कर्णाली- नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कारबाहीबाट ३ करोड ४१ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।
उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार आर्थिक वर्ष ०८२/८३ मा ट्राफिक नियम उल्लंघन गर्ने ३८ हजार ८८५ सवारीसाधनलाई कारबाही गरिएको छ।
उनका अनुसार आव ०८१/८२ मा ४९ हजार ९६४ सवारी कारबाही गरी ३ करोड ६७ लाख ४३ हजार रूपैयाँ राजस्व असुली गरिएको थियो।
उनले भने, 'कारबाही सङ्ख्या र राजस्व संकलन घट्नु भनेको ट्राफिक नियम पालना हुनु हो। हामी राजस्व संकलन गर्ने होइन, सकेसम्म नियमको पालना र सवारी दुर्घटनामा कमी ल्याउन लागिपरेका छौँ।'
आव ०८१/८२ को तुलनामा आव ०८२/८३ मा सवारी कारबाही २३ प्रतिशत र राजस्व संकलन २० प्रतिशतले कमी आएको छ।
प्रहरी उपरीक्षक रिजालका अनुसार कर्णालीमा दैनिक सरदर १०१ सवारीसाधन दर्ता हुन्छन्। यस्तै, तीन दशमलव २७ प्रतिशत सवारी दुर्घटना हुन्छ। प्रदेशका सबै जिल्लाको सवारी दुर्घटनाबारे अध्ययन गर्दा सुर्खेतमा सबैभन्दा बढी ६९० र मुगुमा सबैभन्दा कम १७ सवारी दुर्घटना भएको प्रहरीको विवरण छ।
प्रदेशभर एक हजार ३८४ किलोमिटर पक्की, एक हजार १९४ किलोमिटर ग्राभेल, सात हजार १०८ किलोमिटर कच्ची गरी कर्णाली जम्मा नौ हजार ६८७ किलोमिटर सडकमा सवारी सञ्चालन हुन्छ।
कुल १६ लाख ९४ हजार ८८९ जनसङ्ख्याका लागि ट्राफिक प्रहरी अनुपात ७८ दशमलव ८३ जना छ। एकजना प्रहरीले ४५ किलोमिटर सडक हेर्नुपर्दछ। हाल प्रदेशभर २१५ ट्राफिक प्रहरी रहेको उनले जानकारी दिए।
कर्णालीमा २६ देखि ४० वर्ष उमेर समूहका विशेषगरी दुईपांग्रे ६२ प्रतिशत सवारीसाधन तीव्र गतिका कारण अपराह्न १२ देखि साँझ ६ बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक रिजालले बताए। उनका अनुसार गत आव ०८२/८३ मा ट्राफिक नियम पालनासम्बन्धी आठ हजार २७८ पटक सचेतनामूलक कार्यक्रम गर्दा कर्णाली प्रदेशभर पाँच लाख ६९ हजार २०६ नागरिक लाभान्वित भएका थिए। रासस