काठमाडौं- चौधरी ग्रुपअन्तर्गत हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्ब्ली गर्दै आएको सीजी फ्युचर फ्याक्ट्री प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा ४ अर्ब १० करोड रुपैयाँबराबरको कारोबार गरेको छ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको अल्पकालीन ऋण रेटिङ (आईसीआरएएनपी) ए-४ लाई यथावत् राख्दै दीर्घकालीन ऋण रेटिङ फिर्ता लिएको छ। साथै कम्पनीलाई यसअघि राखिएको ‘इस्युअर नट कोअपरेटिङ’ श्रेणीबाट पनि हटाएको छ।
इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीले अप्रिल २०२४ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो। नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको एसेम्ब्ली प्लान्टमार्फत हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको एसेम्ब्ली गर्दै आएको कम्पनीले उत्पादन गरेका सम्पूर्ण सवारीसाधन आफ्नै भगिनी संस्था सीजी मोटर्स प्रालिमार्फत बिक्री गर्दै आएको छ।
कम्पनीको आम्दानी तीव्र रूपमा बढिरहेको देखिएको छ। सञ्चालन सुरु गरेको पहिलो तीन महिनाको अवधिमा ६८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो। चालु आर्थिक वर्षको पहिलो १० महिनामै कारोबार बढेर ४ अर्ब १० करोड ५० लाख रुपैयाँ पुगेको छ।
चौधरी ग्रुपको बलियो व्यावसायिक पृष्ठभूमि, नेपालको अटोमोबाइल क्षेत्रमा रहेको अनुभव, हिरो ब्रान्डको स्थापित पहिचान तथा कम्पनीले सुरुवाती वर्षमै देखाएको सशक्त बिक्री वृद्धिले रेटिङलाई सकारात्मक आधार प्रदान गरेको छ।
कम्पनीले भारतको अग्रणी दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पसँग प्राविधिक सहकार्य सम्झौतामार्फत एसेम्ब्ली सञ्चालन गरिरहेको छ। हिरो मोटोकर्प भारतीय बजारको सबैभन्दा ठूलो मोटरसाइकल निर्माता कम्पनीमध्ये एक हो।
यद्यपि कम्पनीको वित्तीय संरचना अझै दबाबमा रहेको इक्रा नेपालले जनाएको छ। मे २०२६ सम्म कम्पनीको कुल ऋण र खुद सम्पत्तिबीचको अनुपात ३.३ गुणा रहेको छ। यो अनुपात जुलाई २०२४ मा ४.१ गुणा थियो। सुधार देखिए पनि ऋणको स्तर अझै उच्च रहेको प्रतिवेदनले औंल्याएको छ।
कम्पनीको कार्यशील पुँजी आवश्यकता पनि उच्च छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा कम्पनीको नेट वर्किङ क्यापिटल सञ्चालन आम्दानीको ५१ प्रतिशत बराबर पुगेको छ। विशेषगरी सीजी मोटर्सबाट रकम उठाउन औसत १२१ दिन लाग्ने गरेकाले कम्पनीको नगद चक्र लम्बिएको इक्रा नेपालले विश्लेषण छ।
यही कारण कम्पनीले कार्यशील पुँजीका लागि बैंक ऋणमा ठूलो निर्भरता राख्नुपरेको छ। मध्य मे २०२६ सम्म कम्पनीले बैंकबाट प्राप्त कर्जा सीमाको करिब ९६ प्रतिशत उपयोग गरिरहेको थियो। कमजोर तरलता अवस्थाका कारण कम्पनीले केही ऋण भुक्तानीमा ढिलाइ समेत गरेको भए पनि ती ढिलाइ ३० दिनभित्रै सीमित रहेकाले डिफल्टको श्रेणीमा नपरेको इक्रा नेपालले जनाएको छ।
कम्पनीको नाफा सूचकमा भने सुधार देखिएको छ। सञ्चालन नाफा मार्जिन तीन महिनाको अवधिमा ६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा ६.२ प्रतिशत र चालु आर्थिक वर्षको पहिलो १० महिनामा ८.७ प्रतिशत पुगेको छ। ब्याज तिर्ने क्षमता सूचक (इन्ट्रेस्ट कभरेज रेसियो) पनि १.८ गुणाबाट बढेर ४.२ गुणा पुगेको छ। ऋण सेवा क्षमता अनुपात (डीएससीआर) १.७ गुणाबाट बढेर ३.६ गुणासम्म पुगेको छ।
तर कम्पनी अझै प्रतिस्पर्धात्मक जोखिममा रहेको इक्रा नेपालले जनाएको छ। नेपालमा बजाज, होन्डा, यामाहा र टिभिएसजस्ता स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ भने विद्युतीय मोटरसाइकल तथा स्कुटरको बढ्दो लोकप्रियताले पनि बजारमा चुनौती थपिरहेको छ।
त्यसैगरी कम्पनीको आम्दानी सीमित मोडेलमा केन्द्रित हुनु अर्को जोखिमका रूपमा औँल्याइएको छ। कम्पनीको कुल आम्दानीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा ‘सुपर स्प्लेन्डर’ मोटरसाइकल र ‘जुम जेडएक्स’ स्कुटरबाट मात्रै आउने गरेको छ।
कम्पनीको व्यवसाय सरकारी नीतिमा पनि निर्भर रहेको जनाएको छ। नेपाल सरकारले स्थानीय रूपमा एसेम्बल गरिएका सवारीसाधनका लागि पूर्ण रूपमा विघटन गरिएका (सीकेडी) पार्टपुर्जामा हाल उपलब्ध गराउँदै आएको भन्सार तथा अन्तःशुल्क सहुलियतका कारण यस्तो व्यवसाय आर्थिक रूपमा सम्भव भएको हो। भविष्यमा यस्ता सहुलियत घटे वा हटाइए कम्पनीको आम्दानी र नाफामा प्रत्यक्ष असर पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ।
सन् २०२३ मेमा स्थापना भएको कम्पनीमा सारिका चौधरीको ६० प्रतिशत र निर्वाण कुमार चौधरीको ४० प्रतिशत स्वामित्व रहेको छ। निर्वाण चौधरी कम्पनीका अध्यक्षसमेत हुन्। चौधरी ग्रुपले नेपालमा हिरो ब्रान्डका मोटरसाइकल र स्कुटरको बिक्री तथा वितरण वर्षौँदेखि गर्दै आएको छ भने सीजी फ्युचर फ्याक्ट्री त्यसैको स्थानीय एसेम्ब्ली इकाइका रूपमा स्थापना गरिएको हो।