काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा सरकारको खर्च र आम्दानीमा सामान्य वृद्धि भएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार आम्दानी र खर्चको वृद्धिदर ५ प्रतिशतको सीमामा रहेको छ।
११ महिनामा राजस्व ६.४६ प्रतिशतले बढेको, कूल आम्दानी भने ६.३३ प्रतिशतले बढेको छ। कूल खर्च ४.९ प्रतिशतले बढेको छ। जसमा पुँजीगत खर्च भने गत वर्षको तुलनामा घटेको छ। गत वर्षको ११ महिनामा १ खर्ब ४३ अर्ब खर्च भएकोमा यो वर्ष भने १ खर्ब ३२ अर्बमा सीमित भएको छ।
एक महिना बाँकी हुँदा लक्ष्यको तुलनामा खर्च र आम्दानी धेरै न्यून रहेक छ।
तथ्यांक अनुसार राजस्व लक्ष्यको ७३ प्रतिशत संकलन भएको छ। चालु वर्षमा १४ खर्ब ८० अर्ब संकलनको लक्ष्य रहेकोमा जेठ मसान्तसम्म १० खर्ब ८१ अर्बमात्र संकलन भएको छ। यो लक्ष्यको ७३ प्रतिशत हो।
त्यस्तै कुल आम्दानी पनि १५ खर्ब ३३ अर्बको लक्ष्य रहेकोमा जेठसम्म ११ खर्ब १० अर्बमै सीमित भएको छ।
आम्दानीको तुलनामा खर्च झन् कमजोर रहेको छ। ११ महिनामा खर्च लक्ष्यको ६८ प्रतिशतमात्र भएको छ। कूल खर्च १९ खर्ब ६४ अर्बको राखिएकोमा ११ महिनामा १४ खर्ब ४६ अर्क भएको छ।
यसमा चालु खर्च ७६ प्रतिशत भएको छ भने पुँजीगत खर्चको अवस्था दयनीय ३२ प्रतिशतमै सीमित छ। ऋणको दायित्व भुक्तानीमा खर्च हुन वित्तीय व्यवस्थाको खर्च भने सबेभन्दा धेरै ८१ प्रतिशत खर्च भएको छ।
