बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

भारतमा रोल्स-रोयसदेखि ल्यान्ड रोभरसम्मका महँगा कारको मूल्य १ देखि ३ करोड भारुसम्म घट्दै

भोलीदेखि लागु हुने भारत-यूके व्यापार सम्झौताको प्रभाव

बुधबार, असार ३१ २०८३
भारतमा रोल्स-रोयसदेखि ल्यान्ड रोभरसम्मका महँगा कारको मूल्य १ देखि ३ करोड भारुसम्म घट्दै

जुलाई १५ अर्थात आजदेखि भारत र बेलायतबीच भएको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमा आएसँगै रोल्स-रोयस, एस्टन मार्टिन, म्याकलारेन र ल्यान्ड रोभरजस्ता विलासी कारहरू निकै सस्तो हुने भएका छन्। यो सम्झौताले पूर्णरूपमा आयात गरिने (सीबीयू) कारहरूको भन्सार महशुल हालको १ सय १० प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झार्नेछ।

काठमाडौं- भारतीय बजारमा महँगा र प्रमियम कार खरिद गर्नेको संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ। रोल्स रोयसदेखि ल्यान्ड रोभर हुँदै बीएमडब्लू अउडी पोर्सा मर्सिडिज बेन्ज लेम्बर्गिनी एस्टोन मार्टिनलगायत ब्रान्डका महँगा कारको बिक्री भारतीय बजारमा पछिल्ला वर्षहरुमा बढ्दोक्रममा छ।

तर बेलायतमा उत्पादन भएर भारत आउने महँगा र प्रिमियम कारहरुलाई भने अब ठूलो लाभ हुने भएको छ। भारत र यूके (संयुक्त अधिराज्य) बीचको स्वतन्त्र व्यापार सम्झौताअनुसार दुई देशबीच हुने आयात तथा निर्यातका कयौँ वस्तुहरुमा यसअघिको तुलनामा निक्कै कम कर लाग्ने छन्।

त्यसरी कम कर लाग्ने क्षेत्रमा अटोमोबाइल पनि रहेको छ। बेलायतमा बनेर भारत आउने महँगा कारमा हालसम्म १ सय १० प्रतिशत कर लाग्दै आएको छ। तर जुलाई १५ अर्थात आजदेखि भारत र बेलायतबीच भएको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमा आएसँगै रोल्स-रोयस, एस्टन मार्टिन, म्याकलारेन र ल्यान्ड रोभरजस्ता विलासी कारहरू निकै सस्तो हुने भएका छन्। यो सम्झौताले पूर्णरूपमा आयात गरिने (सीबीयू) कारहरूको भन्सार महशुल हालको १ सय १० प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झार्नेछ। यो सहुलियतअनुसार पहिलो वर्ष यूकेमा बनेर भारत आयात हुने २० हजार कारको कोटामा लागु हुनेछ।

बेलायतबाट तयारी कार आयात गर्ने कम्पनीहरुले अझै नयाँ मूल्य सूची सार्वजनिक भने गरिसकेका छैनन्। तर अटो क्षेत्रका विज्ञहरूका अनुसार कारको मूल्यमा २० देखि २५ प्रतिशतसम्म गिरावट आउनेछ। यसले गर्दा कोरको मूल्यअनुसार १ देखि ३ करोड भारतीय रुपैयाँसम्म बचत हुनेछ। यसरी मूल्य घट्दा तत्कालिन अवस्थामा भारतीय बजारमा महँगा कारको बिक्री दोबर हुने विज्ञहरूको अनुमान छ।

भारतमा रोल्स-रोयस र एस्टन मार्टिनको आधिकारिक बिक्रेता 'सेलेक्ट कार्स'का सीईओ यदुर कपुरले आयातित गाडीहरूको मूल्यमा ठूलो फेरबदल हुने बताए। कम्पनीहरूले आधिकारिक मूल्य सार्वजनिक गर्न बाँकी भए पनि ग्राहकहरूमाझ यसप्रति निकै उत्साह देखिएको उनले बताए।

बेलायतस्थित ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)ले आफ्ना आयातित मोडलहरू 'रेन्ज रोभर स्पोर्ट्स एसभी' र 'रेन्ज रोभर एसभी' को मूल्य यसअघि नै घटाइसकेको छ। कम्पनीले भारतमा हुने कुल बिक्रीमा आयातित गाडीको हिस्सा बढेर ७ देखि १० प्रतिशत पुग्ने अनुमान गरेको छ।

अहिले जेएलआर इन्डियाको कुल बिक्रीमा आयातित गाडीको हिस्सा ३ देखि ४ प्रतिशत मात्र रहेको जनाएको छ। भन्सार महशुल घट्दा गाडीहरू बढी किफायती हुने भएकाले आगामी दिनमा यो संख्या बढ्ने यस क्षेत्रका जानकारले बताएका छन्।

जेएलआरले मूल्य घटाएको घोषणा गरेपछि र व्यापार सम्झौता लागु हुने पक्का भएपछि सोधपुछ गर्ने ग्राहकहरू बढेका द इकोनोमिक टाइम्सले लेखेको छ। यद्यपि धेरैजसो सम्भावित खरिदकर्ताहरूले सम्झौता पूर्ण रूपमा लागु हुने दिन पर्खिरहेकाले तत्कालका लागि खरिद प्रक्रिया भने केहीपछि सारेका छन्।

बेलायतसँगको स्वतन्त्र व्यापार सम्झौताले बेलायतमा बनेर भारत आउने विलासी कार कम्पनीहरुलाई भने राम्रो लाभ हुनेछ। भारतमा राम्रो संख्यामा महँगा कार बिक्री गरिरहेका मर्सिडिज बेन्ज बीएमडब्लू अउडी पोर्सालगायतलाई भने बेलायतबाट बनेर आउने विलासी कारले बिक्रीमा दबाब दिनेछन्।


प्रकाशित : बुधबार, असार ३१ २०८३०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend