काठमाडौं- आईसीएफसी फाइनान्स लिमिटेडको खुद नाफामा गिरावट आएको छ। संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफामा अघिल्लो वर्षको तुलनामा केही गिरावट देखिएको हो।
समीक्षा अवधिमा फाइनान्सले २६ करोड ४२ लाख २४ हजार ९४० रूपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ३३ करोड ३० लाख ७९ हजार ९८० रूपैयाँ रहेको थियो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २०.६७ प्रतिशतले कम हो।
नाफा घट्दा फाइनान्सको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि संकुचन आएको छ। अघिल्लो वर्ष २८.१४ रूपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर २२.३३ रूपैयाँमा सीमित भएको छ। संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २६.३८ गुणा, प्रतिसेयर नेटवर्थ १८९.३२ रूपैयाँ र तरलता अनुपात २५.५७ प्रतिशत रहेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ६४ करोड ५४ लाख २१ हजार रूपैयाँ रहेको छ। अघिल्लो वर्षको ७१ करोड ६५ लाख ३ हजार रूपैयाँको तुलनामा घटेको हो। बैंकको व्यवसायमा आएको सुस्तता, प्रतिफल घटेको र निष्क्रिय कर्जा बढेका कारण ब्याज आम्दानीमा असर परेको संस्थाले जनाएको छ।
हाल फाइनान्सको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रूपैयाँ रहेको छ भने जगेडा कोषमा ९१ लख ५३ लाख ७५ हजार रूपैयाँ सञ्चित छ। संस्थाले २२ अर्ब २३ करोड २७ लाख रूपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ६९ करोड ५६ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ।
फाइनान्सको खराब कर्जा (एनपीएल) अघिल्लो वर्षको १.८४ प्रतिशतबाट बढेर ४.५९ प्रतिशत पुगेको छ। त्यस्तै संस्थाको आधार दर (बेस रेट) ९.८६ प्रतिशत, फण्डको लागत (कस्ट अफ फण्ड्स) ४.२२ प्रतिशत र पुँजी कोष अनुपात (क्यापिटल फण्ड टू आरडब्लुए) १४.३८ प्रतिशत रहेको छ।