काठमाडौं- माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरणअनुसार कम्पनीको वित्तीय अवस्थामा सुधारको संकेत देखिएको छ।
कम्पनीले तेस्रो त्रैमाससम्मको अवधिमा २८ करोड ६७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो। विद्युत् बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि भएसँगै कम्पनीको सञ्चालन नाफा सुध्रिएकाले नाफामा फर्किन मद्दत पुगेको हो।
वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्म विद्युत् बिक्रीबाट ७ अर्ब ७१ करोड ८१ लाख ५ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको ४ अर्ब २७ करोड ८ लाख २७ हजार रुपैयाँको रहेको थियो। विद्युत् आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा १ अर्ब १ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ। कम्पनीको सेयर प्रिमियम खातामा ८७ करोड ५४ लाख रुपैयाँ जम्मा रहेको छ।
विगतका सञ्चित नोक्सानीका कारण कम्पनीको जगेडा कोष अझै पनि १२ अर्ब १६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ। कम्पनीको दीर्घकालीन ऋण ६७ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ र कुल सम्पत्ति ८१ अर्ब ३२ करोड १ लाख रुपैयाँ पुगेको छ।
नाफामा सुधार आएपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक बनेको छ। अघिल्लो वर्ष ९ रुपैयाँ ७६ पैसा ऋणात्मक रहेको ईपीएस १ रुपैयाँ ८१ पैसा पुगेको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ४६ रुपैयाँ ६९ पैसा कायम भएको छ।
धितोपत्र बजारमा कम्पनीको सेयर कारोबारको विवरण अनुसार समीक्षा अवधिमा अधिकतम २ सय ५२ रुपैयाँ १० पैसा, न्यूनतम १७३ रुपैयाँ ५० पैसा र अन्तिम मूल्य २ सय २५ रुपैयाँमा कारोबार भएको छ। यस अवधिमा ५३ हजार ६ सय ३९ वटा कारोबारमार्फत सेयर किनबेच भएको कम्पनीले जनाएको छ।