काठमाडौं- लीपमोटर 'बी ०३ एक्स' नेपाली बजारमा सार्वजनिक भएको छ। शुक्रबार लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले 'बी ०३ एक्स' सार्वजनिक गरेको हो।
सांग्रिला मोटर्सले लिपमोटर 'बी ०३ एक्स'को सुरुवाती मूल्य ४४ लाख ९९ हजार रूपैयाँ तोकेको छ। कम्पनीले बी ०३ एक्सको आधिकारिक मूल्य ४६ लाख ९९ हजार रूपैयाँ तोकेको छ। तर पहिलो १ सय ग्राहकलाई भने ४४ लाख ९९ हजार रूपैयाँमै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
लिपमोटरले 'बी ०३ एक्स'लाई दैनिक उपयोगिता र आधुनिक इलेक्ट्रिक कार्यक्षमताको उत्कृष्ट संयोजन गर्ने गरी डिजाइन गरिएको जनाएको छ। यसमा १ सय ४५ किलोवाटको शक्तिशाली विद्युतीय मोटर र ५३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यसमा रहेको ब्याट्रीले एकपटकको फुलचार्जमा ५ सय ५ किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिने दाबी कम्पनीको छ।
'बी ०३ एक्स'मा भएको ब्याट्रीलाई डीसी फास्ट चार्जरले ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न १६ मिनेट लाग्ने दाबी कम्पनीले गरेको छ। 'बी ०३ एक्स'को प्रति १०० किलोमिटर ब्याट्री खपत १०.७ किलोवाट आवर रहेको छ।
यसमा ५ सय १० लिटरको ठूलो बुटस्पेस, प्रिमियम बनावट र आरामदायी क्याबिन रहेको छ। 'बी ०३ एक्स'को लम्बाइ ४२ सय ७० एमएम, चौडाइ १८ सय १० एमएम, उचाइ १६ सय ३५ एमएम रहेको छ।
यो एसयूभीको ह्वीलबेस २६ सय ५ एमएम रहेको छ। यसमा १८ इन्चको एलोय ह्वील दिइएको छ भने अगाडि म्याकफर्सन स्ट्रट र पछाडि टोर्सन बीम सस्पेन्सन उपलब्ध रहेको छ।
लिपमोटर 'बी ०३ एक्स'को इन्टेरियरमा १४.६ इन्चको ठूलो सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिन र डिजिटल ड्राइभर डिस्प्ले रहेको छ। मिनिमलिस्ट डिजाइनमा तयार गरिएको क्याबिनले आधुनिक र प्रविधिमैत्री अनुभव 'बी ०३ एक्स' विद्युतीय एसयूभी चलाउने उपभोक्ताले गर्ने छन्।
सुरक्षाका दृष्टिले यसमा एडीएएस लेभल २ प्रविधि जडान गरिएको छ, जसले सुरक्षित र इन्टेलिजेन्ट ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा कम्पनीले गरेको छ।
बाहिरी डिजाइनको कुरा गर्दा कम्प्याक्ट आकार, गोलाकार तथा मैत्रीपूर्ण डिजाइन र सेमी-हिडन डोर ह्याण्डल यसको प्रमुख आकर्षण हुन्। लिपमोटरले यसअघि सी १० र बी १० जस्ता प्रिमियम एसयूभी र सिटी कारका रुपमा टी०३ नेपाली बजारमा उपलब्ध गराइसकेको छ।
विश्वव्यापी रूपमा मासेराती, जिप र प्युजोलगायत १४ अग्रणी अटोमोबाइल ब्रान्डहरूको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले नेपाली ग्राहकहरूमाझ अन्तर्राष्ट्रिय विश्वसनीयता ल्याएको छ। चीनको नम्बर १ स्टार्ट-अप न्यु इनर्जी भेहिकल ब्राण्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ।