सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ठेकेदारप्रति पूर्वाधारमन्त्रीको हप्कीदप्की, भन्छन् - काम गरेन भने खुट्टा भाँच्दिने

सोमबार, असार १ २०८३
ठेकेदारप्रति पूर्वाधारमन्त्रीको हप्कीदप्की, भन्छन् - काम गरेन भने खुट्टा भाँच्दिने

निर्माण व्यवसायीहरूले आफूहरूप्रतिको व्यवहार सही नभएको बताउँदै आइरहेका छन्। यसअघि पूर्वाधारमन्त्री लम्सालले नै निर्माण व्यवसायीलाई कुराकानीका लागि भन्दै प्रहरी लगाएर पक्राउ गरी मन्त्रालयमा लगेको विषयमा समेत विरोध भएको थियो।

काठमाडौं- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ठेकेदारप्रति धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्। नौबिसे-मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारविरुद्ध  अभिव्यक्ति दिँदै उनले हप्कीदप्की गरेका हुन्। 

नौबिसे-मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले आइतबार ठेकेदारप्रति त्यस्तो अभिव्यक्ति दिएका हुन्। 'त्यो पोलवाला छ नि बिजुलीको पोल त्यो कन्ट्याक्टर कहाँ छ, तेल्लाई पनि यहीँ राख्नू। घर पठाउने हैन.... त्यसले काम गरेन भने खुट्टा भाँच्दिने... मतलब भएन' प्रहरीलगायतका अन्य कर्मचारीहरूसँग उनले भनेका छन्। 

आइतबार पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा-मुग्लिन सडकखण्ड बिस्तारको प्रगति बुझ्न धादिङ गएका मन्त्री लम्सालले पूर्वी खण्ड (नौबिसे–मलेखु खण्ड) अनुगमनको क्रममा घाटबेसीमा उक्त अभिव्यक्ति दिएका हुन्।

सडक निर्माणको जिम्मा पाएका ठेकेदार प्रतिनिधि र आयोजनाका अधिकारीहरुले नेपाल विद्युत् प्राधिकरणले ठेक्का दिएको ठेकेदार कम्पनीले बिजुलीका पोल सार्न ढिलाइ गर्दा काम गर्न गाह्रो भएको जानकारी गराएसँगै मन्त्री लम्सालले ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएका हुन्।

पूर्वी खण्डमा बिजुलीका पोल सार्न नेपाल विद्युत् प्राधिकरणले सोहन कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ।

नागढुंगादेखि मुग्लिनसम्मको खण्डमा बिजुलीका पोल सार्न मात्रै १२ करोड रुपैयाँ भन्दा बढी खर्च हुने इस्टिमेट गरिएको छ। पूर्वी खण्डमा मात्रै ६ करोड रुपैयाँ भन्दा बढी खर्च लाग्ने अनुमान छ। 

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभा सदस्य उम्मेद्‍वार रहेको समयमा पनि ठेकेदारप्रति यस्तै अराजक अभिव्यक्ति दिएका थिए।  धनगढीमा आयोजित रास्वपाको चुनावी सभामा उनले  दिएको अभिव्यक्तिप्रति निर्माण व्यवसायीहरूले आपत्ति जनाएका थिए।

'दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नु पर्ने त्यो हो हाम्रो एजेण्डा, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नु पर्‍यो' उनले भनेका थिए। 

सरकार बनेपछि नै पनि निर्माण व्यवसायीहरूले आफूहरूप्रतिको व्यवहार सही नभएको बताउँदै आइरहेका छन्। यसअघि पूर्वाधारमन्त्री लम्सालले नै निर्माण व्यवसायीलाई कुराकानीका लागि भन्दै प्रहरी लगाएर पक्राउ गरी मन्त्रालयमा लगेको विषयमा समेत विरोध भएको थियो। 


प्रकाशित : सोमबार, असार १ २०८३१३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend