मंगलबार, साउन १२ गते २०८३    
मंगलबार, साउन १२ २०८३

नेप्सेको सीईओ नियुक्तिको प्रक्रिया अघि बढ्यो,आवेदन माग

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १२ २०८३
नेप्सेको सीईओ नियुक्तिको प्रक्रिया अघि बढ्यो,आवेदन माग

यसअघिका प्रमुख कार्यकारी अधिकृतले राजिनामा दिएपछि नयाँ नेतृत्व चयनका लागि सरकारले खुला प्रतिस्पर्धामार्फत पदपूर्ति प्रक्रिया अघि बढाएको हो।

काठमाडौं- अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। मन्त्रालयले गठन गरेको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट १५ दिनभित्र आवेदन मागेको हो।

सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। आवेदन अर्थ मन्त्रालय वा नेप्सेको वेबसाइटबाट प्राप्त हुने ढाँचामा तयार गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

सीईओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य, अर्थशास्त्र, वित्त, व्यवसाय प्रशासन, कानुन वा सोसँग सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, व्यवस्थापन तहमा कम्तीमा सात वर्षसहित सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव आवश्यक पर्ने सूचनामा उल्लेख छ।

त्यसैगरी, आवेदक नेपाली नागरिक हुनुपर्ने, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार वा अन्य आर्थिक अपराधमा दोषी नठहरिएको तथा कालोसूचीमा नपरेको हुनुपर्ने सर्त राखिएको छ। आवेदन दिने उम्मेदवारले ३५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

छनोट प्रक्रियाअन्तर्गत प्रारम्भिक योग्यताका आधारमा उम्मेदवारको सूची प्रकाशन गरिनेछ। त्यसपछि व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम सिफारिस समितिले अर्थमन्त्रीसमक्ष सिफारिस गर्ने व्यवस्था छ। अन्तिम नियुक्ति मन्त्रिपरिषद्बाट हुनेछ।

आवेदन दस्तुर ५ हजार रुपैयाँ तोकिएको छ। उम्मेदवारले आफ्नो व्यावसायिक कार्ययोजनासहित आवश्यक शैक्षिक योग्यता, अनुभव र स्वघोषणासम्बन्धी कागजात संलग्न गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

यसअघिका प्रमुख कार्यकारी अधिकृतले राजिनामा दिएपछि नयाँ नेतृत्व चयनका लागि सरकारले खुला प्रतिस्पर्धामार्फत पदपूर्ति प्रक्रिया अघि बढाएको हो।

 


प्रकाशित : मंगलबार, साउन १२ २०८३०९:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend