काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा मुलुकभर खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ४.२१ प्रतिशतको गिरावट आएको छ। गत वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९२ प्रतिशतले मात्र घटेको थियो।
राष्ट्र बैंकको तथ्यांक अनुसार समग्र खाद्य तथा अन्य बालीको क्षेत्रफललाई हेर्दा धान बालीको हिस्सा सबैभन्दा धेरै ३६.८२ प्रतिशत छ। प्रमुख खाद्य बालीमध्ये मकैले २३.४६ प्रतिशत र गहुँ बालीले १४.२२ प्रतिशत क्षेत्रफल ओगटेका छन्।
त्यसैगरी कोदो बालीको क्षेत्र ५.५८ प्रतिशत रहँदा जौ बालीको हिस्सा भने सबैभन्दा कम अर्थात् ०.३९ प्रतिशत मात्र देखिएको छ।
यसअवधिमा कर्णाली प्रदेशमा मात्र खाद्य तथा अन्य बालीको उत्पादनमा सुधार आएको छ भने कर्णालीबाहेकका अन्य सबै प्रदेशहरूमा यसको कुल उत्पादन घटेको पाइएको छ।
धान बालीको कुल उत्पादनमा प्रादेशिक योगदानलाई हेर्दा कोशी प्रदेशको हिस्सा सबैभन्दा बढी २५.७६ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम २.५४ प्रतिशत मात्र सीमित हुन पुगेको छ।
खाद्य बालीको क्षेत्रफल घटे पनि समीक्षा अवधिमा तरकारी, बागवानी र फलफूल खेतीतर्फ सकारात्मक वृद्धि देखिएको छ। तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ९.१० प्रतिशतले बढेको छ। जुन गत वर्षको सोही अवधिको ०.४१ प्रतिशतको वृद्धिको तुलनामा निकै उत्साहजनक हो।
प्रादेशिक रूपमा तरकारी तथा बागवानीको उत्पादन मधेश, बागमती र लुम्बिनी प्रदेशमा बढेको छ भने बाँकी रहेका अन्य सबै प्रदेशहरूमा यसको उत्पादनमा ह्रास आएको छ। यस्तै फलफूल बालीले ढाकेको क्षेत्रफलमा पनि ०.७९ प्रतिशतको सामान्य वृद्धि दर्ता भएको छ, जबकि गत वर्षको सोही अवधिमा यस्तो बालीको क्षेत्रफल १.३८ प्रतिशतले बढेको थियो।
फलफूल बालीको उत्पादनतर्फ मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वृद्धि देखिए पनि कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा भने उत्पादन घटेको छ।
अर्कोतर्फ, मसला बालीको उत्पादनमा भने यस वर्ष पनि संकुचन जारी रहेको देखिन्छ। समीक्षा अवधिमा मसला बालीको समग्र उत्पादनमा ५.७० प्रतिशतको गिरावट आएको छ, यद्यपि गत वर्षको सोही अवधिमा १७.९४ प्रतिशतको ठूलो गिरावट आएको तुलनामा यस वर्ष ह्रासको दर केही कम हो।
प्रादेशिक स्तरमा मसलाको उत्पादन गण्डकी र लुम्बिनी प्रदेशमा बढ्न सके पनि कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यसको उत्पादन घटेको तथ्याङ्कले देखाउँछ।
