काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदर र प्रिमियम दरका सम्बन्धमा ध्यान दिन ग्राहकहरूलाई आग्रह गरेको छ।
केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले कर्जा लिने प्रक्रियामै यस्ता प्राविधिक कुराहरूमा प्रष्ट हुन सचेत गराएको हो।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील हुने गर्दछ। स्थिर ब्याजदर तोकिएको अवधिसम्म परिवर्तन हुँदैन भने परिवर्तनशील ब्याजदर संस्थाको आधार दरमा आउने परिवर्तनअनुसार थपघट हुने गर्छ। परिवर्तनशील ब्याजदरमा कर्जा प्रदान गर्दा बैंकहरूले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्छन्, जुन ऋणीको जोखिम मूल्याङ्कनको आधारमा तय गरिन्छ।
राष्ट्र बैंकको नियमअनुसार एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरेर कर्जा स्वीकृत भइसकेपछि बैंकले प्रिमियम दर वृद्धि गर्न पाउँदैनन्। साथै, सुरुमा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजनाहरू लागू गर्न समेत प्रतिबन्ध लगाइएको छ।
त्यसैले परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दरका सम्बन्धमा कर्जा प्रस्तावपत्र लिँदाकै बखत प्रष्ट हुनुपर्छ। आधार दरमा भएको परिवर्तनका कारण ब्याजदरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्नेबारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिएर प्रष्ट हुन राष्ट्र बैंकले आग्रह गरेको छ।