काठमाडौं- गत असार १ मा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको भविष्य नै संकटमा आउन सक्ने देखिएपछि सरकारले विकल्पमा जाने तयारी गरेको छ। मेलम्ची खानेपानी चैत मसान्तासम्म काठमाडौं ल्याउन आयोजनाको काम गरिरहेको छ। तर आउने नआउने टुंगो छैन।
खासगरी भविष्यमा काठमाडौं उपत्यकामा ल्याउने भनिएको लार्के र यांग्रीको पानी ल्याएर मेलम्चीमा मिसाउन सक्ने कि नसक्ने भन्ने विषयमा अध्ययन भइरहेका बेला सरकारले विकल्पमा कुलेखानी र मकवानपुरको सिस्नेरी खोलाको अध्ययन गर्ने भएको छ।
‘अहिले एसीयाली बिकास बैंक (एडीबी)ले भविष्यमा लार्के र याँग्रीको पानी मेलच्चीमार्फत ल्याउन सकिने कि नसकिने भन्ने विषयमा अध्ययन गरिरहेको छ,’ खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले भने।
भविष्यमा विकल्पहरू आवश्यक पर्ने भएकोले कुलेखानी र सिस्नेरी खोलबाट पानी ल्याउने विषयमा छलफल चलेको जानकारी दिए। ‘आगामी आर्थिक वर्षमा दुवै स्थानको अध्ययन गरिने छ, अहिले एडीबीको प्रतिवेदन कुरीरहेका छौँ,’ आचार्यले भने। एडीबीको परामर्शदाताले चैत मसान्तभित्र प्रतिवेदन दिएपछि सरकार नयाँ विकल्पमा जानेसमेत आचार्यले बताए।
विगतमा इटालियन कम्पनीले आयोजना छाडेर हिँडेपछि आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी सिने हाइड्रोलाई दिइएको थियो। अहिले सोही कम्पनीलाई अस्थायी संरचनामार्फत चैत मसान्तसम्म पानी काठमाडौं ल्याउने र अन्य बाँकी काम असार मसान्तसम्म सकिनेगरी कामको जिम्मा दिएको छ।
लार्के र याँग्री नभए माग धान्न मुस्किल
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको आयोजनाको रुपमा सरकारले लार्के र याँग्रीलाई राखेको छ। मेलच्चीको काम सम्पन्न भएपछि उक्त परियोजनामा काम गर्ने तयारी सरकारले गरेको थियो। बाढी आएसँगै अहिले अब शंका उत्पन्न भएकोले नयाँ विकल्पका बारेमा अध्ययन हुन लागेको सचिव आचार्य बताउँछन्।
मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर मात्रै पानी काठमाडौं आउने छ। तर काठमाडौंका एक तिहाइ जनसंख्यालाई पनि यति पानीले नपुग्ने अवस्था रहेको छ। केही समयअघि काठमाडौंमा ४३ करोड लिटर पानीको माग रहेको अध्ययनले देखाएको छ। अहिले माग बढेर ४५ करोड लिटर भइसकेको समेत मन्त्रालयको बुझाइ छ।
दुई खोला मिसाएर भविष्यमा ५१ करोड लिटर ल्याउने योजना सरकारको थियो। ‘मेलम्ची आयोजनाको दोस्रो चरणमा काम भएन भने सिस्नेरी वा कुलेखानीमध्ये एकबाट काठमाडौंमा पानी ल्याउने प्रक्रिया सुरु हुन्छ,’ आचार्यले भने।
उनका अनुसार कुलेखानीको ड्यामका रहेको पानीलाई प्रोसेसिङ गरेर पानी ल्याउने साथै सिस्नेरी खोलाको विषयमा पनि अध्ययन भइरहेको छ। एडीबीको प्रतिवेदन आएपछि नयाँ प्रक्रियामा अगाडि बढ्ने तयारी मन्त्रालयको रहेको छ। दुवै खोलाको अध्ययनपछि उपत्यकामा कति पाउन ल्याउन सकिन्छ भनेर प्रतिवेदन आउनेसमेत सचिव आचार्यले बताए।
दुई साताअगाडि उपत्यकाका मेयर सिस्नेरीमा
दुई साता अगाडि काठमाडौं, भक्तपुर र ललितपुरका मेयर सिस्नेरी खोलाको अवलोकनमा गएका थिए। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी समितिका सदस्यहरूले मकवानपुरको सिस्नेरी खानेपानी आयोजनाको ड्याम निर्माणको विषयमा अवलोकनमा गएका थिए।
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसहित ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको टोली आयोजनास्थल पुगेको थिए।
सिस्नेरी खानेपानी आयोजनाको अनुमानित लागत २० अर्ब रुपैयाँ रहेको अनुमान समेत गरिएको छ। साथै आयोजनाले ६० मिटरको ड्याम निर्माण गरी करिब ७.८ अर्ब लिटर बराबरको पानी अट्ने क्षमतासहितको ड्याम बन्ने समेत प्रारम्भिक अध्ययनमा देखिएको छ।