बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

बिहीबार , साउन २८ २०८३
खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन- भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट एक करोड ५५ लाख तीन हजार ६८५ रूपैयाँ बक्यौता रकम असुली गरेको छ।पाँच हजार रूपैयाँभन्दा माथि बक्यौता भएका र ६ महिनाभन्दा माथिको पानीको महसुल नबुझाएका ती ग्राहकबाट सो रकम बक्यौता असुली गरिएको हो।

कार्यालयका प्रमुख सञ्जय बरालका अनुसार गत फागुनदेखि बक्यौता असुलीको काम सुरु गरिएको हो। फागुनदेखि असार मसान्तसम्ममा सो बक्यौता असुली भएको उनले जानकारी दिए। कार्यालयले अझै ५०० ग्राहकबाट २० लाख रूपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ। ती लामो समयदेखि महसुल नबुझाएका ग्राहकहरु हुन्।

बक्यौता नबुझाउने ग्राहकलाई पत्राचार गर्ने, घरदैलो गर्ने, पानीको लाइन काट्ने, एसएमएस गर्ने, ताकेता लगाउनेजस्ता काम भइरहेको उनले बताए। कार्यालयले बक्यौता असुलीका लागि टोलीनै गठन गरेर काम गरीरहेको छ।

गतवर्ष १६ करोड ५९ लाख ४२ हजार १०० रूपैयाँ महसुल बिलिङ गरेकोमा १६ करोड ९९ लाख ७२ हजार ४४० रूपैयाँ संकलन भएको थियो। यो लक्ष्यको दुई दशमलव ५७ प्रतिशतले बढी हो।

यस्तै भरतपुर महानगरपालिकाले दिँदै आएको सात युनिट पानीमा अनुदानसमेत भुक्तानी गरेको छैन। मङ्सिर महिनादेखिको भुक्तानी नपाएको कार्यालयले जनाएको छ। आठ महिनाको बक्यौता एक करोड रूपैयाँभन्दा बढी रहेको उनले जानकारी दिए।

महानगरवासीलाई बोर्ड र विभिन्न उपभोक्ता समितिबाट सञ्चालित खानेपानी आयोजनाको रकमसमेत भुक्तानी हुन नसक्दा ती आयोजनामा समस्या भएको छ। रासस


प्रकाशित : बिहीबार , साउन २८ २०८३११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend