विदेशी मुद्राको सञ्चितिका स्रोतहरू विभिन्न हुन्छन्। देशअनुसार विदेशी मुद्रा प्राप्तिका स्रोत पनि फरक हुन्छन्। प्राविधिक रुपमा यसलाई मापण गर्ने लेखांकन गर्ने विश्वव्यापी मापदण्ड भने छ।
जस्तो नेपाल राष्ट्र बैंकले देशको भुक्तानी सन्तुलनको लेखा राख्छ। जसमा तीनवटा खाता हुन्छन्। चालु, पुँजी र वित्तीय। यस्ता खातामा नेपालबाट बाहिरिने र भित्रिने मुद्राको लेखांकन गरिन्छ। जुन नियमित प्रकाशित भइरहको हुन्छ।
मुलुकमा निश्चित मसयमा आयात निर्यात हुन्छ। नेपालीले विदेशमा गएर सेवा लिन्छन् भने विदेशीले नेपालमा आएर सेवा लिन्छन्। आयात निर्यात, सेवा आदान प्रदानमा मुद्राको कारोबार हुन्छ। वा भनौँ विनिमय हुन्छ।
नेपालबाट निर्यात भएर आउने पैसा नेपालको आम्दानी भयो यसरी आउँदा विदेशी मुद्रा भित्रिने भयो। त्यस्तै विदेशी पर्यटकले नेपालमा आएर गरेको खर्च पनि आम्दानी भयो। यसरी पनि विदेशी मुद्रा आउने भयो।
त्यस्तै आयात गर्दा नेपालबाट विदेशी मुद्रा जान्छ। नेपालीहरू विदेशमा घुम्न, पढ्न जाँदा पनि खर्च गर्छन् र मुद्रा बाहिरिन्छ। नेपालबाट मुद्रा बाहिरिने अरू स्रोत पनि हुन्छन् जस्तो विदेशबाट सरकार तथा निजी क्षेत्रले लिएको ऋणको ब्याज तिर्नुपर्छ। त्यसको ब्याज तिरिन्छ त्यो खर्च हो। सावाँ पनि भुक्तानी गर्नुपर्छ। त्यसरी पनि मुद्रा बाहिरिन्छ।
त्यसैगरी नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफाबाट लाभांश लिन्छन् त्यो पनि बाहिरिने भयो। यसरी लगानीबाट हुने आम्दानीमा भने नेपालले उल्लेखनीय काम गर्दैन। नेपालबाट विदेशमा लगानी गर्न नपाइने व्यवस्था छ। तर नेपाल राष्ट्र बैंकले विदेशी विनिमयको व्यवस्थापनका लागि विदेशमा लिएर गरेको लगानीबाट हुने ब्याज आम्दानी भने हुन्छ।
हाम्रो मुख्य विदेशी मुद्राको स्रोत भनेकै रेमिट्यान्स हो। केही रेमिट्यान्स नेपालबाट पनि जान्छ। यहाँ काम गर्ने बहुराष्ट्रियका कर्मचारीले लैजान्छन्। त्यसमा ठूलो हिस्सा आउँछ। गत वर्ष ९६२ अर्ब आएको थियो। अहिलेसम्म विदेशी मुद्राको स्रोत भनेको निर्यात, पर्यटन आम्दानी र विदेशमा भएको विदेशी विनिमयको लगानीको ब्याज हो। विदेशी लगानी र सरकार तथा निजी क्षेत्रले ल्याउने ऋणबाट मुद्रा प्राप्ति हुन्छ। बहुराष्ट्रिय कम्पनीहरूले ल्याउने ऋण पनि देशभित्र विदेशी मुद्राकै रुपमा आउँछ।
वर्षभरीमा स्रोतबाट कति आयो र जानेबाट कति गयो? यदि जानेभन्दा आउने बढी भयो भने देशमा विदेशी मुद्राको सञ्चिति बढ्छ। यसको ठीक उल्टो आउनेभन्दा जाने बढी भयो भने घट्दै जान्छ। पछिल्लो समय नेपालमा आउनेभन्दा जाने बढी भइरहेको छ। विनिमय सञ्चिति घट्दै आइरहेको छ।
विदेशी मुद्राको सञ्चिति ९ अर्ब ठीक हो कि १२ अर्ब ठीक हो कि त्यसको कुनै मापदण्ड छैन। त्यो कति ठीक हो त भन्दा हाम्रो सन्दर्भमा सात महिनाको वस्तु तथा सेवाको आयात धान्ने सञ्चिति हुनुपर्छ भनेका छौँ। सात महिनाको पुग्नुपर्छ। हाम्रो सन्दर्भमा पनि ६ महिनाभन्दा तल नझर्दासम्म ठीक हुन्छ। तर हामीले सुविधाजनक अवस्था भनेर सात महिना भनेका हौँ। यसको ठ्याक्कै यति र उति भन्ने होइन।
अवस्थामा पनि भर पर्छ। ६ महिना वा ५ महिनाको भए पुग्छ भनेर बस्यौँ भने हामी जोखिम क्षेत्रमा हुन्छौँ। किन हुन्छौँ भने हिजो आज तेलको मूल्य जसरी बढ्यो। आज गुडिरहेको गाडीलाई भोलि पनि गुडाउनुपर्छ। त्यो सबै गर्दा तेल त चाहिन्छ। गत वर्ष ४० प्रति ब्यारेल हुँदा पेट्रोलमा २ खर्ब खर्च गरेका थियौँ। अहिले १४५ पुग्यो त्यो खर्च कति जान्छ। यदि त्यही परिमाणमा तेल आयात गर्ने हो र गाडी कुदाइरहने हो भने र अर्को पाँच महिनासम्म रसिया-युक्रेन युद्ध चलिरह्यो भने हाम्रो सञ्चिति त त्यसैमा सकिन्छ। त्यसैले हामीले सुविधाजनक क्षेत्रमा बस्नका लागि सात महिनाका लगि चाहिन्छ भनेका छौँ।
अहिलेको अवस्था भनेको के हो त भन्दा, करिब साढे छ महिनालाई पुग्ने सञ्चिति छ। केन्द्रीय बैंकले विभिन्न आयातमा क्यास मार्जिनको व्यवस्था गरेको छ। थप व्यवस्था विदेश भ्रमणमा जानेलाई कडाइ गरेको छ। सुन आयातमा थप कडाइ भयो। सञ्चितिमा दबाब पर्दै गएपछिका यी व्यवस्थाले केही प्रभाव पारिरहेका छन्।
अझ अवस्था विग्रिँदै गयो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्यवृद्धि निरन्तर भयो भने हामीले कडा कदम चाल्नुपर्ने अवस्था पनि आउनसक्छ। त्यो कस्तो हुन्छ भनेर अध्ययन गरेर देखिने परिस्थितिले नै निर्धारण गर्छ। अहिले नै यस्तो भनेर अनुमान गर्न सकिने कुरा पनि होइन।
अहिलेको अवस्था आत्तिने भन्दा पनि सजग हुने बेला हो। जुन हिसाबबाट पेट्रोलियमको मूल्यवृद्धि भएको छ। त्यसले हामीलाई थप चिन्तित बनाएको छ। विदेशी विनिमय खर्च गर्न उदार हुने अवस्था छैन।
(नेपाल राष्ट्र बैंकका प्रवक्ता भट्टसँग गरिएको कुराकानीमा आधारित)