बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

साउनमा ६ वाणिज्य बैंकले घटाए ब्याजदर, औसत व्यक्तिगत ब्याजदर ४.१६ प्रतिशतमा झर्‍यो

बिहीबार , असार ३२ २०८३
साउनमा ६ वाणिज्य बैंकले घटाए ब्याजदर, औसत व्यक्तिगत ब्याजदर ४.१६ प्रतिशतमा झर्‍यो

समग्रमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर असारको ४.२५८ प्रतिशतबाट घटेर साउनमा ४.१६७ प्रतिशत कायम भएको छ।

काठमाडौं- नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनका लागि नेपालका वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। 

सार्वजनिक विवरणअनुसार अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् भने केही बैंकहरूले अघिल्लो महिना असारकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

समग्रमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर असारको ४.२५८ प्रतिशतबाट घटेर साउनमा ४.१६७ प्रतिशत कायम भएको छ।

साउन महिनाका लागि ब्याजदर परिमार्जन गरेको राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फको ब्याजदर सबैभन्दा धेरै ०.७५ प्रतिशत बिन्दुले घटाएको छ। असारमा ४.७५ प्रतिशत रहेको यस बैंकको ब्याजदर साउनमा ४.०० प्रतिशतमा सीमित भएको छ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकले आफ्नो ब्याजदर ०.५० प्रतिशत बिन्दुले घटाएर ४.०० प्रतिशत कायम भएको छ। असारमा बैंकको ब्याजदर ४.५० प्रतिशत थियो। 

एनएमबी बैंकले पनि  ब्याजदरमा ०.२५ प्रतिशत बिन्दुको गिरावट ल्याउँदै साउनका लागि ४.५० प्रतिशत दर तोकेको छ।

ब्याजदर घटाएका अन्य बैंकहरूमा सिटिजन्स बैंक ३.९५ प्रतिशत, कुमारी बैंक ३.८५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंक ३.८५ प्रतिशत कायम भएको छ।

साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा बढी ब्याजदर दिनेमा नबिल बैंक र प्रभु बैंक अग्रस्थानमा रहेका छन्। यी दुवै बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदरलाई साउन महिनामा पनि निरन्तरता दिएका छन्।

यसका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले पनि ४.५० प्रतिशत ब्याजदरसहित आफूलाई बलियो स्थानमा राखेका छन्।

banks intrest.PNG

साउन महिनामा सबैभन्दा कम ब्याजदर कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ। यी दुवै बैंकले व्यक्तिगततर्फ अधिकतम ३.८५ प्रतिशत ब्याजदर तय गरेका छन्।

व्यक्तिगत निक्षेपसँगै बैंकहरूको संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि घटेको छ। असारमा संस्थागततर्फको औसत ब्याजदर ३.१८ प्रतिशत रहेकोमा साउनमा यो दर घटेर ३.११६ प्रतिशत कायम भएको छ। संस्थागततर्फ नेपाल बैंकले भने आफ्नो ब्याजदर ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्‍याएको छ।

१४ वटा वाणिज्य बैंकहरूले भने साउन महिनाका लागि आफ्नो ब्याजदरमा कुनै परिवर्तन नगरी असारकै दरलाई स्थिर राखेका छन्।बजारमा तरलता सहज बन्दै गएका कारण बैंकहरूले ब्याजदर लगातार संशोधन गर्दै घटाउने नीति लिएको विश्लेषण गरिएको छ।


प्रकाशित : बिहीबार , असार ३२ २०८३११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend