बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बिदाको दिन पनि राहदानी बनाउनेको भिड, अत्यावश्यक भएकाले मात्रै आवेदन दिन विभागको आग्रह

आइतबार, साउन १७ २०८३
बिदाको दिन पनि राहदानी बनाउनेको भिड, अत्यावश्यक भएकाले मात्रै आवेदन दिन विभागको आग्रह

विभागका निर्देशक दीपक बञ्जाडेका अनुसार पासपोर्ट अभाव नभएपनि प्रणालीमा प्राविधिक त्रुटी देखिँदा केही सेवाग्राहीले समयमै राहदानी पाउन सकेका छैनन्।

काठमाडौं- सार्वजानिक बिदाको दिनमा समेत राहदानी विभागमा राहदानी बनाउनेको भिड लागेको छ। दक्षिण कोरियामा रोजगारी अनुमति पत्रको आवेदनको लागि ई-पासपोर्ट बनाउने सेवाग्राहीको भिड विभागले जनाएको छ। 

विभागले सेवाग्राहीको चापलाई मध्यनजर गरेर सार्वजनिक बिदाको दिनमा समेत पासपोर्ट वितरण गर्ने व्यवस्था मिलाएको हो। विभागले शनिबार र आइतबार सार्वजानिक बिदाको दिनमा समेत बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा दिने व्यवस्था गरेको जनाएको छ।

आइतबार बिहानैदेखि राहदानी लिने सेवाग्राहीहरुको भिड लागेको छ। विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरुले समयमा नै राहदानी पाउन नसकेको गुनासो गरेका छन्।

विभागले राहदानी सेवाप्रवाहलाई सहज बनाएको दाबी गरेपनि सेवाग्राही तिलकबहादुर घर्ती मगरले भने फास्ट ट्रयाक सेवा पनि प्रभावकारी नभएको गुनासो गरे।

ईपीएस परीक्षाका लागि राहदानी बनाउन रोल्पादेखि काठमाडौं आएको एक साताभन्दा बढी भइसक्दा पनि राहदानी नपाएको उनको गुनासो छ। उनले सुरुमा आवेदन दिन नै वेबसाइट नखुलेर मुस्किल परेको बताए। आवेदन दिएपछि तीन दिनमा राहदानी तयार हुने र एसएमएस आउने भनिएपनि अहिलेसम्म कुनै सन्देश नआएको उनको गुनासो छ।

राहदानी ढिलो हुँदा ईपीएस आवेदनको अन्तिम म्याद गुम्ने जोखिम रहेको भन्दै उनले सेवा छिटो र व्यवस्थित बनाउन सरकारसँग आग्रह गरे।

‘ईपीएस परीक्षाको लागि पासपोर्ट बनाउन काठमाडौं राजधानी सम्म आइयो। म आएको एक हप्ता जति भइसक्यो, शुरुमै फर्म भर्दाखेरि सर्भर डाउन भएर समस्या परिरहेको थियो। फर्म भर्न नै दुई तीन दिन लाग्यो, बल्ल फर्म भरियो, बिहान ६ बजे देखि लाइन लागेर साझको ५ बजे तिर मैले अप्लाई गरेको थिए, पासपोर्टको लागि। बुधवार अप्लाई गरेको थिए, मलाई तीन दिनपछि आउनु भन्नुभएको थियो। नभए म्यासेज आउँछ, म्यासेज आएपछि आउनु भनेको थियो तर म्यासेज पनि आएको आएकै छैन' उनले भने।

राहदानी विभागले पनि नयाँ प्रणालीको स्थिरीकरण र ईपीएस आवेदनका कारण एक्कासी बढेको सेवाग्राहीको चापले राहदानी वितरणमा केही समस्या भएको स्वीकार गरेको छ।

विभागका निर्देशक दीपक बञ्जाडेका अनुसार पासपोर्ट अभाव नभएपनि प्रणालीमा प्राविधिक त्रुटी देखिँदा केही सेवाग्राहीले समयमै राहदानी पाउन सकेका छैनन्।

उनले ‘अर्जेन्ट’ राहदानी सेवा दुई कार्यदिन (४८ कार्यघण्टा) भित्र उपलब्ध गराउने व्यवस्था गरेको बताए। उनले ईपीएस आवेदनका कारण दैनिक हजारौँ अतिरिक्त आवेदन परेकाले निर्धारित समयमै सेवा दिन केही चुनौती भएको बताए। प्राविधिक त्रुटी देखिएका फाइलमा भने थप एक कार्यदिन लाग्न सक्ने उनले जानकारी दिए।

निर्देशक बञ्जाडेले अधिकांश सेवाग्राहीलाई राहदानी तयार भएको वा आवश्यक कागजात अपलोड गर्नुपर्ने जानकारी एसएमएसमार्फत पठाइने गरेको जानकारी दिए।

उनका अनुसार केही दिनअघि एसएमएस सेवाप्रदायक कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम सकिँदा केही सेवाग्राहीलाई सन्देश पुग्न सकेको थिएन। तर हाल उक्त समस्या समाधान भइसकेको उनले बताए।

बञ्जाडेका अनुसार केही सेवाग्राहीको राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँगको समन्वयमा समस्या देखिँदा पनि राहदानी प्रक्रिया रोकिएको थियो। त्यसका लागि अहिले विभागमै एनआईडीका कर्मचारी खटाएर समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ।

र्देशक बञ्जाडेले अत्यावश्यक पर्नेले मात्रै आवदेन दिन पनि सेवाग्राहीलाई आग्रह गरे। उनले राहदानी अभाव रहेको हल्लाले पनि सेवाग्राहीको चाप बढेको उल्लेख गर्दै राहदानी अभाव नभएको बताए।

विभागले अर्को सातादेखि एक महिनासम्मका लागि राहदानी आवेदन फारम खुला गरिने तयारी गरेको पनि उनले जानकारी दिए। तत्काल आवश्यकता नभएका सेवाग्राहीलाई केही समयपछि आवेदन दिन उनले आग्रह गरे।

‘अब अर्को हप्ता देखि हामीले फुल फ्लेज पहिला जस्तै एकदम लङ टर्मको लागि फर्महरु खोल्दैछौँ, सबैतिर फर्म खुल्छ, अहिले चाहिँ राइट नेक्स्ट डे को अघिल्लो दिन फर्म खुल्थ्यो। तर नेक्स्ट विक देखि चाहीँ लगभग एक महिनाको हामीले फर्म खोल्ने प्लान गरिराखेका छौँ, भनेको अर्थ हामीसँग त्यस्तो कुनै क्राइसिस छैन। अब यो ईपीएस हप्ता सकिएपछि अवस्था सामान्य हुन्छ, यो हप्ता चाहिँ खास ईपीएस कारणले जो इमर्जेन्सी छ, एकदम अप्ठ्यारो छ उनले एप्लाई गर्नु नत्र भने अलि एक हप्ता पछि नै प्लान गर्दा बेटर होला’ उनले भने।

विभागले हाल दैनिक १ हजार ५ सय राहदानीको छपाइ गरि वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।

ईपीएस आवेदनलाई लक्षित गरेर विभागले साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा राहदानीको आवेदन तथा वितरण गर्ने व्यवस्था मिलाएको छ। विभागका अनुसार पहिला सिफ्ट बिहान ७ देखि दिउँसो २ बजेसम्म र दोस्रो दिउँसो २ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ। 


प्रकाशित : आइतबार, साउन १७ २०८३१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend