आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मध्यम वर्गलाई राहतको भ्रम छरेर उल्टै आर्थिक भार थपिएको छ : गगन थापा

आइतबार, जेठ ३१ २०८३
मध्यम वर्गलाई राहतको भ्रम छरेर उल्टै आर्थिक भार थपिएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले वर्तमान सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई राहत दिने भ्रम सिर्जना गरेर उल्टै आर्थिक भार थपिएको बताएका छन्।

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले वर्तमान सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई राहत दिने भ्रम सिर्जना गरेर उल्टै आर्थिक भार थपिएको बताएका छन्।

काँग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आइतबार सानेपामा आयोजित ‘सुवर्णशमशेर इकोनोमिक सिरिज’ को पहिलो कार्यक्रममा बोल्दै थापाले सरकारले आयकरको सीमा १० लाख रुपैयाँसम्म पुर्‍याएर मध्यम वर्गलाई खुशी पार्न खोजे पनि अन्य शीर्षकमा गरिएको कर वृद्धिका कारण आम नागरिकको ढाड सेकिने अवस्था आएको बताएका हुन।

उनले सरकारले अगाडिको गोजीमा २० हजार रुपैयाँ राखिदिए जस्तो गरेर पछाडिको गोजीबाट ३२ देखि ३४ हजार रुपैयाँ निकालिसकेको टिप्पणी गर्दै बजेटले देखाएको राहत वास्तविक नभएको बताए।

शिक्षामा ३ प्रतिशत समता शुल्क, स्वास्थ्यमा थप शुल्क र ५० युनिटभन्दा बढी विद्युत् खपतमा १३ प्रतिशत भ्याट लगाइएकाले मध्यम वर्गको वार्षिक खर्च उल्लेख्य रूपमा बढ्ने उनले बताए। निजी विद्यालय र अस्पताल राज्यको कमजोरीका कारण नागरिकको बाध्यता बनेको उल्लेख गर्दै ती क्षेत्रमा थप कर लगाउनु गलत भएको उनको भनाइ थियो।

राजस्व परिचालन र ऋणको उत्पादकत्वमा प्रश्न उठाउँदै थापाले सरकारले प्रस्तुत गरेको राजस्व लक्ष्य आधारहीन रहेको बताए। बजारमा आर्थिक गतिविधि सुस्त रहेको, घरजग्गा कारोबार घटेको र बैंकमा तरलता थुप्रिएको अवस्थामा ठूलो राजस्व वृद्धि सम्भव नभएको उनले बताए।

ऋणका विषयमा अर्थमन्त्रीको विगत र वर्तमान धारणा बाझिएको उल्लेख गर्दै थापाले ऋणको मात्रा भन्दा त्यसको उत्पादकत्व महत्वपूर्ण हुने बताए। 'ऋण कति लिने भन्दा पनि कुन कामका लागि लिने र त्यसले कस्तो प्रतिफल दिन्छ भन्ने मुख्य कुरा हो,' उनले भने।

कृषि क्षेत्रमा मल खरिदका लागि विनियोजित बजेट अपर्याप्त रहेको भन्दै उनले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार आवश्यक परिमाणमा मल उपलब्ध गराउन अझ बढी बजेट आवश्यक पर्ने बताए।

सूचना प्रविधि (आईटी) क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा सरकारले आफैं एप बनाउने जस्ता कार्यमा लाग्नुले क्षेत्र संकुचित हुने उनको धारणा थियो। भूमि बैंक स्थापना र भू–उपयोग नियमावलीमार्फत कृषि क्षेत्रमा संरचनागत सुधार गर्न सकिने अवसर हुँदाहुँदै सरकार त्यसतर्फ नलागेको उनले बताए।

विधिको शासनबारे टिप्पणी गर्दै थापाले सरकारले ‘विधिको शासन’ भन्दा ‘विधिद्वारा शासन’ गर्न खोजेकोमा चिन्ता व्यक्त गरे। कानूनलाई स्वार्थअनुसार प्रयोग गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य कमजोर बनाउने चेतावनी पनि उनले दिए।

कार्यक्रममा नेपाली कांग्रेसले अबदेखि प्रत्येक महिना आर्थिक विषयमा प्राज्ञिक छलफल गर्ने उद्देश्यले ‘सुवर्णशमशेर इकोनोमिक सिरिज’ सञ्चालन गर्ने जानकारी समेत दिइएको थियो।


प्रकाशित : आइतबार, जेठ ३१ २०८३१८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend