सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

उपदान तथा पेन्सन कोषको ७ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १ २०८३
उपदान तथा पेन्सन कोषको ७ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

राष्ट्र बैंकको वित्त व्यवस्थापन विभाग अन्तर्गतको अवकाश कोष इकाईले सूचना जारी गर्दै इजाजतपत्र  बैंक तथा वित्तीय संस्थाहरुसँग ब्याजदर प्रस्ताव आह्वान गरेको हो।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको कुल ७ अर्ब रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। 

राष्ट्र बैंकको वित्त व्यवस्थापन विभाग अन्तर्गतको अवकाश कोष इकाईले सूचना जारी गर्दै इजाजतपत्र बैंक तथा वित्तीय संस्थाहरुसँग ब्याजदर प्रस्ताव आह्वान गरेको हो। 

राष्ट्र बैंकले कुल ३६६ दिनको अवधिका लागि यो रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्न लागेको हो।  कुल लगानी योग्य रकम मध्ये  वाणिज्य बैंकहरुमा ५ अर्ब ६० करोड रुपैयाँ,  राष्ट्रिय स्तरका विकास बैंकहरुमा १ अर्ब ५ करोड रुपैयाँ र  राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ३५ करोड रुपैयाँ लगानी गर्ने भएको हो।

लगानी प्रकृयामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत भन्दा कम भएको हुनुपर्ने शर्त राखिएको छ। साथै, संस्थाको खूद निष्कृय कर्जा अनुपात ३ प्रतिशतभन्दा बढी नभएको, खुद तरल सम्पत्ति र कर्जा निक्षेप अनुपात तोकिएको सीमा भित्र रहेको तथा निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफा कमाएको हुनुपर्नेछ।  

असार ३ गते साँझ ७ बजेभित्र इमेल ठेगानामा प्राप्त हुने गरी ब्याजदर प्रस्ताव गरिसक्नुपर्नेछ। तोकिएको मापदण्ड पूरा गरेका संस्थाहरु मध्ये सबैभन्दा बढी ब्याजदर कबोल गर्ने संस्थामा रकम लगानी गरिने र मुद्दती निक्षेपको ब्याज त्रैमासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।  


प्रकाशित : सोमबार, असार १ २०८३१८:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend