सोमबार, साउन ११ गते २०८३    
सोमबार, साउन ११ २०८३

चुनावपछि राजनीति सकियो, अब विकास निर्माणमा जुटौँ : मन्त्री गौतम

चितवन निकुञ्जभित्रको सडक निर्माण पूरा गर्ने प्रतिबद्धता

सोमबार, साउन ११ २०८३
चुनावपछि राजनीति सकियो, अब विकास निर्माणमा जुटौँ : मन्त्री गौतम

उनले भनिन्, 'राजनीति त चुनावको बेला गरिहालियो नि। चुनाव जितेपछि सकियो। ज-जसले जेजे गरेको भए पनि मत हाल्ने पनि नहाल्ने पनि हाम्रै जनता हुन्।'

चितवन- कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा मात्र राजनीति गर्नुपर्ने बताएकी छिन्।

माडीमा सञ्चालित शिव पुराण ज्ञान महायज्ञलाई आज सम्बोधन गर्दै उनले निर्वाचनको बेला राजनीति गरियो, अब सकियो, विकास निर्माणमा जुट्न आग्रह गरिन्। उनले भनिन्, 'राजनीति त चुनावको बेला गरिहालियो नि। चुनाव जितेपछि सकियो। ज-जसले जेजे गरेको भए पनि मत हाल्ने पनि नहाल्ने पनि हाम्रै जनता हुन्।'

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माण पूरा गरेरै छाड्ने उनले जानकारी दिइन्। जंगलको सडक निर्माण हुनेमा ढुक्क हुन उनले आग्रह गरिन्। उनले भनिन्,  'अहिले निकुञ्जको रूख गणना भइरहेको छ। त्यसपछि सार्वजनिक सुनुवाइ कार्यक्रम हुन्छ। यो जंगलको बाटो त बन्छ, बन्छ।'

यत्रो वर्ष बितिसक्दासमेत जनताले जंगलको बाटो नै माग गर्नुपर्ने अवस्था दुःखद् रहेको उल्लेख गर्दै उनले आगामी पाँच वर्षभित्र जंगलको सडक निर्माणसँगै रिउ करिडोरलगायत माडीका विकासका योजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री गौतमले माडीको समग्र विकासका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउँदै निर्वाचन सकिएकाले अब विकासमा केन्द्रित हुनुपर्ने धारणा राखिन्। उनले भनिन्, 'माडीलाई विकास गर्नका लागि हामी एक ठाउँमा उभिऔँ। समाजमा जस्तो पनि टिकाटिप्पणी हुन्छ, सकेसम्म राम्रो गरौँ।'

माडीवासीले व्यक्तिगत स्वार्थभन्दा जनताका समस्या लिएर आए आफूले कुनै न कुनै रूपमा समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्। उनले भनिन्, 'माडीवासीलाई जे दुःख परे पनि व्यक्तिगत स्वार्थका विषयभन्दा जनताका समस्या लिएर आउनुभयो भने म समाधान कुनै न कुनै तरिकाबाट दिएर पठाउँछु।' रासस


प्रकाशित : सोमबार, साउन ११ २०८३१७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend