शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

करोडौँ डलरका भिन्टेज कारसहित यूएईको एउटा क्लासिक क्याफे

शनिबार, असार २७ २०८३
करोडौँ डलरका भिन्टेज कारसहित यूएईको एउटा क्लासिक क्याफे

बुबाको शौखिन संकलनमा रहेका कुनै पनि पुराना गाडीमा हात नलगाउनु भन्ने कडा निर्देशन पाएका अल फहिमले एकपटक अनुमति बिना नै बुबाको सन् १९६४ मोडलको 'ज्यागुअर ई-टाइप' लिएर निस्किएका थिए।

काठमाडौं- संयुक्त अरब इमिरेट्स पुग्ने हरेक व्यक्तिका लागि एउटा क्याफेले आकर्षित गर्न सक्छ। विशेषगरी क्लासिक कार, कफी र पिज्जाका पारखीहरू यूएई पुग्दा अब खुसी हुन सक्छन्। अबु धाबीमा एउटा यस्तो अनौठो ठाउँ छ जहाँ पुग्ने पर्यटकले आफ्नो गाडी पार्क गरेर यी तीन वटै कुराको एकैसाथ आनन्द लिने अवसर पाउँने छन्।

आधा क्याफे र आधा पुराना कारहरूको सोरुम जस्तो देखिने 'डीआरभीएन कफी'ले संयुक्त अरब इमिरेट्स (यूएई)का गाडी प्रेमीहरूलाई विश्वकै दुर्लभ गाडीहरूका साथ बसेर कफी पिउने र मार्घरिटा पिज्जाको स्वाद लिने एउटा साझा थलो प्रदान गरेको छ। यो अवधारणा राशिद अल फहिमको सोचको उपज हो। उनले आफ्ना तीनवटा ठूला रुचीलाई एकै ठाउँमा ल्याउन र आफ्ना बुबाको क्लासिक कार संकलनलाई सर्वसाधारणका लागि प्रदर्शन गर्न सन् २०१९ मा डीआरभीएनको सुरुवात गरेका थिए।

अहिले अल फहिमको परिवारसँग १ सय वटा पुराना गाडीहरूको रेखदेख गर्ने जिम्मेवारी छ। तर सुरुवाती दिनहरूमा उनलाई यस्तो स्वतन्त्रता थिएन। बुबाको शौखिन संकलनमा रहेका कुनै पनि पुराना गाडीमा हात नलगाउनु भन्ने कडा निर्देशन पाएका अल फहिमले एकपटक अनुमति बिना नै बुबाको सन् १९६४ मोडलको 'ज्यागुअर ई-टाइप' लिएर निस्किएका थिए।

आफ्नो गाडी कोहीले लिएर गएको कुरा बुबाले थाहा पाउँदासम्म धेरै ढिलो भइसकेको थियो। उनका छोरा फहिमले उक्त गाडीलाई एउटा ग्यारेजमा पुर्‍याइसकेका थिए, जहाँ त्यो चर्चित ब्रिटिस गाडीका पाटपुर्जाहरू भुइँभरि छरिएका थिए। त्यो गाडीलाई पुरानै अवस्थामा फर्काउने (रेस्टोरेसन) प्रक्रियाको सुरुवात फहिमले गरेका थिए। यसलाई पूरा गर्न उनको टिमलाई करिब सात वर्ष लाग्यो।

आज अल फहिमले कुनै लुकीछिपी बिना नै आफ्ना बुबाको कार संकलनको व्यवस्थापन सम्हाल्छन्। तर यसको मतलब उनी बुबाको गाली खानबाट पूर्णरूपमा जोगिएका भने छैनन्। 'त्यसबेला देखि नै हाम्रो बीचमा यो मुसा-बिरालोको खेल चलिरहेको छ,' अल फाहिमले बताएको सीएनएनले लेखेको छ। उनको क्याफेका शाखाहरुमा १ सय भन्दा कलेक्सनबाट कारहरु फेरबदल भइरहन्छ। यसले क्याफे जानेहरुले केही समयको अन्तरालमा फरक फरक क्लासिक कार देख्न सक्नेछन्। 

'मैले उनका कारहरूमध्ये कुनै एउटालाई चलाउन वा परिवर्तन गर्न खोज्दा उनी ममाथि कराउँछन्, तर अन्ततः हामीले जे उपलब्धि हासिल गर्‍यौँ, त्यसमा उनी गर्व पनि गर्छन्' फहिमले थपेका छन्। फहिमको सोच र योजनामा सुरुवाती चरणमा उनका बुबाको बिमती रहे पनि अहिले भने छोराको कामबाट सन्तुष्ट नै देखिन्छन्।

DRVN_Cafe 2.jpg

पारिवारिक विरासत

पहिले इमिरेट्स एयरलाइन्समा कमर्सियल पाइलट रहेका अल फहिमले दुबईबाट मनिलातर्फको लामो उडानका क्रममा क्लासिक कार कलेक्सनसहित क्याफेको व्यवसायिक योजना बुनेका थिए।

संयोगवश उनको पहिलो आउटलेट 'अल बतीन एक्जिक्युटिभ एयरपोर्ट' नजिकै खुल्यो। त्यसयता सहरभरि र दुबईको मानवनिर्मित टापु 'पाम जुमेराह' नजिकै गरी थप दुईवटा स्टोरहरू खुलिसकेका छन्।

आफ्नो पारिवारिक पृष्ठभूमि हेर्दा अल फहिम आकाशबाट ओर्लेर सडकको व्यवसायमा आउनु सायद स्वाभाविक नै थियो। सन् १९५८ मा उनका हजुरबुबा अब्दुल जलिल अल फहिमले एउटा अटो-रिपेयर सेन्टर खोलेका थिए। यही रिपेयर सेन्टर पछि बढेर 'अल फहिम ग्रुप' बन्यो। यो घरानियाँ व्यापारिक समूहले रियल इस्टेट, ऊर्जा र ट्रान्सपोटेसनजस्ता क्षेत्रमा लगानी गरेको छ।

यो कम्पनी अहिले मोहम्मद अब्दुल जलिल अल फहिमले चलाइरहेका छन्, जसको पुराना गाडीहरूप्रतिको लगाव छोरामा पनि सानै उमेरदेखि सरेको थियो। 'हामी स्कुल पुग्दा अरू सबै बच्चाहरू र अभिभावकहरू हाम्रो त्यो क्लासिक कारको वरिपरि झुम्मिएर हेरिरहेका हुन्थे,' अल फहिमले आफ्नो बाल्यकाल सम्झिए।

'म त्यही लगावलाई अरू मानिसहरूसँग बाँड्न चाहन्थेँ। तर यसलाई कार प्रेमीहरूले मात्र नभइ गाडीका बारेमा केही थाहा नभएकाहरूले पनि आनन्द लिन सक्ने एउटा अनुभवमा बदल्न चाहन्थेँ। यो केवल गाडीको विशेष संस्कृति माझ बस्नु जस्तै हो' उनले थपे, 'अनि जब तपाईं गाडी लिएर कतै निस्कनुहुन्छ, तपाईंको अन्तिम गन्तव्य सधैं कुनै कफी सप नै हुने गर्छ हाम्रो लक्ष्य यही नै थियो।'

बनेका प्रत्येक कार कलाका उत्कृष्ट नमुना हुन्’

डीआरभीएनले कार प्रेमीहरूको जमघट (कार मिट्स) मात्र गराएको छैन, जहाँ स्थानीयहरू आफ्ना उत्कृष्ट गाडीहरू लिएर आउँछन्। यहाँ फर्मुला वानको स्क्रिनिङ र पिलाटिस क्लासहरूसमेत सञ्चालन भइसकेका छन्। यस कफी सपको एउटै मात्र कडा नियम छ यदि कुनै कार सर्वसाधारणका लागि शोरुममा सजिलै किन्न पाइन्छ भने त्यसलाई यहाँ शोकेसमा राखिँदैन।

दुर्लभ र अनुपम गाडीहरू मात्र प्रदर्शन गर्ने यो कडा नियमकै कारण यहाँ केही अत्यन्तै मूल्यवान गाडीहरू आइसकेका छन्। जसमा ब्राड पिटको हस्ताक्षर भएको रेस-कन्भर्टेड 'मर्सिडीज-बेन्ज ३०० एसएल'देखि लिएर सन् १९७९ मा अबुधाबीको राजकीय भ्रमणका क्रममा बेलायती महारानी एलिजाबेथ द्वितीया चढेको मर्सिडीजकै '६०० पुलम्यान' मोडल फहिमको क्लासिक कार कलेक्सन क्याफेमा सामेल छन्।

अल फहिमका अनुसार सन् २०२२ मा प्रसिद्ध जर्मन कार निर्माता पोर्सासँगको साझेदारीमा दुबई स्टोरमा एकपटक पोर्साको इतिहासकै पहिलो मोडलसहित झन्डै ४० करोड डलर मूल्य बराबरका गाडीहरू प्रदर्शनमा राखिएका थिए।

डीआरभीएनको भविष्य अझ 'धेरै ठूलो' हुने देखिरहेका अल फहिमले यस व्यवसायलाई अन्तर्राष्ट्रिय रूपमा विस्तार गर्ने सोच बनाएका छन्। जसका कारण मध्यपूर्वभन्दा बाहिर रहेका कार प्रेमीहरूको लगावलाई पनि समेट्न सकियोस्। 'बनेका प्रत्येक कार कलाका उत्कृष्ट नमुना हुन्,' उनले भने 'इन्जिनियरिङका यी अद्भुत चमत्कारहरूले नै मानव सभ्यताको निर्माण गरेका हुन् र यो क्रम भविष्यमा पनि जारी रहनेछ।'


प्रकाशित : शनिबार, असार २७ २०८३१४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend