शुक्रबार, मंसिर २८ गते २०८१    
images
images

'दुई वर्षभित्र सबै घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत'

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १४ २०७८
images
images
'दुई वर्षभित्र सबै घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत'
images
images

कास्की- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकमा निर्माण गरिएको ‘लाहाचोक १३२/३३/११ केभी’ प्रसारण लाइन सवस्टेशनको उद्घाटन गरेकी छिन्।

images
images
images

मन्त्री भुसालले आगामी दुई वर्षभित्रमा सबै नेपालीका घरमा केन्द्रीय प्रसारण लाइनको विद्युुत् पुर्‍याउने गरी सरकारले नीति, कार्यक्रम र योजना बनाएको उल्लेख गरिन्। उनले नेपालका नदी, नालाबाट अधिकतम विद्युत् उत्पादनका लागि देशभित्रको लगानीसहित अन्तर्राष्ट्रिय लगानी र साझेदारी खोजिने बताइन्। 

images

उनले भनिन्, 'राजनीतिक प्रणालीमा परिवर्तनपछि जलविद्युत्को विकासमा सरकारी प्रयास अघि बढेको छ। निजी क्षेत्रका लागि पनि यो खुला गरिएको छ। अहिले बत्तीका लागि होइन ऊर्जाका हरेक क्षेत्रमा विद्युत् प्रयोग गर्ने र पेट्रोलियम पदार्थ, दाउरा र एलपी ग्यासलाई विस्थापित गर्ने अवस्थामा पुगेका छौँ।' पानीलाई बिजुलीमा रुपान्तरण गरेर बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी अहिलेको असन्तुलित व्यापार घाटा सन्तुलनमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको मन्त्री भुसालले बताइन्।

images

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको र सो विद्युत् नेपालमा मात्र खपत हुन नसक्ने भएकाले आन्तरिक खपतमा वृद्धि गर्दै विद्युत् व्यापारका लागिसमेत कार्य अघि बढाइको मन्त्री भुसालको भनाइ थियो। उनले भनिन्, 'गत वर्ष भारतसँग ७५ मेगावाट विद्युत् बिक्री गरेर व्यापारको सुरुआत गरेका छौँ। आगामी वर्ष ५०० देखि ७०० मेगावाट विद्युत् बिक्री गर्ने योजना छ।' 

देशभित्र हाल कुलेखानीबाहेकको अर्को रिजर्भ (जलाशययुक्त) आयोजना नहुँदा हिउँद याममा भारतसँग बिजुली खरिद गर्नुपर्ने बाध्यता रहे पनि अर्को वर्षदेखि आत्मनिर्भर बन्ने अवस्था आउने मन्त्री भुसालले बताइन्। 

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सवस्टेशनलगायत प्रसारण लाइन निर्माणका क्रममा स्थानीयवासी प्रभावित भएकाले सरकारले उचित मुआब्जा दिनुपर्ने बताए। उनले भने, 'सवस्टेशन र प्रसारण लाइनका टावर राख्ने क्रममा यहाँका बासिन्दा पीडित छन्। उनीहरुलाई चित्त बुझाउने काम सरकारले गर्नुपर्छ।' 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले लाहाचोक सवस्टेसन निर्माण र सञ्चालनसँगै विद्युत् आपूर्ति र गुणस्तरमा सुधार आउने बताए। उनले स्थानीय जनताको सहयोगप्रति आभार व्यक्त गरे।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ मोदी-लेखनाथ प्रसारण लाइन र यसअन्तर्गतका सवस्टेशनबाट ग्रामीण क्षेत्रसहित पोखराको आधा भूभागमा विद्युत् सेवामा सुधार आउने बताए। राष्ट्रिय प्रसारण लाइन नपुगेका कास्कीका विकट गाउँमा समेत विद्युत् विस्तार गर्न प्राधिकरण तत्पर रहेको उनको भनाइ थियो। 

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले गाउँपालिकाअन्तर्गत हाल मर्दी खोलामा दुई र सार्दीखोलामा एक जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको र सेतीमा दुई आयोजना निर्माणका क्रममा रहेको जानकारी दिए। उनले गाउँपालिकाबाट १४३ मेगावाट जलविद्युत् केही महिनाभित्रमा राष्ट्रिय प्रसारणमा जोडिने भएकाले जलस्रोतबाट नै पालिकाको समृद्धि हुने विश्वास व्यक्त गरे। 

नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र भारतको एक्जिम बैंकको ऋण लगानीमा सो सवस्टेशन निर्माण गरिएको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए। कास्कीको मर्दीखोला, सेती नदी तथा पर्वतको मोदीखोला र यस आसपासका नदीबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी निर्माणाधीन ४२ किमी लामो नयाँ मोदी-लेखनाथ प्रसारण लाइनअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले सो सवस्टेशन निर्माण गरिएको हो। 

सवस्टेशन नयाँ मोदी-लेखनाथ प्रसारण लाइनअन्तर्गत मोदी जलविद्युत् केन्द्र हुँदै राष्ट्रिय ग्रिडमा जडान भएको र निकट भविष्यमा लेखनाथ १३२ केभी सवस्टेसनमा जोडिने आयोजनाले जनाएको छ। यहाँ जम्मा हुने विद्युत् पोखरास्थित राष्ट्रिय प्रसारण लाइनमा जोड्न अहिले प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको नयाँ मोदी-लेखनाथ प्रसारण लाइन आयोजनाले जनाएको छ। यसको लागत एक अर्ब पाँच करोड रूपैयाँ रहेको छ। भारतको हिताक्षी इनर्जी कम्पनीसँग सन् २०१८ जुन २१ मा निर्माण सम्झौता भएर सन् २०२१ डिसेम्बर २९ मा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, चैत १४ २०७८१४:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend