काठमाडौं- चुरोट उत्पादक सूर्य नेपाल प्रालिको सञ्चालन आम्दानी सन् २०२४-२५ मा १२.३ प्रतिशतले बढेर ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको सञ्चालन आम्दानी २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ थियो।
केयर रेटिङ्स नेपालले सूर्य नेपालको ५ अर्ब ७५ करोड रुपैयाँबराबरको अल्पकालीन बैंकिङ सुविधामा प्रदान गरेको 'केयर-एनपी ए१+' रेटिङलाई यथावत् राखेको छ। यो रेटिङले कम्पनीको अल्पकालीन वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता अत्यन्त बलियो रहेको जनाउँछ।
केयर रेटिङ्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीको बलियो ब्रान्ड, चुरोट बजारमा अग्रणी स्थान, अनुभवी व्यवस्थापन, सुदृढ वित्तीय अवस्था तथा भारतको आईटीसी लिमिटेडबाट प्राप्त व्यवस्थापकीय तथा प्राविधिक सहयोगका कारण रेटिङलाई यथावत् राखिएको हो।
प्रतिवेदनअनुसार कम्पनीको वित्तीय अवस्था बलियो रहेको छ। २०२४-२५ को अन्त्यसम्म कम्पनीले कुनै पनि दीर्घकालीन बैंक ऋण लिएको छैन। कम्पनीको ऋण दायित्व मुख्य रूपमा लिजसम्बन्धी दायित्वमा मात्र सीमित रहेको छ। त्यसैले कम्पनीको ऋण-इक्विटी अनुपात ०.०१ गुणा मात्रै रहेको छ।
कम्पनीसँग आर्थिक वर्षको अन्त्यसम्म ४ अर्ब ९७ करोड ४० लाख रुपैयाँ बैंक निक्षेप, १ अर्ब २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिलमा लगानी तथा २१ करोड ६० लाख रुपैयाँ नगद मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ। बलियो नगद प्रवाहका कारण कम्पनीले नियमितरूपमा सेयरधनीलाई लाभांश वितरण गर्दै आएको जनाइएको छ।
कम्पनीको कारोबार अझै पनि मुख्यरूपमा चुरोट व्यवसायमै निर्भर रहेको केयर रेटिङ्सले जनाएको छ। अगरबत्ती र प्याकेजिङ गरिएको खाद्य पदार्थको उत्पादन तथा बिक्री गर्दै आए पनि कुल सञ्चालन आम्दानीमा ती व्यवसायको योगदान न्यून छ। त्यसैले चुरोट व्यवसायमा कुनै प्रतिकूल असर परे कम्पनीको समग्र वित्तीय प्रदर्शन प्रभावित हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।
कम्पनीले व्यवसाय विस्तारका लागि होटल क्षेत्रमा लगानी गर्ने योजना अघि बढाएको पनि प्रतिवेदनमा उल्लेख छ। हालको बलियो नगद प्रवाहका कारण अधिकांश लगानी आन्तरिक स्रोतबाटै व्यवस्थापन हुने अपेक्षा गरिएको छ। तर भविष्यमा ठूलो परिमाणमा ऋण लिएर लगानी गरे कम्पनीको पुँजी संरचनामा दबाब पर्न सक्ने केयर रेटिङ्सले औँल्याएको छ।
प्रतिवेदनमा चुरोटमा लाग्ने उच्च करलाई कम्पनीको प्रमुख चुनौतीका रूपमा देखाइएको छ। चुरोटमा करको भार निरन्तर बढ्दै जाँदा कानूनी रूपमा उत्पादन र बिक्री गर्ने उद्योगको सञ्चालन लागत बढेको र उपभोक्ता सस्ता तथा कर छलिएका सुर्तीजन्य वस्तुतर्फ आकर्षित हुनसक्ने जोखिम रहेको उल्लेख गरिएको छ। यसले कम्पनीको बिक्री, आम्दानी र नाफामा असर पार्न सक्ने विश्लेषण गरिएको छ।
सन् १९८६ देखि सञ्चालनमा रहेको सूर्य नेपालमा भारतको आईटीसी लिमिटेडको ६१ प्रतिशत तथा नेपाली संस्थागत र व्यक्तिगत लगानीकर्ताको ३९ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले चुरोट, अगरबत्ती र प्याकेजिङ गरिएका खाद्य पदार्थ उत्पादन गर्दै आएको छ भने चालु वर्षदेखि ‘मरानी’ ब्रान्डको प्रिमियम मह निर्यात पनि सुरु गरेको छ।