मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

अर्थमन्त्रीले भने - करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २३ २०८३
अर्थमन्त्रीले भने - करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैन

आफ्नो नैतिकतामाथि उठाइएका प्रश्नहरूको कडा प्रतिवाद गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘यदि कसैले दुई रुपैयाँ मात्रै पनि बदमासी भएको प्रमाणित गर्छ भने म राजनीति नै छोडिदिन्छु।’

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा करका दरहरूमा देखिएका केही सामान्य त्रुटीहरूलाई इमान्दारीपूर्वक सच्याइएको बताएका छन्।

राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले भन्सार दर हेरफेरका क्रममा भएको एउटा प्राविधिक त्रुटीबारे स्पष्टीकरण दिँदै रगत र भ्याक्सिन बोक्ने विशेष क्यारियरको भन्सार दर ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गर्न खोजिएको जानकारी दिए।

सोही एचएस कोडअन्तर्गत प्लास्टिकका सुटकेसहरू पनि पर्ने भएकाले प्राविधिक रूपमा ती सामानको पनि दर घटेको र पछि त्यसलाई पुनः ३० प्रतिशत नै कायम गरिएकाले यसलाई ‘बढाइएको’ नभई ‘सच्याइएको’ बुझ्न उनले आग्रह गरे।

उनले भने, ‘हाम्रो नियत सफा थियो, तर वर्गीकरणका कारण प्लास्टिकका सुटकेसको पनि दर घट्न पुगेपछि मान्यज्यूहरूको हातमा पुस्तिका पर्नुअगावै मैले आफैँ हेरफेर गरेर छाप्न पठाएको हुँ।’

उनले विगतमा संसद्लाई जानकारी नै नदिइ रातारात दर्जनौँ भन्सार दरहरू परिवर्तन हुने गरेको स्मरण गराउँदै आफूले पारदर्शी ढंगले पत्र लेखेरै त्रुटी सच्याएको बताए।

आफ्नो नैतिकतामाथि उठाइएका प्रश्नहरूको कडा प्रतिवाद गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘यदि कसैले दुई रुपैयाँ मात्रै पनि बदमासी भएको प्रमाणित गर्छ भने म राजनीति नै छोडिदिन्छु।’

उनले सदनमा लगाइएका आरोपहरू निराधार र दुराशययुक्त भएको टिप्पणीसमेत गरे।

विद्युतीय सवारी साधनको सन्दर्भमा ५० लाख रुपैयाँभन्दामुनिको बजार मूल्य भएका गाडीहरूको भन्सार दर नबढोस् भन्ने नै सरकारको नीति रहेको उनले प्रस्ट पारे।

यस्तै आयकरको माथिल्लो सीमालाई ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झारिएको जानकारी दिँदै उनले यसबाट करको दायरा विस्तार हुने र करदातालाई स्वेच्छिक अनुपालनमा प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे।

बिजुलीमा लगाइएको भ्याटका सम्बन्धमा स्पष्ट पार्दै उनले ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई महशुल नबढ्ने गरी प्रणालीमा सुधार गर्न लागिएको बताए।

उनले भने, ‘उपभोक्तालाई मार नपर्ने गरी महसुल समायोजन गर्ने र प्रणालीलाई पारदर्शी बनाउने हाम्रो उद्देश्य हो।’

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको शुल्कबारे बोल्दै अर्थमन्त्रीले निजी विद्यालयमा खर्च गर्ने अभिभावकबाट लिइने ३ प्रतिशत शुल्क दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा खर्च गरिने र यो ‘प्रगतिशील कर’ को सिद्धान्त अनुरूप रहेको दाबी गरे।

राजस्व संकलनको लक्ष्य चुनौतीपूर्ण रहेको स्वीकार गर्दै उनले आन्तरिक राजस्व विभाग र भन्सार विभागमा सक्षम एवं इमानदार नेतृत्व चयन गरिएको र आगामी वर्ष १५८० अर्ब राजस्व उठाउने लक्ष्य पूरा गर्न सरकार दृढ रहेको बताए। उनले बजेटको विश्वसनीयता कायम राख्न घोषित आकारमै कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।


प्रकाशित : मंगलबार, असार २३ २०८३१८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend