बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण

बिहीबार , साउन २८ २०८३
कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण

जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुम्वासी पाँच र अव्यवस्थित बसोबासी सातजना रहेका छन्।

झापा- कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।

जिल्ला भूमि समस्या समाधान समितिले उनलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुम्वासी पाँच र अव्यवस्थित बसोबासी सातजना रहेका छन्।

यसअघि यही साउन ८ गते समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो। नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गतवर्ष असारमा १५७ जनालाई धनीपुर्जा वितरण गरिएको थियो।

तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९/८० देखि लगत संकलनको काम सुरु गरेकोमा यस नगरपालिकामा हालसम्म २५८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिसकिएको भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालले जानकारी दिए।

उनका अनुसार लगत संकलनका क्रममा नगरपालिकामा भूमिहीन दलित ३७५, भूमिहीन सुकुम्वासी दुई हजार २४४ र अव्यवस्थित बसोबासी चार हजार ५८८ जनाको विवरण संकलन गरिएको छ।

नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बाँकी रहेका लाभग्राहीलाई पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गर्दै जाने बताए।

जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लाभरि जग्गाधनी पुर्जा वितरणका लागि लगत संकलन तथा वितरण प्रक्रियालाई तीव्रता दिइएको बताए।

समितिका सदस्य सचिव तथा जिल्ला नापी कार्यालय, भद्रपुरका प्रमुख शिवप्रसाद लम्सालका अनुसार यसै महिना जिल्लाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि पुर्जा वितरण सुरु भएको छ। 

बुद्धशान्तिमा आगामी हप्ता थप जग्गाधनी पुर्जा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , साउन २८ २०८३१२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend