शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

अन्तर्राष्ट्रिय आलु दिवस : ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, जेठ १६ २०८३
अन्तर्राष्ट्रिय आलु दिवस : ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’
फाइल तस्बिर

काठमाडौं- आज अन्तर्राष्ट्रिय आलु दिवस हो। ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)को आह्वानमा सन् २०२४देखि यो दिवस मनाउन प्रारम्भ भएको हो। सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो दिवस मनाइँदैछ।

यो दिवसले आलु उत्पादन, वितरण तथा उपभोगसँग जोडिएका किसानदेखि मूल्य शृङ्खलासम्मका सबै सरोकार भएकालाई समेट्दै दिगो तथा समावेशी कृषि-खाद्य प्रणाली प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ। आलु, वैज्ञानिक नाम सोलानम ट्युबेरोसम हो। विश्वका अर्बौँ मानिसको नियमित आहारमा समावेश हुने प्रमुख बालीमध्ये एक हो।

एफएओका अनुसार आलु विश्वका१५९ देशमा खेती गरिन्छ भने यसको करिब ५ हजार प्रजातिहरू विश्वभर पाइन्छन्। करिब ८ हजार वर्षदेखि मानव सभ्यतासँग जोडिएको यो बाली आज पनि उत्तिकै महत्वपूर्ण खाद्य सुरक्षा र जीविकोपार्जनको आधारका रूपमा रहँदै आएको छ।

उच्च पहाडी क्षेत्रदेखि समथर भू-भागसम्म विविध कृषि प्रणालीमा खेती गरिने आलुले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यसको उत्पादनले ग्रामीण तथा सहरी दुवै क्षेत्रमा रोजगारी सिर्जना गर्दै गरिबी न्यूनीकरणमा सहयोग पुर्‍याएको छ। साना किसानदेखि ठूला व्यावसायिक कृषि फार्मसम्म फैलिएको यस बालीले विश्वका विभिन्न महादेशमा आर्थिक गतिविधि चलायमान बनाएको छ।

यस दिवसले सन् २००८ मा मनाइएको अन्तर्राष्ट्रिय आलु वर्षको उपलब्धिलाई निरन्तरता दिँदै आलु बालीको महत्वलाई अझ उजागर गर्ने उद्देश्य राखेको छ। विशेषगरी साना पारिवारिक किसान, जसमध्ये उल्लेख्य सङ्ख्या महिला किसानको रहेको छ, उनीहरूले आलुको विविध प्रजाति संरक्षण र प्रवद्र्धनमा खेलेको भूमिकालाई पनि यस अवसरमा सम्मान गरिनेछ।

त्यसैगरी आलुको सांस्कृतिक तथा पाक परम्परासँग जोडिएको विविधतालाई पनि विश्वव्यापी रूपमा मनाइने यो दिवसले उजागर गर्ने अपेक्षा गरिएको छ। संयुक्त राष्ट्रसंघले बढ्दो भोकमरी, गरिबी र जलवायु परिवर्तनजस्ता चुनौती सामना गर्न दिगो कृषि प्रणालीको विकासमा आलुजस्ता बालीको योगदान महत्वपूर्ण हुने जनाएको छ। रासस


प्रकाशित : शनिबार, जेठ १६ २०८३१५:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend