तनहुँ- कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि गर्न कृषकलाई आवश्यक सामग्रीमा अनुदान उपलब्ध गराएको छ। आर्थिक वर्ष २०८२/८३ मा सुन्तला बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत पाँच हेक्टर क्षेत्रफलका लागि ५ लाख ६९ हजार रूपैयाँ अनुदान उपलब्ध गराएको हो।
कार्यालय प्रमुख परशुराम अधिकारीले उक्त वर्षमा अनुदानका लागि ७ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन भएको थियो।
अनुदान कार्यक्रममार्फत ६३९ रोपनी क्षेत्रफलमा नयाँ सुन्तलाको बगैँचा विस्तार हुने भएको छ। उक्त कार्यक्रमबाट सातवटा सहकारी तथा समूहमा आबद्ध १२९ जना कृषक लाभान्वित भएको अधिकारीले जानकारी दिए।
नयाँ बगैँचामा लगाइएका सुन्तलाका बिरुवाले उत्पादन दिन थालेपछि आगामी चार वर्षपछिबाट वार्षिक करिब दुईसय मेट्रिकटन फलफूल उत्पादन हुने अनुमान गरिएको छ। नयाँ बगैँचा विस्तारसँगै जिल्लामा सुन्तलाको उत्पादन क्षेत्र बढ्ने र कृषकको आयआर्जनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
यस्तै कार्यालयले सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रमका लागि ५० हेक्टर क्षेत्रफलमा ३० लाख रूपैयाँ बजेट विनियोजन गरिएकामा २८ लाख ९९ हजार रूपैयाँ खर्च भएको छ।
बगैँचा सुदृढीकरण कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा यसअघि नै स्थापना गरिएका एक हजार ७७७ रोपनी क्षेत्रफलका सुन्तला बगैँचालाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन आवश्यक सामग्रीमा अनुदान प्रदान गरिएको अधिकारीले बताए। रासस