सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अमेरिका-इरानबीच युद्धविराम सम्झौता, ३० दिनभित्र नाकाबन्दी हट्ने, स्टेट अफ हर्मुज पुनः खुल्ने

सोमबार, असार १ २०८३
अमेरिका-इरानबीच युद्धविराम सम्झौता, ३० दिनभित्र नाकाबन्दी हट्ने, स्टेट अफ हर्मुज पुनः खुल्ने

दुवै देशले युद्धविराम सम्झौतामा सहमति जनाएका छन्।

काठमाडौं- महिनौँदेखि जारी अमेरिका–इरान युद्ध अन्त्यतर्फ महत्वपूर्ण कूटनीतिक प्रगति भएको छ। दुवै देशले युद्धविराम सम्झौतामा सहमति जनाएका छन्, जसअनुसार तत्कालका लागि ६० दिनसम्म युद्ध रोकिने, स्टेट अफ हर्मुज पुनः सञ्चालनमा आउने र अमेरिकाले इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी ३० दिनभित्र हटाउने तयारी गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँगको सम्झौता पूरा भएको घोषणा गरेका छन्। उनले 'इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब सम्पन्न भएको छ' भन्दै यसले युद्ध अन्त्यतर्फ महत्वपूर्ण मोड ल्याएको दाबी गरेका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि लामो र कठिन वार्तापछि दुवै देशबीच समझदारीपत्र (मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ) अन्तिम रूप दिइएको पुष्टि गरेको छ।

इरानी राज्य सञ्चारमाध्यमका अनुसार सम्झौतामा अमेरिकाले इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी ३० दिनभित्र हटाउने विषय प्रमुख बुँदामा समेटिएको छ। यो नाकाबन्दी इरानले स्टेट अफ हर्मुज बन्द गरेपछि अमेरिकाले अप्रिल १३ देखि लागू गरेको थियो। त्यसपछि अमेरिकी सेनाले क्षेत्रीय समुद्री मार्गमा कडा नियन्त्रण गर्दै नौ वटा जहाज निष्क्रिय बनाएको र १३५ भन्दा बढी जहाजको मार्ग परिवर्तन गराएको विवरण पनि सार्वजनिक भएको छ।

स्टेट अफ हर्मुज विश्वको अत्यन्त महत्वपूर्ण ऊर्जा मार्ग हो, जहाँबाट करिब २० प्रतिशत विश्व तेल र ग्यास आपूर्ति हुन्छ। युद्धका कारण फेब्रुअरीदेखि यो जलमार्ग प्रभावकारी रूपमा बन्दजस्तै अवस्थामा पुगेको थियो, जसले विश्व ऊर्जा बजारमा ठूलो दबाब सिर्जना गरेको थियो। अहिले सम्झौतापछि उक्त जलमार्ग पुनः सञ्चालनमा आउने संकेतले अन्तर्राष्ट्रिय बजारमा राहतको अपेक्षा गरिएको छ।

सम्झौतापछि अमेरिकी राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा स्टेट अफ हर्मुज अब 'स्थायी रूपमा शुल्कमुक्त' रहने बताएका छन्। उनले यदि इरानसँग अन्तिम आणविक सम्झौता हुन सकेन भने अमेरिकाले पुनः सैन्य कारबाही गर्न सक्ने चेतावनी पनि दिएका छन्। ट्रम्पले अमेरिका आवश्यक परे मध्यपूर्वको सुरक्षा व्यवस्थामा निर्णायक भूमिका खेल्न तयार रहने संकेतसमेत गरेका छन्।

सम्झौतापछि इरानका उपविदेशमन्त्रीले अब थप वार्ता स्विट्जरल्यान्डमा हुने बताएका छन्। उनका अनुसार शुक्रबार औपचारिक हस्ताक्षरपछि ६० दिनसम्म आणविक वार्ता सुरु हुनेछ। तर त्यो प्रक्रिया सुरु हुनुअघि अमेरिकाले रोक्का राखेको अर्बौं डलर बराबरको इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने सर्त इरानले अघि सारेको छ।

यसैबीच अमेरिकी सिनेटर लिन्ड्से ग्राहमले सम्झौताप्रति समर्थन जनाए पनि यसको व्याख्यामा दुवै पक्षबीच फरक दृष्टिकोण देखिएको भन्दै सतर्कता अपनाउनुपर्ने बताएका छन्। उनले अन्तिम सम्झौताको विस्तृत पाठ सार्वजनिक भएपछि मात्रै यसको वास्तविक प्रभाव स्पष्ट हुने प्रतिक्रिया दिएका छन्।

सम्झौताको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा तुरुन्त प्रभाव देखिएको छ। एशियाली बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य करिब ३.८ प्रतिशतले घटेर प्रति ब्यारेल ८४ डलर आसपास पुगेको छ भने अमेरिकी क्रुड तेल पनि करिब ४ प्रतिशतले घटेको छ। विश्लेषकहरूका अनुसार स्टेट अफ हर्मुज खुल्ने संकेतले विश्व ऊर्जा आपूर्तिमा स्थिरता आउने अपेक्षा गरिएको छ।

फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको हवाई आक्रमणपछि सुरु भएको युद्धले पश्चिम एसियामा गम्भीर संकट निम्त्याएको थियो। हजारौँको ज्यान गएको, ऊर्जा आपूर्ति प्रभावित भएको र विश्व अर्थतन्त्रमा समेत अस्थिरता बढेको अवस्थामा आएको यो युद्धविरामलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ। यद्यपि दीर्घकालीन शान्ति भने आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र क्षेत्रीय सुरक्षा व्यवस्थासम्बन्धी आगामी वार्तामा निर्भर रहने विश्लेषकहरूको भनाइ छ।


प्रकाशित : सोमबार, असार १ २०८३०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend