहरूबीच लाभांश वितरण क्षमतामा अन्तर देखिएको छ। एभरेस्ट बैंक सबैभन्दा बलियो अवस्थामा देखिँदा पाँच बैंकको लाभांश क्षमता शून्य रहेकाले ती बैंकका लगानीकर्ताले यसपटक लाभांशको अपेक्षा गर्न कठिन देखिन्छ।