बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नर्भिक अस्पतालको सञ्चालन आय चार वर्षमा २५ प्रतिशतले बढ्यो, १ लाख २७ हजारले लिए ओपीडी सेवा

१ सय १६ शैय्याबाट २७५ शैय्यामा विस्तार हुँदै, निर्माण अन्तिम चरणमा

बुधबार, साउन १३ २०८३
नर्भिक अस्पतालको सञ्चालन आय चार वर्षमा २५ प्रतिशतले बढ्यो, १ लाख २७ हजारले लिए ओपीडी सेवा

छिल्लो चार वर्षमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सञ्चालन आय, नाफा, नगद प्रवाह र वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधार गरेको छ।

काठमाडौं- पछिल्लो चार वर्षमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सञ्चालन आय, नाफा, नगद प्रवाह र वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधार गरेको छ। विद्यमान १ सय १६ शैय्याको अस्पतालबाट सेवा विस्तार, बिरामीको बढ्दो चाप र सञ्चालन दक्षताका कारण सञ्चालन आय करिब २५ प्रतिशतले बढेको हो।

केयर रेटिङ्स नेपालले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१/२२ मा १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ रहेको सञ्चालन आय आर्थिक वर्ष २०२४/२५ मा बढेर २ अर्ब २६ करोड ३० लाख रुपैयाँ पुगेको छ।

तीन वर्षको अवधिमा सञ्चालन आयमा करिब ४५ करोड रुपैयाँ वृद्धि भएको हो। यस अवधिमा अस्पतालको सञ्चालन आय वार्षिक औसत करिब ८ प्रतिशतका दरले बढेको देखिन्छ भने आर्थिक वर्ष २०२४/२५ मा मात्रै अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशत वृद्धि भएको छ।

सञ्चालन आयसँगै अस्पतालको नाफा कमाउने क्षमता पनि निरन्तर बलियो बन्दै गएको छ। आर्थिक वर्ष २०२१/२२ मा करिब १९ प्रतिशत रहेको सञ्चालन नाफा (पीबीआईएलडीटी मार्जिन) आर्थिक वर्ष २०२४/२५ मा बढेर २६.६९ प्रतिशत पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामै यो अनुपात ३२.९१ प्रतिशत पुगेको प्रतिवेदनले देखाएको छ। सञ्चालन खर्चको तुलनामा आम्दानी तीव्र रूपमा बढेकाले अस्पतालको नाफामा उल्लेख्य सुधार आएको विश्लेषण गरिएको छ।

नाफासँगै नगद आम्दानी पनि तीव्र रूपमा बढेको छ। आर्थिक वर्ष २०२१/२२ मा २३ करोड ७० लाख रुपैयाँ रहेको ग्रस क्यास एक्रुअल आर्थिक वर्ष २०२४/२५ मा बढेर ४१ करोड ९० लाख रुपैयाँ पुगेको छ।

अर्थात तीन वर्षमै नगद आम्दानी करिब ७७ प्रतिशत ले बढेको हो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामै नगद आम्दानी ४७ करोड १० लाख रुपैयाँ पुगेको छ, जसले अस्पतालको ऋण भुक्तानी क्षमता थप सुदृढ भएको संकेत गर्छ।

अस्पतालमा बिरामीको आकर्षण पनि निरन्तर बढिरहेको छ। बाह्य बिरामी (ओपीडी) सेवा लिनेको संख्या आर्थिक वर्ष २०२०/२१ मा ९४ हजार ३३० रहेकामा आर्थिक वर्ष २०२४/२५ मा बढेर १ लाख ६० हजार ३५१ पुगेको छ।

पाँच वर्षमा ओपीडी बिरामीको संख्या करिब ७० प्रतिशतले बढेको हो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मात्रै १ लाख २७ हजार ४७३ जना ओपीडी बिरामीले सेवा लिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.९ प्रतिशत बढी हो।

भर्ना भएर उपचार गर्ने बिरामी (आईपीडी) को संख्या पनि स्थिर रूपमा बढिरहेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ६ हजार ५९४ जना बिरामी भर्ना भएर उपचार गराएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४.६ प्रतिशतले बढी हो। बिरामीको संख्या मात्र नभइ प्रतिबिरामीबाट हुने आम्दानी बढेकाले अस्पतालको समग्र राजस्वमा सकारात्मक प्रभाव परेको केयर रेटिङ्सको निष्कर्ष छ।

वित्तीय सूचकहरूमा आएको सुधारले अस्पतालको पुँजी संरचना पनि मजबुत बनेको छ। आर्थिक वर्ष २०२४/२५ मा प्रवर्द्धकहरूले १९ करोड ४४ लाख रुपैयाँ नयाँ इक्विटी थपेपछि ऋणको भार घटेको छ। समग्र गियरिङ अनुपात १.९२ गुणाबाट घटेर १.५० गुणा मा झरेको छ भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो अनुपात १.१७ गुणा मा झरेको छ।

ब्याज तिर्ने क्षमता झन् उल्लेखनीय रूपमा सुधारिएको छ। आर्थिक वर्ष २०२३/२४ मा ५.३९ गुणा रहेको इन्टरेस्ट कभरेज रेसियो आर्थिक वर्ष २०२४/२५ मा बढेर १०.९० गुणा पुगेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो सूचक २४.२५ गुणा पुगेको छ। यसले अस्पतालको सञ्चालनबाट प्राप्त आम्दानीले ऋणको ब्याज सहज रूपमा तिर्न सक्ने क्षमता बलियो बन्दै गएको देखाउँछ।

अस्पतालले आफ्नो सेवा क्षमता विस्तारलाई तीव्र बनाएको छ। हालको ११६ शैय्यालाई बढाएर २७५ शैय्या पुर्‍याउने विस्तार परियोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। परियोजनाको संशोधित लागत ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने सन् २०२७ को जनवरीको मध्यदेखि विस्तारित अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

यिनै वित्तीय तथा सञ्चालन सुधारका आधारमा केयर रेटिङ्स नेपालले नर्भिक अस्पतालको दीर्घकालीन रेटिङ ‘केयर–एनपी बीबीबी’ बाट ‘केयर–एनपी बीबीबी प्लस’ मा स्तरोन्नति गरेको छ भने अल्पकालीन रेटिङ पनि ‘केयर–एनपी ए३ प्लस’ बाट ‘केयर–एनपी ए२’ मा सुधार गरेको छ। रेटिङ एजेन्सीले अस्पतालको आय, नाफा, नगद प्रवाह र ऋण तिर्ने क्षमता अझ सुदृढ बन्दै गएको निष्कर्ष निकालेको छ।


प्रकाशित : बुधबार, साउन १३ २०८३१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend