काठमाडौं- कोलकाता बन्दरगाहबाट विराटनगर भन्सारसम्मको पहिलो ऐतिहासिक रेल कार्गो सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
महँगो र झन्झटिलो ढुवानीमा निर्भर रहँदै आएका नेपालका उद्योगीहरूका लागि यो सेवाले ‘लजिस्टिक्स’ लागतमा ठूलो राहत दिने र आपूर्ति शृङ्खलामा गतिशीलता ल्याउने विश्वास गरिएको छ।
नेपाल-भारत पारवहन सम्झौताको दायरा विस्तार गर्दै भारत सरकारले केही समय अघि गरेको नीतिगत परिवर्तनको यो ठोस कार्यान्वयन हो। कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगञ्जमा सीमित रहेको रेल कार्गो सुविधा अब पूर्वी नेपालको विराटनगरसम्म विस्तार भएपछि आयात-निर्यात प्रक्रियामा ‘मल्टी-मोडल लजिस्टिक्स’ को नयाँ युग सुरु भएको छ।

सडक मार्गको तुलनामा रेल कार्गो निकै सुरक्षित हुने, २४ घण्टामै विराटनगर पुग्ने छ। हाल ४० वटा ४० फिटका कन्टेनरहरू ल्याइएको भए पनि, भविष्यमा एकै पटकमा ४५ वटा कन्टेनर ढुवानी गर्न सकिने पूर्वाधार तयार छ।
प्रत्येक कन्टेनरमा ‘इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम’ जडान गरिएको छ, जसले मालसामानको सुरक्षा र पारदर्शी ट्र्याकिङ सुनिश्चित गर्छ।
नेपाली उद्योगीहरूका लागि ढुवानी लागत सधैँ टाउको दुखाइको विषय रहँदै आएको छ। विशेषगरी बन्दरगाहमा कन्टेनर अड्किँदा लाग्ने बिलम्ब शुल्क र डिटेन्सन चार्जले नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमतालाई कमजोर बनाउँदै आएको थियो।
कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यले कोलकाता भन्सार, पोर्ट र भारतीय कन्टेनर निगमसँगको समन्वयमा यो सफलता प्राप्त भएको बताए।
