काठमाडौं- नेपाल आउने भारतीय तथा चिनियाँ पर्यटकका लागि नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सहज हुँदै गएको छ।
विदेशी पर्यटकले आफ्नो देशमा प्रयोग गर्दै आएको भुक्तानी प्रणालीबाटै नेपालका होटल, रेस्टुरेन्ट, पसल तथा अन्य व्यवसायमा भुक्तानी गर्न सक्ने भएपछि नेपालमा नगद बोकेर हिँड्नुपर्ने बाध्यता घट्दै गएको हो।
नेपाल राष्ट्र बैंकको ‘भुक्तानी प्रणाली निरीक्षण प्रतिवेदन २०२४/२५’ अनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालमा अन्तरदेशीय क्यूआरमार्फत ९ लाख ९३ हजार ५ सय ८२ वटा कारोबार भएका छन्। यी कारोबारबाट नेपालमा २ अर्ब ८६ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको भुक्तानी भएको छ।
अन्तरदेशीय क्यूआर कारोबारमा भारतीय भुक्तानी प्रणाली यूपीआई सबैभन्दा अगाडि देखिएको छ। एक वर्षमा यूपीआईमार्फत मात्रै ९ लाख ८१ हजार ६५४ वटा कारोबार भएका छन्। यसको कारोबार रकम २ अर्ब ६९ करोड ३३ लाख ८० हजार रुपैयाँ पुगेको छ।
नेपालमा विदेशी क्यूआरमार्फत भएको कुल कारोबारको झण्डै ९९ प्रतिशत कारोबार संख्या र करिब ९४ प्रतिशत कारोबार रकम भारतीय यूपीआईमार्फत भएको देखिन्छ।
भारतीय पर्यटक तथा आगन्तुकले नेपालमा क्यूआरबाट भुक्तानी गर्न पाउने सुविधा मार्च २०२४ देखि विस्तार भएको हो। राष्ट्र बैंकका अनुसार एउटा भुक्तानी सेवा सञ्चालकमार्फत भारतीय पर्यटक तथा आगन्तुकले नेपालका करिब १७ लाख व्यापारीको क्यूआर स्क्यान गरेर सहज रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।
चिनियाँ पर्यटकका लागि अलिपे र वीच्याट
भारतीय पर्यटकको तुलनामा चिनियाँ पर्यटकबाट हुने क्यूआर कारोबारको आकार सानो भए पनि नेपालमा चिनियाँ भुक्तानी प्रणालीको पहुँच विस्तार भइरहेको छ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०२४/२५ मा अलिपे तथा अलिपे प्लसमार्फत नेपालमा ६ हजार १०२ वटा कारोबार भएका छन्। ती कारोबारको कुल रकम ८ करोड ९८ लाख ८० हजार रुपैयाँ रहेको छ।
त्यस्तै, वीच्याटमार्फत ५ हजार ७०१ वटा कारोबार भएका छन्। यसको कारोबार रकम ८ करोड ४५ लाख ३० हजार रुपैयाँ रहेको छ। यसैगरी, युनियन पेमेन्टमार्फत १२५ वटा कारोबार हुँदा त्यसबाट १० लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यसरी अलिपे, वीच्याट र युनियन पेमेन्ट जोड्दा चिनियाँ भुक्तानी प्रणालीसँग सम्बन्धित क्यूआर कारोबार ११ हजार ९२८ वटा पुगेको छ। कारोबार रकम भने १७ करोड ५४ लाख २० हजार रुपैयाँ पुगेको छ।
भारतीयको कारोबार संख्या धेरै
राष्ट्र बैंकको तथ्यांकले एउटा रोचक अवस्था देखाएको छ। कारोबार संख्यामा भारतीय प्रणाली निकै अगाडि रहे पनि चिनियाँ प्रणालीमार्फत हुने औसत कारोबार रकम तुलनात्मक रूपमा ठूलो देखिन्छ।
यूपीआईमार्फत भएको ९ लाख ८१ हजार ६५४ कारोबारमा २ अर्ब ६९ करोड ३३ लाख ८० हजार रुपैयाँ खर्च भएको छ। यस आधारमा एउटा यूपीआई कारोबारको औसत रकम करिब २ हजार ७४४ रुपैयाँ हुन्छ।
अलिपे तथा अलिपे प्लस र वीच्याटको संयुक्त कारोबार हेर्दा ११ हजार ८०३ कारोबारबाट १७ करोड ४४ लाख १० हजार रुपैयाँ खर्च भएको छ। यस आधारमा औसत कारोबार करिब १४ हजार ७७७ रुपैयाँ हुन्छ।
विदेशी पर्यटकका लागि मात्र होइन, नेपालभित्रै क्यूआर भुक्तानीको प्रयोग पनि तीव्र गतिमा बढिरहेको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालमा क्यूआरमार्फत हुने कारोबारको संख्या अघिल्लो वर्षको तुलनामा ९२ दशमलव ५ प्रतिशतले र कारोबार रकम ९१ दशमलव ८ प्रतिशतले बढेको छ।
नेपालमा क्यूआर स्वीकार गर्ने व्यापारीको संख्या पनि करिब २९ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ। मोबाइल बैंकिङ वा अन्य डिजिटल भुक्तानी माध्यमबाट व्यापारीले राखेको क्यूआर स्क्यान गरेर तत्काल भुक्तानी गर्न सकिने भएकाले क्यूआरलाई सस्तो, छिटो र सहज माध्यमका रूपमा प्रयोग बढिरहेको छ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०२४/२५ मा क्यूआरलाई नेपालमा सबैभन्दा बढी प्रयोग हुने खुद्रा भुक्तानी माध्यमका रूपमा समेत उल्लेख गरेको छ। घरेलु प्रयोगसँगै अन्तरदेशीय क्यूआर, भर्चुअल कार्ड र इन्टरनेटबिनासमेत प्रयोग गर्न सकिने क्यूआरजस्ता नयाँ व्यवस्थाले यसको पहुँच थप बढाएको राष्ट्र बैंकको निष्कर्ष छ।
भारतीय पर्यटकले भारतमै चलिरहेको यूपीआई प्रणालीबाट नेपालका व्यापारीको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएपछि भारतीय पर्यटकलाई मुद्रा साट्ने वा ठूलो रकम नगद बोक्ने आवश्यकता कम भएको छ।
चिनियाँ पर्यटकका लागि पनि अलिपे, अलिपे प्लस, वीच्याट र युनियन पेमेन्टजस्ता प्रणाली नेपाली व्यापारीको क्यूआरसँग जोडिन थालेका छन्। राष्ट्र बैंकले केही वाणिज्य बैंकका व्यापारीकहाँ वीच्याट प्रयोगकर्ताले समेत क्यूआरबाट भुक्तानी गर्न सक्ने व्यवस्था रहेको जनाएको छ।
यसले पर्यटकले नेपालमा गर्ने साना तथा दैनिक खर्चलाई समेत डिजिटल प्रणालीमा ल्याउने आधार तयार गरेको छ। होटल, रेस्टुरेन्ट, खुद्रा पसलदेखि पर्यटकीय सेवासम्ममा विदेशी ग्राहकले आफ्नो मोबाइलबाटै भुक्तानी गर्न सक्ने अवस्था विस्तार हुँदै गएको छ।