शनिबार, मंसिर ८ गते २०८१    
images
images

चैत मसान्तभित्रै मेलम्चीको पानी वितरण गर्न अधिकतम कोसिस हुनेछ : सुरेश आचार्य [अन्तर्वार्ता]

images
आइतबार, फागुन २२ २०७८
images
images
चैत मसान्तभित्रै मेलम्चीको पानी वितरण गर्न अधिकतम कोसिस हुनेछ : सुरेश आचार्य [अन्तर्वार्ता]
images
images

लामाे प्रतिक्षापछि गत वर्ष मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो। केही स्थानमा वितरणसमेत पनि भयो। दुई दशकको अथक प्रयासपछि काठमाडौं झारिएको पानीमा गत असार १ गते आएको बाढीले ब्रेक लाग्यो। संरचनामा क्षेति पुगेर अहिले बल्ल आयोजना मर्मतका लागि काम सुरु हुन लागेको छ। मेलम्चीको भविष्य के हुने? अब पानी काठमाडौंमा कहिले आउँछ? के मेलम्चीको डिजाइनमै समस्या हो? लगायत विषयमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यसँग बिजनेस न्युजका लागि केदार दाहालले गरेको कुराकानी :

images
images
images

काठमाडौंमा आउने मेलम्चीको पानी सपना जस्तै भएको थियो, गत वर्ष आइपुग्यो। तर विपत्तीले पानी आउन अवरुद्ध भयो। अब पानी कहिले आउँछ?

images

मेलम्चीमा गत असार १ गते आएको बाढीले समस्या आयो। मेलम्ची आयोजनाको अम्बाथान क्षेत्रामा तीनवटा मुख्य संरचना रहेको छ। हेड वक्स, टनेलमा पानी पठाउने संरचना र अडिट टनेल रहेको छ। बाढीले तीन वटै संरचनामा कम्तीमा पनि १२ मिटर माटो, ढुंगा र गेगरले पुरिएको छ। नदी जन्य पदार्थले पुरिएको अवस्था हो। सरकारको पुस ३० को निर्णयले मेलम्ची खाने पानीमा अस्थाई संरचना मार्फत चैतमसान्त भित्र काठमाडौंमा पानी ल्याउनका लागि आयोजनाले तयार पारेको कार्ययोजना पास गरेको छ। यसमा आयोजनाको मात्रै काम रहेको छैन। यहाँ नदीले सबै पुरिएको छ। सडक बनाउन पर्ने भएको छ।

images

ठूला ढुंगाहरू आएर बसेकोले ढुंगा फुटाउनका लागि नेपाली सेना आवश्यक पर्नेछ। यता सडक विभागले सडक बनाउनु पर्ने छ। आयोजनाको सबैभन्दा माथील्लो भाग भिमाथान भन्ने स्थानमा भिमकाय पहिरो आएर बसेको अवस्था रहेको छ। त्यो माथिल्लो क्षेत्रमा ढुंगा, माटो बालुवा थुप्रिएर टापु जस्तो बनेको छ। उक्त संरचनामा भविष्यमा के हुने त्यसको प्रभाव रहने कि नरहने? संरचना क्षेत्रमा भविश्यमा असर नपर्ने कामका लागि के गर्न सकिन्छ भनेर एसियाली विकास बैंक (एडीबी)ले आफ्नै परामर्श दातामार्फ अध्ययन गरिहरको छ। एडीबीले चैतसम्म उक्त अध्ययन सकाएपछि मात्रै आयोजनाको दीर्घकालिन भविष्यको बाटो तय हुने छ। अहिले काठमाडौंमा पानी ल्याउनका लागि सरकारले १ अर्ब ५१ करोड रुपैयाँ बजेट सुनिश्चत गरिसकेको छ। कति खर्च हुन्छ अहिले अनुमान गरिएको छैन। 

अम्बाथान क्षेत्रभन्दा तल मेलम्ची क्षेत्रसम्म के गर्ने भनेर कार्यायोजना अनुसार काम भइरहेको छ।

अहिले सेनाले बेलिब्रिज बनाउने, सडक खोल्ने लगायतको काम अगाडि बढ्ने छ। अम्बाथान क्षेत्रमा थुनिएको संरचना बनाउनका लागि सरसरफाइ र मर्मतको कार्यका लागि मेलम्ची खानेपानी आयोजनाले सिने हाइड्रोलाई कामको जिम्मा दिइएको छ। ठेकेदार कम्पनीलाई असारसम्म म्याद दिइएको छ। विगतमा इटालियन कम्पनीले आयोजना छाडेर हिडेपछि आयोजना निर्माणको जिम्मा सिने हाईड्रोलाई दिइएको थियो। अहिले सोही कम्पनीलाई अस्थाई संरचना मार्फत चैतमसान्तसम्म पानी काठमाडौं लेराउने र अन्य बाँकी काम असारमसान्तसम्म सकिने गरी कामको जिम्मा दिइएको छ। 

अस्थायी संरचनामार्फत पानी ल्याउन १ अर्ब ५१ करोड खर्च हुने हो?

सबै रकम खर्च हुने होइन। खाली बजेट सुनिश्चत मात्रै गरेको हो। कति खर्च लाग्छ भन्ने अनुमान नै भएको छैन। बल्ल संरचनामा पुग्नका लागि पुरिएको संरचना हटाउने काम सुरु भएको छ। विभिन्न निकायले गर्नुपर्ने काम रहेको छ। सिँचाई, सडक र सेनाले गर्ने कामका लागि बजेट सुनिश्चत मात्रै गरिएको हो। वर्षायाममा सडक बनाउने काम भएपनि नचल्ने भएकाले डाँडाबाट अर्को बाटो बनाउनु पर्नेछ। त्यसैले अहिले नै कति बजेट लाग्छ भन्ने अनुमान समेत गर्न सकिने अवस्था छैन। 

suresh2.jpeg

मेलम्चीमा विपत्तीले आयोजना ध्वस्त भयो, हाम्रो दोस्रो चरणमा लार्के र यांग्रीको पानी पनि ल्याउने योजना रहेको थियो। अब त्यो काम रोकिएको हो? 

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण पनि रहेको छ। अहिले कुरा गरिरहेको अहिले तयार भएको आयोजनाले काठमाडौंमा दैनिक १७ करोड लिटर मात्रै पानी दिने हो। तर काठमाडौंका एकतिहाइ जनसंख्यालाई पनि यति पानीले नपुग्ने अवस्था रहेको छ। केही समयअघी काठमाडौंमा ४३ करोड लिटर पानीको माग रहेको थियो। अहिले माग बढेर ४५ करोड लिटर भइसकेको छ। दुई खोला मिसाएर भविष्यमा ५१ करोड लिटर ल्याउने योजना रहेको छ। जसका लागि अध्ययन भएर प्रक्रिया समेत अगाडि बढाउने चरणमा नेपाल सरकार पुगिसकेको थियो। तर गत असार १ गतेको बाढीले संरचना नै बिग्रिएपछि सबैमा आयोजनाको भविष्यलाई लिएर चिन्ता उत्पन्न भएको छ। त्यसैले दोस्रो चरणको निर्माणमा समेत अन्योल उत्पन्न भएको छ। जुन स्वभाविक पनि हो।

अब एडीबीले अध्ययन गरिरहेको छ। दुई खोलका लागि भविष्यमा अब हेडवक्सले काम गर्दैन नयाँ संचरना चहिन्छ भन्ने प्रतिवेदन दिएको खन्डमा सरकारले सोच्नुपर्ने हुन्छ। तल ल्याएर हेडवक्स नयाँ बनाउने कुराले थप खर्च हुनेछ। त्यसैले अब हामीले अहिले एडीबीको अध्ययन कुरेका छौँ। कुनै पनि विकल्पले काम गरेन भने हामीले कुलेखानी र सिस्नेरी खोलाबाट पानी ल्याउने गरी विकल्प समेत खोजिरहेका छौँ।

मेलम्ची आयोजनाको दोस्रो चरणमा काम भएन भने सिस्नेरी वा कुलेखानी मध्ये एकबाट काठमाडौमा पानी ल्याउने प्रक्रिया सुरु हुन्छ। कुलेखानीको ड्यामका रहेको पानीलाई प्रोसेसिङ गरेर पानी ल्याउने र सिस्नेरी खोलाको विषयमा पनि अध्ययन भइरहेको छ। एडीबीको प्रतिवेदन आएपछि नयाँ प्रक्रियामा अगाडि बढ्ने छ। 

विपतले यति धेरै क्षति भयो कतै पहिले नै डिजाइनमै चुकेका त होइनौँ?

आयोजना निर्माणका लागि २०५४ मा डिजाइन भएको हो। तर उक्त समयमा जलवायु परिवर्तनका विषयमा यति धेरै बहसहरू हुने गरेका थिएनन्। कोहीलाई यसको असर कति हुन्छ भन्ने अनुमान थिएन। त्यसकै असर पनि अहिले देखिएको हुनसक्छ। त्यतिबेला विश्वव्यापी रुपमा पनि धेरै नआएकोले आयोजना सोही अनुसार गएको देखिन्छ।

यो आयोजना ल्याउनुपर्ने हेलम्बुको माथीबाट र नेपालमा सुरुङ मार्गबाट पानी ल्याउने आयोजना पनि नयाँ हो। सुरुङ बनाउने विषयमा नेपालको अनुभाव नै थिएन। विगतमा पनि स्थानीयहरूको अवरोध रहेको थियो। सबै कारणले आयोजना ढिलाई हुँदै गयो। यस्तो आयोजनाका लागि जनशक्तीको अभाव, खर्च, अनुभव लगायतका कारण पनि आयोजना ढिलाई भयो। तर पनि लामो समयको पखाईमै गत वर्ष पानी काठमाडौंमा आयो र वितरण पनि सुरु भएको थियो। 

के डिजाइनमै समस्या रहेछ भन्न सकिन्छ?

डिजाइन गर्दा जहाँ संरचना बन्यो, त्यो ठाउँ छनोटमा हामी चुकेकै हो। त्यो समयमा बाढी आउन सक्ने, भूकम्पको विषय लगायतका कुरा विस्तृत अध्ययन भएको देखिँदैन। कम्तीमा पनि १०० वर्ष अगाडीको हिमाली भेगको बाढीको विषयमा अध्ययन गर्नुपर्ने थियो। उक्त अध्ययन नभइकन डिजाइन भयो। सोही कारण ठाउँ छनोटमा समस्या भएको हुनसक्छ। तर पनि आयोजना त बनिसकेको छ। अब दीर्घकालमा कसरी आयोजनालाई अगाडि बढाउने भन्ने विषय चुनौतिपूर्ण भएकाले सो अध्ययनमा सबै पक्ष लागिरहेका छौँ। 

sures.jpeg

ठेकेदार कम्पनीले मुख्य संचरना नै नभेटेको भन्ने आइरहेको छ नि?

होइन नि। खासमा अडिट टनेल केही दिन सफाइ हुन्छ। सुरुङमा खासै क्षति भएको छैन। अब मुल सुरुङमा पुगेर करिब ५०/६० मिटर मात्रै सुरुङ भित्र माटो बलुवा र ढुंगा रहेको भनिएको छ। त्यसपछि हेडवक्सको सफाइ गरेपछि समस्या आउदैन। पानी ल्याउन सकिन्छ।

यति काम चैत मसान्तमै सम्भव होला?

हामीले कार्ययोजना बनाएर काम सुरु गरेपछि योजना अनुसार नै काम भइरहेका छन्। अबको १५ दिनमा पुरिएको संरचना निकाल्ने छौँ। यो महिनाभित्रै सुरुङ भित्र मान्छे पठाउने अवस्था आउने छ। तर कुरा के भने यदि सुरुङ भित्र गेट नै विग्रिएको छ, अन्य संरचनाहरू पनि विग्रिएका छन् भने समस्या हुन्छ। पानीको वहावलाई रोक्ने द्वारहरू रहेका छन्। यदि ढोकाहरू भत्किएका छन्, सबै कम्युटरवेस रहेको छ, डिभाइसहरूले हेर्न सक्ने अवस्था हुने हो कि होइनलगायत काम गर्न समय लाग्यो भने चैतमसान्त भित्र नसकिन सक्छ। यदि सकिएन भने पनि बैशाख १५ सम्म सकिन्छ भन्ने छ। 

अहिले मेलम्चीको पानी काठमाडौं ल्याइयो भने वितरण प्रणाली तयार भएको छ?

काठमाडौं खानेपनीले अहिलेसम्म पनि मेलम्चीको संरचना लिएको अवस्था छैन। मेलम्ची खानेपानी काठमाडौं आइसकेपछि वितरण गर्नका लागि प्रणाली तयार भएको छ। तर सबै निर्माण भइसकेको छैन। काठमाडौंमा ११ सय किलोमिटर पाइपलाइन विस्तार गरेको छ। यो पर्याप्त होइन। एक तिहाइलाई मात्रै ११ सय किलोमिटर पाइपलाइनले धान्ने छ। 

विगतमा ३८० किलोमिटरमा पानी पठाएर परिक्षण गरेको छ। अब अहिले पानी आयो भने ३८० किलोमिटर संरचनामा मात्रै पानी वितरण हुने छ। बाँकी पाइपलाइनमा परीक्षण हुन सकेको छैन। चैतमसान्त भित्र बाँकी पाइपलाइनमा परीक्षाण हुने छ। वर्षायाममा सुरुङ बन्द गर्नुपर्ने हुनसक्छ। त्यसैले ११ किलोमिटर पाइपलाइनमा पानी वितरणका लागि कम्तीमा अझै १ वर्ष लाग्ने छ। अब नयाँ पाइपलाइन विस्तारका लागि नाप्ने काम भइरहेको छ। चक्रपथ भित्र नै थप ६ सय किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्ने छ। चक्रपथ बाहिर पनि जाने योजना भएकाले मेलम्चीको दोस्रो चरणको काम भयो भने उपत्यकाका सबैलाई स्थानमा पानी पुर्‍याउन सकिन्छ भन्ने छ। 

एउटा आयोजना बनाउनका लागि दुई दशकभन्दा बढी समय लाग्यो। सुरुदेखि अहिलेसम्म कति खर्च भयो? 

मेलम्ची खानेपानी आयोजनामा अहिलेसम्म ४६ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। सुरुङमार्ग निर्माण र सुन्दरीजल प्रशोधन केन्द्र निर्माणमा मात्रै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ। पाइपलाइन विस्तार तथा अन्य कामका लागि अहिलेसम्म करिब १६ अर्ब रुपैयाँ उपआयोजनाले खर्च गरेको छ । जस  अन्तर्गत ११ सय किलोमिटर पाइपलाइन विस्तार भइसकेको छ। गुह्येश्वरीमा प्रशोधन केन्द्र निर्माण, ७ करोड ४५ लाख क्षमताका ९ वटा ट्यांकी निर्माण भएका छन्। मेलम्चीमा खर्च भएको रकम एडीबी, नेपाल सरकार र जापान सरकारको हो।

suresh1.jpeg

यति जोखिकाबीच आयोजना रहेको छ। त्यसको लागि पुनर्बीमा किन गर्न सकेनौँ? 

हो विगतमा यस्ता अभ्यासहरू नहुदाँ समस्या आएको हो। अब मेलम्ची खानेपानी आयोजनाको पुर्नबीमाका लागि एबीडीले नै चासो दिएको छ। यस्तो खालको क्षतीमा कसरी बीमा गर्न सकिन्छ भनेर बीमासंस्थान र बीमा समितिसँग पनि छलफल गरिरहेका छौँ। सम्भवत अब आयोजनाको पुर्नबीमा हुनेछ। गर्न सकियो भने क्षति हुँदा राज्यलाई सहज हुनेछ। 

मेलम्चीको पानी बागमतीमा पठाउने भन्ने थियो। अब त्यो सम्भव हुन्छ?

मेलम्चीको सबै पानी सुरुङमा मात्रै आउदैन बाहिर चुहिएर पनि बागमतीमै जाने हो। अर्को कुरा सुन्दरीजलबाट सिधै १० प्रतिशत पानी झर्छ। त्यसले गर्दा बागमतीमा पानी बग्ने छ। सिँचाइले पनि काम गरिरहेको छ। बागमतीमा पानी मेलम्ची आएपछि सुखायाममा पनि बग्ने छ।

बाढी आएपछि स्थानीयहरूले धेरै माग गरेको अवस्था छ, सम्बोधन भयो?

स्थानीयहरूको माग विगतमा पनि थिए। सम्बोधन गर्दै आयोजना यहाँसम्म ल्याइएको हो। अहिले बाढी आएपछि मुख्य माग भनेको बाढीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले बस्तीभन्दा माथी खोला भएको छ। स्थानीयहरूले घरभन्दा तल नदी लैजानु पर्छ भनेको अवस्था छ।

यो काम खानेपानी मन्त्रालयले मात्रै गर्न सक्ने अवस्था छैन। यसका लागि समन्वय भइरहेको छ। ठूलो परिमाणमा खोतलेर बस्तीभन्दा तल खोला लैजानुपर्ने भएकोले अहिले सम्बन्धित निकायमा छलफल भइरहेको छ। संघीय मामिला मन्त्रालयले यस विषयमा छलफल गरिरहेको छ।


प्रकाशित : आइतबार, फागुन २२ २०७८०५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend