बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

न्यून लगानीमै धेरै रोजगारीको सम्भावना, आईटी उद्योगमा उद्यमीको आकर्षण बढ्यो

आइतबार, साउन १७ २०८३
न्यून लगानीमै धेरै रोजगारीको सम्भावना, आईटी उद्योगमा उद्यमीको आकर्षण बढ्यो

आईसीटी उद्योगमा एउटा रोजगारी सिर्जना गर्न औसत ६ लाख ५५ हजार रुपैयाँ लगानी पर्याप्त रहेको विभागको तथ्याङ्क छ। सबै औद्योगिक क्षेत्रमध्ये यो प्रति रोजगारी सबैभन्दा कम लगानी हो।

काठमाडौं- न्यून लगानीमै उद्योग स्थापना गर्न सकिने भएकाले सूचना प्रविधि (आईटी/आईसीटी) क्षेत्र नयाँ उद्योग दर्ताको प्रमुख गन्तव्य बनेको छ।

आर्थिक वर्ष २०८२/८३ मा उद्योग विभागमा दर्ता भएका कुल उद्योगमध्ये झन्डै ३९ प्रतिशत आईसीटी क्षेत्रसँग सम्बन्धित छन्। प्रतिरोजगारी सबैभन्दा कम लगानी आवश्यक पर्ने भएकाले यो क्षेत्रमा उद्यमीको आकर्षण उल्लेख्य रूपमा बढेको देखिएको हो।

उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका ८४९ उद्योगमध्ये ३२८ वटा आईसीटी क्षेत्रका छन्। तीमध्ये ३२६ वटा साना उद्योग हुन् भने दुईवटा मात्रै मझौला तथा ठूला उद्योगका रूपमा दर्ता भएका छन्। यी उद्योगबाट ५ हजार १३८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

आईसीटी उद्योगमा एउटा रोजगारी सिर्जना गर्न औसत ६ लाख ५५ हजार रुपैयाँ लगानी पर्याप्त रहेको विभागको तथ्यांक छ। सबै औद्योगिक क्षेत्रमध्ये यो प्रति रोजगारी सबैभन्दा कम लगानी हो।

यसको विपरीत ऊर्जा क्षेत्रमा एउटा रोजगारी सिर्जना गर्न औसत १६ करोड ५० लाख रुपैयाँभन्दा बढी लगानी आवश्यक परेको छ। सेवामूलक क्षेत्रमा प्रति रोजगारी २ करोड ९० लाख रुपैयाँ, पर्यटन क्षेत्रमा ५१ लाख ८० हजार रुपैयाँ, कृषि तथा वन क्षेत्रमा ४४ लाख ९० हजार रुपैयाँ तथा उत्पादनमूलक उद्योगमा ४३ लाख ९० हजार रुपैयाँ लगानी आवश्यक पर्ने तथ्यांकले देखाएको छ।

दर्ता भएका अधिकांश आईसीटी उद्योग सफ्टवेयर विकास, वेब डिजाइन, सूचना प्रविधि सेवा र आउटसोर्सिङसँग सम्बन्धित छन्। यस्ता व्यवसाय सञ्चालनका लागि ठूलो भौतिक पूर्वाधार आवश्यक नपर्ने र दक्ष जनशक्ति तथा कम्प्युटर उपकरणकै भरमा सञ्चालन गर्न सकिने भएकाले सीमित पुँजी भएका उद्यमीको आकर्षण बढेको देखिन्छ।

Screenshot 2026-07-30 at 17.48.31.png

यद्यपि उद्योग दर्ताको संख्यामा आईसीटी क्षेत्र अग्रस्थानमा रहे पनि रोजगारी सिर्जनामा पर्यटन र उत्पादनमूलक क्षेत्र अगाडि छन्। पर्यटन उद्योगले १३ हजार ८९ र उत्पादनमूलक उद्योगले ११ हजार ७१० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। आईसीटी उद्योगको आकार सानो हुने भएकाले प्रत्येक उद्योगबाट सिर्जना हुने रोजगारीको संख्या सीमित रहेको देखिन्छ।

त्यस्तै, कृषि तथा वन क्षेत्रका २३ उद्योगले ७ हजार ४८५ जनालाई रोजगारी दिएका छन् भने ऊर्जा क्षेत्रका २७ उद्योगबाट १ हजार ४७८ जनाले मात्रै प्रत्यक्ष रोजगारी पाएका छन्। यसले उद्योगको संख्या र रोजगारी सिर्जनाबीच सधैं प्रत्यक्ष सम्बन्ध नहुने देखाउँछ।

उद्योग विभागको तथ्यांकले कम लगानीमा व्यवसाय सुरु गर्न चाहने उद्यमीका लागि सूचना प्रविधि क्षेत्र सबैभन्दा आकर्षक विकल्प बन्दै गएको संकेत गरेको छ। यद्यपि ठूलो परिमाणमा रोजगारी सिर्जना गर्न उत्पादनमूलक, पर्यटन र कृषि क्षेत्रको विस्तार अझै निर्णायक रहने देखिन्छ।


प्रकाशित : आइतबार, साउन १७ २०८३१५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend