बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

तिम्बुङ पोखरी यात्रा : प्राकृतिक सौन्दर्य, साहसिक पदयात्रा र सौहार्दपूर्ण सत्कार

पर्यटनको सम्भावना उच्च भएपनि पूर्वाधार विकासमा भने अझै पछाडि

मंगलबार, साउन २६ २०८३
तिम्बुङ पोखरी यात्रा : प्राकृतिक सौन्दर्य, साहसिक पदयात्रा र सौहार्दपूर्ण सत्कार

आन्तरिक पर्यटकको आगमन बढेसँगै तिम्बुङ पोखरी जाने पदमार्गमा रहेका परम्परागत गोठहरू अहिले गोठस्टेमा रूपान्तरण हुन थालेका छन्।

ताप्लेजुङ- हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टानबीच छङ्छङ् गर्दै बग्ने खोल्सा र हिमालको अनुपम दृश्यले सजिएको तिम्बुङ पोखरी पछिल्लो समय पूर्वी नेपालको आकर्षक साहसिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।

यस पोखरीको प्रचारप्रसार बढ्दै जाँदा यहाँ आन्तरिक पर्यटकको चहलपहल पनि उल्लेखनीय रूपमा बढेको छ। हाल दैनिक सरदर दुई दर्जन बढी आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन्। यहाँको प्रचारप्रसारसँगै पर्यटकको आगमन बढ्न थालेको स्थानीय पर्यटन व्यवसायी अमिर राई बताउँछन्। उनले तिम्बुङ पोखरीमा आउने पर्यटकको सुविधाका लागि पहिलोपटक सबैभन्दा माथि अर्थात् पोखरीनजिकै होमस्टे(घरबास पर्यटन) खोलेका छन्।

समुद्री सतहदेखि करिब चार हजार ३५० मिटरको उचाइमा अवस्थित तिम्बुङ पोखरी पुग्नु आफैमा एउटा अविस्मरणीय यात्रा हो। सदरमुकाम फुङलिङबाट करिब पाँचदेखि ६ घण्टाको सवारी यात्रा र त्यसपछि एक दिनको पैदल यात्रा तय गरेपछि पुगिने यो पोखरीले यात्रुलाई केवल गन्तव्यको आनन्द मात्र होइन, यात्राका क्रममा नै प्रकृतिसँगको गहिरो साक्षात्कार पनि गराउँछ। तिम्बुङ पोखरी पुग्ने अधिकांश मानिसले स्वर्गकै अनुभूति हुने गरेको बताउँछन्।

एक वर्ष पहिले तिम्बुङ पोखरी पुगेकी पवित्रा लिम्बूलाई पुनः एकपटक तिम्बुङ पोखरी पुग्ने रहर छ। 'पहिले तिम्बुङ पोखरी पुग्दा मैले जे अनुभव गरेँ, त्यो शब्दमा व्यक्त गर्न सक्दिन, त्यो यात्राले मेरो जीवनमा अविस्मरणीय सम्झना थपेको छ, यहाँको प्राकृतिक सौन्दर्य साँच्चै स्वर्गजस्तै लाग्यो', लिम्बूले भनिन्।

यता पटक-पटक पुगे पनि फोटोपत्रकार डेभिट ओझाको रहर मेटिएको छैन। ओझा भन्छन्, 'हरेक पटक पुग्दाको मौसम, त्यहाँको प्राकृतिक वातावरणले गहिरो छाप छोड्ने गर्छ, शान्त वातावरण, हिमालको सौन्दर्य, साहसिक पदयात्रा र त्यस क्षेत्रमा हुने स्वागत सत्कार लोभलाग्दो छ।'

कतिपय परम्परागत गोठहरू गोठस्टे (पर्यटकलाई राख्न सकिने गोठ) मा परिणत हुँदा र नयाँनयाँ होमस्टे थपिँदा आफ्नोमा आकर्षण गर्न गोठस्टे, होमस्टेले स्वागत सत्कारका नयाँनयाँ तरिका अपनाउने गरेको उनले बताए। कतै छुर्पी खुवाएर, कतै तातोपानी, चिया खुवाएर आफ्नो परिवेशका कुरा सुनाएर यहाँका व्यवसायीले मक्ख बनाउने गरेको उनको अनुभव छ।

पदमार्गमा गोठस्टेको आकर्षण

आन्तरिक पर्यटकको आगमन बढेसँगै तिम्बुङ पोखरी जाने पदमार्गमा रहेका परम्परागत गोठहरू अहिले गोठस्टेमा रूपान्तरण हुन थालेका छन्। विभिन्न खर्कमा रहेका परम्परागत गोठका संरचनामा थप सुधार गरेर पर्यटकलाई खान बस्नको सुविधासम्पन्न बनाइएका छन्।

पहिले तिनै गोठमा असहजरुपमा बस्नुपर्थ्यो। तिम्बुङ क्षेत्रमा पर्यटकको चहलपहल बढेपछि गोठस्टेमा परिणत गर्नुपरेको एक पशुपालक व्यवसायीले बताए। स्थानीय गाउँहरूमा होमस्टे र साना गेष्टहाउस पनि सञ्चालनमा आएका छन्। यसले तीन वर्षअघिको तुलनामा पर्यटकलाई सहज हुन थालेको छ। तिम्बुङ पोखरीमा तीन वर्षयता उल्लेख्यरूपमा पर्यटकहरूको आगमन बढ्न थालेको हो।

यहाँका गोठस्टेमा बस्नु बिलकुल फरक र रोचक अनुभव प्राप्त गर्नु हो। सहर तथा भीडभाडबाट केही दिन टाढिँदै गर्दा लेकका फाट्टफुट्ट गोठमा बस्दा जो कसैलाई फरक र रोचक अनुभव हुने गर्छ। याक र चौँरी पाल्ने गोठालासँग आगो ताप्दै जीवनका भोगाइ सुन्ने, अगेनामा उम्लिरहेको ताजा दूधको सुवास महसुस गर्ने, लहरै झुन्ड्याइएका छुर्पी हेर्ने र त्यही दूधजन्य उत्पादनको स्वाद लिन पाउनु यात्राको विशेष आकर्षण बन्ने गर्छ।

यस क्षेत्रमा खोलिएका होमस्टेहरूले पनि स्थानीय संस्कृति, हिमाली जीवनशैली र आत्मीय आतिथ्यको अनुभव गराउँदै आएका छन्। यात्राका क्रममा समय र आवश्यकताअनुसार गोठस्टे, होमस्टे वा गेष्टहाउस रोज्न सकिन्छ।

प्राकृतिक वातावरणसँग साक्षात्कार

तिम्बुङ पोखरी आसपासमा विशेषगरी केन्जो पाइन्छ। पदमचाललाई केन्जो भन्ने गरिएको छ। पोखरीमै पुगेपछि केन्जोले सबैको मनलाई आकर्षित गर्ने गर्छ तर तिम्बुङ पोखरीको यात्रामा पोखरी पुग्नुअघि बाटोभरि विभिन्न हिमाली प्रजातिका फूलहरूले डाँडाकाँडालाई रंगीन बनाएका हुन्छन्।

जहाँ बगैँचामा कोही मालीले रोपेको, हुर्काएको जस्तैगरी ढकमक्क फुलेका विभिन्न फूलले उतै घर सारौँ भन्ने धेरैलाई लाग्दो हो। चट्टानबीच छङ्छङ् गर्दै बग्ने ससाना खोल्साको मधुर आवाज, हरियाली वन, खुला चरन क्षेत्र र टाढासम्म देखिने हिमशृङ्खलाले सबैलाई स्वर्गकै आभास गराउँछ।

तिम्बुङ पोखरी क्षेत्र प्राकृतिक सौन्दर्यले मात्र होइन, जैविक विविधताका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ। यहाँ विश्व संरक्षण सूचीमा रहेको रेड पाण्डासहित बहुमूल्य जडीबुटी-केन्जो (पदमचाल), पाँचऔँलेलगायतका जडीबुटी पाइन्छन्, जसले तिम्बुङ पोखरीलाई अध्ययन अनुसन्धानको गन्तव्य पनि बनाएको छ। 

तिम्बुङ पोखरी धार्मिकरुपमा पनि महत्वपूर्ण

तिम्बुङ पोखरी प्राकृतिकरुपमा मात्रै नभइ धार्मिक आस्थाको केन्द्र पनि हो। धार्मिक हिसाबले यसलाई महत्वपूर्ण मान्ने गरिएको छ। स्थानीय समुदायले यस पोखरीलाई आस्थाको केन्द्रका रूपमा लिँदै आएका छन्।

यही धार्मिक महत्व र प्राकृतिक रूपमा सुन्दर भएकाले नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यमा तिम्बुङ पोखरीलाई पनि समावेश गरेको छ। यहाँ पूजा आराधना गरे मनोकामना पूरा हुने, अनिष्ट नहुने जनविश्वास रहिआएको छ। त्यसैले मानिसहरू धार्मिक हिसाबले समेत यहाँ पुग्ने गर्छन्।

अझै चुनौती

पर्यटनको सम्भावना उच्च भए पनि तिम्बुङ पोखरी क्षेत्र पूर्वाधार विकासका हिसाबले भने अझै पछि परेको स्थानीयको भनाइ छ।

समाजसेवी कैलाश राईले पोखरी जाने पदमार्ग, विश्रामस्थान, अन्य आवश्यक संरचना निर्माणका लागि तीनै तहका सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए। स्थानीय तहले केही लगानी गरे पनि त्यो पर्याप्त हुन नसकेको उनको भनाइ छ। यातायातका लागि सडकको स्तरोन्नति, पदयात्राका लागि पदमार्गको दिगो र भरपर्दो व्यवस्थापन हुन सके पर्यटकीय गतिविधि थप बढेर जाने उनको विश्वास छ।

तिम्बुङ पोखरीको प्रचारप्रसारका लागि स्थानीय सरकारको सहयोगमा विभिन्न खेलकुदसहितका गतिविधि हुने गरेका छन्। केही वर्ष पहिले यहाँ तिम्बुङ पोखरी ट्रेल रन आयोजना गरिएको थियो। त्यसै क्रममा प्रचारप्रसारका अन्य गतिविधि समेत भएका थिए। त्यसपछि यहाँ क्रमश: पर्यटकहरुको आगमन बढ्दै गएको पर्यटन व्यवसायी अमिर राईले बताए। 

भारतको सिक्किमसँग सिमाना जोडिएको तिम्बुङ पोखरी आसपास हाँडी पोखरी, लक्ष्मी पोखरी, लाम पोखरीलगायत थुप्रै पोखरी रहेका छन्। पर्यटन व्यवसायीका अनुसार आवश्यक पूर्वाधार निर्माण, पदमार्ग व्यवस्थापन र प्रभावकारी प्रचारप्रसार गर्नसके तिम्बुङ पोखरीलाई आधार बनाएर सिक्किम हुँदै भारतबाट आउने पर्यटकलाई पूर्वी नेपालको अन्य पर्यटकीय गन्तव्यसम्म आकर्षित गर्न सकिन्छ। यसरी पर्यटकीय परिपथ नै बनाएर अघि बढ्नसके जिल्लाको समग्र पर्यटन क्षेत्रले थप गति लिने र यसले सबैलाई फाइदा पुग्ने व्यवसायीको विश्वास छ। 

प्राकृतिक सौन्दर्य, जैविक विविधता, धार्मिक आस्था, स्थानीय संस्कृति र साहसिक पदयात्राको अनुपम संगम बनेको तिम्बुङ पोखरी पूर्वी नेपालको उदाउँदो पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको र अझ व्यवस्थित पूर्वाधार, दिगो पर्यटन योजनासहित प्रवर्द्धन गर्न सकिए तिम्बुङ पोखरीले जिल्लालाई मात्रै नभई मुलुकलाई नै फाइदा पुग्ने पर्यटन व्यवसायीहरू बताउँछन्।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाअन्तर्गत पाँचथर ताप्लेजुङको सीमावर्ती क्षेत्रमा पर्ने यस पोखरीमा पाँचथर, ताप्लेजुङ दुवै जिल्लाबाट पुग्न सकिने बाटोहरू छन्। रासस


प्रकाशित : मंगलबार, साउन २६ २०८३१२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend