काठमाडौं- दाबी भुक्तानी र खर्च बढ्दा नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा १५ प्रतिशतको गिरावट आएको छ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको असार मसान्तसम्ममा इन्स्योरेन्सले ४६ करोड ५४ लाख रूपैयाँ खुद नाफा कमाएको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको ५४ करोड ७६ लाख रूपैयाँको तुलनामा १५.०२ प्रतिशतले कम हो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १२.१४ प्रतिशतले बढेर व्यापार विस्तारमा टेवा पुगेको छ भने कुल आम्दानी पनि ८.८२ प्रतिशतले बढेको छ। खुद दाबी भुक्तानी ९.५२ प्रतिशत र कुल खर्च १०.१२ प्रतिशतले वृद्धि हुँदा खुद नाफामा दबाब परेको हो।
नाफामा आएको गिरावटसँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि १ रूपैयाँ १६ पैसाले घटेर ४ रूपैयाँ ९१ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १५२.७० गुणा र प्रतिसेयर नेटवर्थ १२६ रूपैयाँ ७ पैसा कायम भएको छ।
हाल ९ अर्ब ४८ करोड रूपैयाँ चुक्ता पुँजी रहेको नेपाल लाइफको महाविपत्ती कोषमा १ अर्ब ५४ करोड रूपैयाँ, रिटेन्ड अर्निङमा ७९ करोड ९० लाख रूपैयाँ र अन्य इक्विटीमा १२ करोड ९० लाख रूपैयाँ सञ्चित छ।