आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

सकिँदै वर्षौँको सकस : दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २१ २०८३
सकिँदै वर्षौँको सकस : दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा

कालोपत्रे गर्दा सडक छिटो बिग्रने र सर्वसाधारणले निरन्तर सास्ती खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलानको विकल्प रोजेको हो।

काठमाडौं- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवलमा दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यस खण्डमा गरिएको ढलानको आयु कम्तीमा ३० वर्ष हुने आयोजनाले दाबी गरेको छ।

सडक विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको हो।

३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेको र यदि भार नियन्त्रण हुनसके र डिजाइनअनुसारका अन्य मापदण्डहरू पालना भए ४० वर्षसम्मै ढलान टिक्ने उनको दाबी छ। नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अब अन्त्य हुने उनको विश्वास छ।

‘हामीले ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेका छौँ। यदि भार नियन्त्रण भयो र डिजाइनअनुसारका अन्य मापदण्डहरू पालना भएमा यो सडक ३० देखि ४० वर्षसम्म टिक्नेछ, जसले गर्दा नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुनेछ' उनले भने। 

उनले सडकको भारवहन क्षमता एकल चक्कामा १० टन रहेको जानकारी दिए। आगामी २० देखि ३० वर्षको सवारी चापको पूर्वानुमानलाई आधार मानेर दैनिक १२ देखि २० हजार सवारीसाधन आवतजावत गर्दा पनि सडकमा कुनै क्षति नपुग्ने गरी यसको निर्माण गरिएको उनको भनाइ छ।

'दैनिक १२ देखि २० हजारसम्म सवारी साधन आवतजावत गरे पनि यो सडकलाई केही असर पर्दैन। हामीले आगामी तीन दशकको ट्राफिक फोरकास्टलाई हेरेर नै यो संरचना तयार गरेका हौँ’ उनले भने। 

हाल दाउन्ने मन्दिरमुनिको पहिरो प्रभावित क्षेत्रमा करिव ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी रहेको छ। सडकको एकातर्फको भाग पूर्णरूपमा सम्पन्न भइ सवारी आवागमन सुरु भइसकेको ढकालले बताए।

कालोपत्रे गर्दा सडक छिटो बिग्रने र सर्वसाधारणले निरन्तर सास्ती खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलान रोजेको हो। यससँगै दाउन्ने खण्डमा बर्सेनि हुने सडक अवरोध र मर्मतको समस्या दीर्घकालीनरूपमा समाधान हुने विश्वास सरकारले लिएको छ।

नारायणघाट-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भइ २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो। नारायणघाट-बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो।

निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक-पटक म्याद थप गरिएको थियो। अहिले चौथो पटक थपिएको म्यादमा काम अघि बढिरहेको छ। आयोजना सुरु भएको सात वर्ष पूरा हुँदा यस खण्डको यात्रा सहज हुँदै गएको छ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल करिब १७ अर्ब रुपैयाँ लागत रहेको छ।


प्रकाशित : आइतबार, असार २१ २०८३११:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend